न्यूयोर्क(संयुक्त राज्य अमेरिका),१२ असोज । प्रधानमन्त्री केपी ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क सक्रिय बनेको नेपालले देख्न चाहेको बताएका छन्।
मुलभूत रूपमा भारत र पाकिस्तानबीचको आपसी द्वन्द्वका कारण आठ देशहरूको सो क्षेत्रीय सहयोग संगठन केही वर्ष यता निष्क्रिय जस्तो देखिएका बेला प्रधानमन्त्री ओलीले राष्ट्रसघंको महासभा जस्तो अन्तर्राष्ट्रिय मञ्चबाट उक्त धारणा राखेका हुन्।
राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा स्थानीय समयअनुसार बिहीवार साँझ महासभालाई सम्बोधन गर्दै ओलीले सार्कलाई महत्त्वपूर्ण क्षेत्रीय संगठनका रूपमा नेपालले हेरेको बताए।
सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको बैठक पनि बिहीबारै आयोजना गरेका छन्।
बिम्स्टेक र सार्क
भारत-पाकिस्तान तिक्तताका कारण सन् २०१६ का लागि इस्लामावादमा हुने भनी निर्धारित सार्कको शिखर सम्मेलन अनिश्चितकालका लागि पर सरेको छ।
भारतले पछिल्ला वर्षहरूमा बढेको तनावपूर्ण सम्बन्धका कारण पाकिस्तानलाई थप एक्लो बनाउने हिसाबले सार्क भन्दा बढ्ता प्राथमिकता अन्य क्षेत्रीय अवधारणाहरूलाई दिएको भन्ने आरोप खेप्ने गरेको छ।
सन् २०१४ मा काठमाण्डूमा सार्क शिखर सम्मेलन गरेको नेपालले गएको अगष्टमा दक्षिण तथा दक्षिण पूर्वी एशियाका सात देश सम्मिलित बिम्स्टेकको शिखर बैठक समेत आयोजना गरिसकेको छ।
राष्ट्रसंघको महासभामा बोल्दा ओलीले बिम्स्टेकको पनि चर्चा गरे। उनले भने, “क्षेत्रीय सहकार्यलाई बढावा दिने हाम्रो विदेश नीतिको मर्म अनुसार हामीले हालै बिम्स्टेकको चौथौ शिखर बैठकको आयोजना गर्यौँ। हामी महत्त्वपूर्ण क्षेत्रीय संगठनका रूपमा सार्क पुन:सक्रिय भएको हेर्न चाहन्छौँ।”
अनिश्चय
तीन दशक भन्दा लामो इतिहास बोकेको सार्कको आगामी शिखर सम्मेलन आयोजना गर्ने जिम्मेवारी पाकिस्तानले पाएको छ भने नेपाल हाल उक्त संगठनको अध्यक्ष छ।
सन् २०१६ को नोभेम्बरमा सम्मेलन गर्ने भनेर मिति घोषणा गरिए पनि आफ्नो एउटा सैनिक ब्यारेकमा भएका हमलामा पाकिस्तानको हात रहेको आरोप लगाउँदै भारतले मिति तय भइसकेको सम्मेलन बहिष्कार गरेको थियो।
त्यसबेला अफगानिस्तान, बांग्लादेश र भूटानले पनि सार्क शिखर सम्मेलनमा जान नसक्ने बताए र त्यसयता सार्कको शिखर सम्मेलन अनिश्चित रहँदै आएको छ।
प्रधानमन्त्री ओलीले सत्ता सम्हाले लगत्तै पाकिस्तानका तत्कालीन प्रधानमन्त्री शाहिद खकान अब्बासीले नेपालको भ्रमण गरी सार्कलाई सक्रिय बनाउन सहयोग गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।
हालै भएको आम चुनावबाट इमरान खान पाकिस्तानको प्रधानमन्त्रीमा चुनिएपछि भारत र पाकिस्तानबीच सम्बन्ध सुधारका कदमहरू चालिने ठानिएको थियो।
