काठमाडौं, ८ आषाढ ं । नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतबाट गिरफ्तार गरिएको घटनाको कडा विरोध गर्नुभएको छ । उहाँले यसलाई सरकारको ‘अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा’ भन्दै कडा विरोध गर्नुभएको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा पौडेलको गिरफ्तारीलाई गैरकानुनी, बदनियतपूर्ण र राजनीतिक प्रतिशोधबाट प्रेरित कदमका रूपमा चित्रित गरिएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका एमालेका अध्यक्ष ओलीद्धारा हस्ताक्षरित वक्तव्यमा साङ्गठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहनुभएका पौडेललाई सरकारले ‘अपहरणको शैलीमा’ गिरफ्तार गरेको दाबी गर्दै उक्त कदमको घोर निन्दा र भर्त्सना गरिएको छ ।
एमाले विधिको शासन, कानुनी राज्य र सुशासनप्रति आफ्नो प्रतिबद्ध रहेको उल्लेख गर्दै वक्तव्यमा वर्तमान सरकार र सत्तारुढ दलविपक्षी दलहरूमाथि अराजनीतिक र अलोकतान्त्रिक व्यवहार गरिरहेको आरोप लगाएको छ ।
वक्तव्यमा उपाध्यक्ष पौडेल कार्यक्रम सम्पन्न गरी भोलिपल्ट काठमाडौँ फर्कने पूर्वनिर्धारित कार्यतालिकामा रहनुभएको उल्लेख गर्दै सामान्य कानुनी प्रक्रियाअनुसार सोधपुछ वा अनुसन्धान गर्न सकिने अवस्था हुँदाहुँदै बदनाम गर्न गिरफ्तार गरिएको जनाइएको छ ।
सार्वजनिक पदमा रहिसक्नुभएका र कानुनको सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई ‘सस्तो राजनीतिक खपत’ का लागि लक्षित गरिएको एमालेको आरोप छ ।
एमालेले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको दाबी गर्दै विपक्षी दलका नेतामाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ । साथै, सरकारका स्वेच्छाचारी र लोकतन्त्रविरोधी क्रियाकलापविरुद्ध एकजुट हुन देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिलाई आह्वान गरेको छ ।
पार्टी अध्यक्ष ओलीलेवक्तव्यमा भन्नुभएको छ, ‘वर्तमान सत्तापक्षले विपक्षी दलहरूप्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम र हाम्रो पार्टी नेकपा (एमाले)माथि लगातार भइरहेको श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ ।’
पार्टीको ११ औं महाधिवेशनमा अध्यक्ष ओलीको दाहिने हातको रुपमा उपाध्यक्षमा उठेर विजयी बन्नुभएका उपाध्यक्ष पौडेल राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति अध्यक्ष ओलीको पक्षमा रहेको नदेखिएपछि पछिल्ला दिनहरुमा ओलीलाई विस्थापित गर्ने टिमको अग्रपंक्तिमा रहदै आउनुभएको छ ।
पछिल्लो समयमा व्यक्तिगत रुपमा अध्यक्ष ओली र उपाध्यक्ष पौडेलबीच दूरी बढेपनि ओलीले पौडेलमाथिा गरिएको व्यबहारलाई पार्टीमाथि गरिएको आक्रमणको रुपमा परिभाषित गर्दै उहाँको बचाउ गर्नुभएको छ ।








