Prakash Adhikari June 22, 2026

काठमाडौं, ८ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई कार्यक्रमस्थलबाट पक्राउ गरिएको घट्नाको विरोध गरेको छ ।

एमाले नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार अन्तरगत देशको अनुसन्धान र न्याय निरूपण सही सही ढंगले सञ्चालन नभएको बताउनुभएको छ ।

सोमबार एमाले नेता विष्णु पौडेल पक्राउ परेपछि त्यसतर्फ संकेत गर्दै ज्ञवालीले पहिले पक्राउ गर्ने र त्यसपछि मात्रै अनुसन्धान सुरु गर्ने गलत शृङ्खला वर्तमान सरकार बनेदेखि चलिआएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ज्ञवालीले कानुनी राज्यको स्थापित मान्यता विपरीत पूर्वाग्रह र प्रतिशोधका आधारमा राज्यका निकायहरूले निर्णय गर्न नहुने बताउनुभयो ।

‘राज्यका संवैधानिक र कानुनी अख्तियारप्राप्त निकायले चाहेको अनुसन्धानमा सहयोग गर्ने, आफूमाथि उठेका प्रश्नको कानुन सम्मत् सामना गर्ने र न्यायालयको फैसलालाई सहज ढङ्गले स्वीकार गर्ने नेकपा (एमाले)को स्थापित मान्यता हो,’ उहाँले लेख्नुभएको छ, ‘तर पहिले गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरू गर्ने शृङ्खला लामो समयदेखि चलिरहेको छ । राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन ।’

पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, अभियोजन पश्चात् अदालतको निर्णयका आधारमा अगाडि बढ्ने र अत्यावश्यक स्थितिमा मात्रै नियन्त्रणमा लिने विधि नै अनुसन्धान र न्याय निरूपणको स्थापित विधि हुनुपर्नेमा ज्ञवालीको जोड छ ।

नेता ज्ञवालीले हिजो रास्वपा महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दा सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनुभएको थियो। उहाँले सरकार गाडीजस्तै भएको बताउँदै ‘एक्सिलेटर’ मात्रै नहुने र बेला बेलामा ‘ब्रेक’ पनि लगाउन सुझाव दिनुभएको थियो । त्यसको जवाफमा प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकार एक्सप्रेस वे बाट हिडीरहेकोले गन्तव्यमा नपुगी नरोकिने बताउनुभएको थियो ।

प्रतिशोध प्रेरित पक्राउको महेशद्धारा विरोध

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी उपाध्यक्ष पौडेल पक्राउको कदमलाई राजनीतिक प्रतिशोधबाट प्रेरित भएको आरोप लगाउनुभएको छ ।

सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले गिरफ्तारी गर्नु उचित नभएको बताउनुभयो। उहाँले ‘कुखुरा मर्‍यो’ भन्दा पनि ‘स्याल पल्कियो’ भन्ने चेतका साथ यस्ता प्रवृत्तिको प्रतिवाद गर्न पार्टी नेतृत्व र कार्यकर्तासंग आग्रह गर्नुभएको छ ।

बस्नेतका अनुसार आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्ने भएकाले यस विषयलाई गम्भीर रूपमा लिन आवश्यक छ। उहाँले कानुनी राज्यमा कुनै पनि कारबाही अघि बढाउनुअघि तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “कानुनी राज्यमा पहिले तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्छ, त्यसपछि मात्र कानुनी कारबाहीको प्रक्रिया अघि बढ्नुपर्छ। तर फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनु उचित मान्न सकिँदैन।”

बस्नेतले एमालेका कार्यकर्ता तथा समर्थकहरूले पनि यस घटनालाई केवल एउटा व्यक्तिसँग सम्बन्धित विषयका रूपमा नभई लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडिएको विषयका रूपमा बुझ्नुपर्ने बताउनुभएको छ ।
सरकारले पूर्वअर्थमन्त्रीसमेत रहनुभएका एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानको आरोपमा सोमबार साँझ सुर्खेतबाट पक्राउ गरेको छ । उहाँलाई पार्टीको कार्यक्रममा सहभागी भइरहेका बेला नियन्त्रणमा लिइएको थियो ।

Share Now