खानले सम्बन्ध राम्रो बनाउन भारतले एउटा कदम अघि बढाए पाकिस्तानले दुई वटा कदम चाल्ने प्रतिक्रिया दिएका थिए।
प्रधानमन्त्री खानले राष्ट्रसंघको महासभाको अवसर छोपेर दुई देशका विदेशमन्त्रीले न्यूयोर्कमा भेटवार्ता गर्नुपर्ने प्रस्ताव औपचारिक रूपमा राखेका थिए।
शुरूमा भारतले उक्त प्रस्ताव स्वीकार पनि गर्यो तर भोलिपल्टै न्यूयोर्कमा विदेशमन्त्रीको तहमा हुने वार्ता रद्द गरिएको घोषणा दिल्लीले गरेको थियो।
मुख्यगरी आफ्ना सुरक्षाकर्मीको हत्यामा पाकिस्तान भित्रका समूह संलग्न भएको र कश्मिरी शहिद दिवस शीर्षक दिएर पाकिस्तानले जारी गरेका हुलाक टिकटहरूले ‘आतंकवाद र आतंकवादी गतिविधिलाई प्रवर्धन गरेको’ आरोप भारतको छ।
नेपालको प्रयास
उक्त घटनाक्रमपछि दुवै देश पुन: वाकयुद्धमा फर्किए जस्तो देखिएको समयमा न्यूयोर्कमा नेपालले भारत र पाकिस्तानका विदेशमन्त्रीहरूलाई एउटै मञ्चमा ल्याउने प्रयत्न भने गरेको छ।
सार्कको वर्तमान अध्यक्ष राष्ट्रको हैसियतले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आठवटै सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको बैठक आयोजना गरेका छन्।
अध्यक्ष राष्ट्रले महासभाको अवसर पारेर बर्सेनि आयोजना गर्दै आएको विदेशमन्त्री तहको त्यस्तो बैठकमा यसपटक ६ वटा देशका विदेशमन्त्री, भुटानका उपविदेशमन्त्री तथा माल्दिभ्सका स्थायी प्रतिनिधि सहभागी रहेको अधिकारीहरूले जानकारी दिएका छन्।
उक्त बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले क्षेत्रीय सहकार्यलाई बढावा दिन सार्कले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका थिए।
आरोप प्रत्यारोप
उक्त बैठकमा पाकिस्तानी विदेशमन्त्री शाह मेहमुद कुरेसीले सदस्य राष्ट्रहरू तयार हुने बित्तिकै जुनसुकै समयमा पनि शिखर सम्मेलन आयोजना गर्न आफ्नो देश तयार रहेको धारणा राखेको बैठकमा सहभागी एक जना अधिकारीले बताए।
भारतीय अनलाइन एशियन एज डट कमका अनुसार उक्त मन्त्रिस्तरीय बैठकको बीचैमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज बाहिरिएकी थिइन्।
सो अनलाइनका अनुसार बैठकमा पुरै सहभागी नभएकोमा स्वराजको आलोचना गर्दै पाकिस्तानी विदेशमन्त्रीले एउटा देशको कारण सार्कले व्यवधान खेपिरहेको बताएका थिए।
बैठकबाट बाहिरिनुअघि आफ्नो मन्तव्य राख्ने क्रममा दक्षिण एशियाको शान्ति र स्थायित्वमा आतंकवादबाट जोखिम रहेको भन्दै त्यो नरोकिएसम्म सार्कमा उच्चतहको आबद्धता प्रभावकारी नहुने धारणा राखेको एशियन एजले जनाएको छ।
जानकारहरू भन्छन्, राष्ट्रसंघको महासभाको मौका छोपेर नेपालले सार्कलाई सक्रिय बनाउने कूटनीतिक पहल गरेपनि भारत पाकिस्तानबीचको तनावले त्यसलाई ओझेलमा पारिदिएको जस्तो देखिन्छ।
बीबीसीबाट