Prakash Adhikari June 23, 2026
काठमाडौँ,  ९ असारः काठमाडौँ महानगरपालिकाले आजदेखि पहिलो पटक विद्यालयस्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता सञ्चालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल खोखो सङ्घले सामुदायिक विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगिता सम्बन्धी जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा  पहिलो पटक महानगरपालिकाव्यापी विद्यालयस्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता गर्न लागिएको जानकारी दिइयो । महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले, शिक्षा र खेलकुदका कार्यक्रमलाई समानान्तर तथा समान प्राथमिकताका साथ सञ्चालन गर्ने योजनाअनुरुप यो प्रतियोगिता गर्न लागिएको बताउनुभयो । प्रतियोगिताका लागि काठमाडौँ महानगरपालिकाले रु ३० लाख  प्रदान गर्नेछ । सङ्घले रु ६ लाख लागत व्यहोर्नेछ ।
सङ्घका अध्यक्ष दीपक महर्जनले, विद्यालयस्तरमा खोखो खेलको विकासमा यो प्रतियोगिताले अवसर प्रदान गर्ने धारणा राख्नुभयो । उहाँका अनुसार प्रतियोगितामा सामुदायिक विद्यालय तह कक्षा १० सम्म अध्ययनरत छात्रछात्रा दुवै समूहका खेलाडीले भाग लिनेछन् । खेल लिग कम नकआउटका आधारमा खेलाइनेछ । प्रतियोगिताको निर्णयका लागि ३० निर्णायक मण्डल रहनेछ ।
प्रतियोगितामा शान्ति निकुञ्ज मावि, महाँकाल मावि, भीमसेनगोला मावि, पद्मकन्या मावि, जनप्रभात मावि, सहिद शुक्र मावि, विश्वनिकेतन मावि, सर्वेश्वर आधारभूत विद्यालय, बाँसबारी मावि र कन्या मन्दिर माध्यमिक विद्यालयले भाग लिएका छन् । सङ्घका महासचिव शङ्कर महर्जनले, १२औँ र १३औँ दक्षिण एशियाली खोखो प्रतियोगितामा लगातार कास्य र रजत पदक दिलाएको बताउनुभयो ।
विसं २०२३ नोभेम्बरमा भारतको गुवाहाटीमा सम्पन्न चौथो एशियन खोखो च्याम्पियनसिप प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ नेपालले रजत पदक प्राप्त गरेको थियो । प्रतियोगिता कीर्तिपुर सञ्चालन हुनेछ । महिला र पुरुष छुट्टाछुट्टै समूहमा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टोलीले रु ५० हजारसहित मेडल र प्रमाणपत्र तथा दोस्रो र तेस्रो हुनेले क्रमशः रु २५ हजार र रु १० हजार प्राप्त गर्नेछन् ।
Share Now