प्रकाश अधिकारी
काठमाडौं,१५ असोज । नेपाल धितोपत्र बोर्डको आयोजनामा सोमबार बिहान भएको विश्व लगानीकर्ता सप्ताहको प्रभातफेरि कार्यक्रममा धितोपत्र बजारका सहभागीहरुको अपूर्व सहभागिता रह्यो तर बजार सहभागीहरुको त्यस्तो विश्वास हुँदा हुँदै पनि दिउसोको दोस्रो बजार कारोबार भने सकारात्मक रहन सकेन । दोहोरो अंकको गिरावट आयो । बजार अघिल्लो दिनको तुलनामा १८ अंकले तल ओर्लेर १२३८.६७ मा बस्यो । समूह परिसूचकमध्ये उत्पादन समूहबाहेक अरु उकालो लाग्न सकेनन् यद्यपि बाणिज्य समूह भने स्थिर रहन गयो । १६५ कम्पनीको कारोबार भएको बजारमा २२ कम्पनीको मात्र बजार मूल्य अघिल्लो दिनको तुलनमा बढ्यो ।बाँकीको घट्यो ।
किन घटिरहेको छ सेयर बजार
अर्थतन्त्रको व्यारोमिटर मानिने शेयर बजारमा कम्पनीहरुको शेयर मूल्यमा लगातार भएको ह्रासले मुलुकको अर्थतन्त्रले सही गति र दिशा लिन नसकेको संकेत गरिरहेको छ । आखिर किन घटिरहेको छ त शेयर बजार ?
१. सरकारको अर्थ नीति स्पष्ट छैन
नेपालको सेयर बजारमा सबैभन्दा ठूलो समस्या नै बामपन्थी दलको दुईतिहाई भन्दा बढी मतको सरकार भएको छ । नेपालको आर्थिक र राजनीतिक क्षेत्रको चासो राख्नेहरुको के अनुमान थियो भने राजनीतिक स्थायीत्व भयो भने आर्थिक विकास चाडो हुन्छ । तर नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि त्यो पनि झूटो सावित भएको छ ।
शेयर बजारको मामलामा त ओलीको पछिल्लो इनिड.ले पहिलेको छवि विगार्ने संकेत देखिएको छ । उहाँको पहिलो कार्यकालमा शेयर बजार १७ सय कटेकोले ओली आएमा झोली भरिने आशा देखेका लगानीकर्ताहरु अहिले कम्युनिष्ट पार्टीलाई भोट हालेकोमा पछुताई रहेका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर पनि राम्रोसंग सम्हालेको र योजना आयोगमा पनि सदस्यदेखि उपाध्यक्षसम्मका पदहरु विवादरहित ढंगले सम्हालेको कारण ठूलै रिस्क मोलेर अर्थमन्त्रीको जिम्मेवारी डा. युवराज खतिवडालाई दिनुभयो । तर शेयरबजारको बारेमा उहाँलाई के भ्रम परेको थियो,अर्थमन्त्रालयको बागडोर सम्हालेदेखि आजसम्म सेयर बजारका बारेमा सकारात्मक कुरा बोल्ने सदासयता अर्थमन्त्री डा. खतिवडाले देखाउनसक्नुभएको छैन । सेयरबजार अनुत्पादक क्षेत्र हो भन्ने उहाँको अभिव्यक्तिले बामपन्थी गठबन्धनले प्रदेश र प्रतिनिधिसभाको चुनाव जितेको दिनदेखि ओइलाएको सेयर बजारमा पुन रौनक आउन सकेको छैन।
आर्थिक विकासको लागि सरकारले ल्याउने सबैभन्दा ठूलो कार्यक्रम मानिने बार्षिक बजेटमा समेत अर्थमन्त्रीको विचार प्रतिविम्बित हुनेभएकोले बजेटबाट पनि कुनै सकारात्मक गति लिन सकेन सेयर बजारले ।
बजेटपछि आउने मौद्रिक नीतिले पनि शेयर बजारलाई गति दिन सकेन । यद्यपी धितोपत्र बजारको नियामक निकायकौ रुपमा रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष समेत रहिसक्नुभएका गभर्नर डा.चिरञ्जीवि नेपाल उदार, खुला र प्रतिस्पर्धात्मक अर्थब्यवस्था र पूँजी बजारप्रति असाध्यै उदार हुनुहुन्छ ।
वर्तमान कम्युनिष्ट सरकारको आर्थिक नीतिप्रति स्वदेशी निजी क्षेत्र विश्वस्त हुन सकेको छैन । कम्युनिष्ट सरकारले व्यक्तिगत रुपमा आर्जेको सम्पत्तिमा कुनै न कुनै रुपले दखल दिन्छ भन्ने मनोवैज्ञानिक त्रास नेपालको निजी क्षेत्रले पालेर बसेको छ । सरकारले ल्याएको बार्षिक नीति तथा कार्यक्रम र बजेटमा पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कुनै कार्यक्रम नभएको बरु निजी क्षेत्रको विकल्पमा सहकारी उभ्याउन खोजिएको देखिएकोले समस्त निजी क्षेत्र सरकार प्रति सशंकित र आफ्नो व्यवसायप्रति उदासिन छ । सरकारी संयन्त्र पनि अर्थमन्त्रीको मनमा रहेको धितोपत्र बजार अनुत्पादक हो भन्ने संशयलाई नै बल पुग्ने गरि प्रस्तुत भएर धितोपत्र बजारमा खोचे थापेर थप कर लगाएर लगाउन उद्दत देखिन्छ ।
सहकारी अभियानले निर्वाहमुखी अर्थतन्त्रमा केही गतिशीलता ल्याउन सक्छ तर सिंगो अर्थतन्त्रलाई चलायमान गराउन भने सक्दैन ।अर्थतन्त्रलाई गतिदिन ठूलो लगानीको आवश्यकता पर्दछ । त्यस्तो अनुकूल वातावरण सिर्जना नभइसम्म स्वदेशी लगानी बढ्दैन । स्वदेशी लगानी नै नभएको ठाँउमा विदेशी लगानी आउन सक्दैन् । गतवर्षको चुनावमा कम्युनिष्ट पार्टी विजयी बनेपछि नेपालको अर्थतन्त्रमा ठूलो लगानी गरिरहेको भारतीय मूलका व्यापारीहरुले धन सारेको चर्चामा सत्यता छैन भन्न मिल्दैन । भारतमा नोट बन्दी गरेपछि भारतीय रुपैया साटन नपाएर थलिएका व्यापारीहरुको व्यथा अलग्गै छ । तिनीहरु अझै उठ्न सकेका छैनन् ।
२. वैदेशिक सहयोगको भर छैन
अर्थतन्त्रलाई गतिदिने अर्को महत्वपूर्ण पक्ष भनेको विदेशी लगानी र सहयोग हो । यस्तो लगानी र सहयोग दुई अवस्थामा प्राप्त हुन्छ । कि त देशको आर्थिक सामाजिक अवस्था अत्यन्त राम्रोसंग जानु पर्यो । त्यस्तोमा गरिएको लगानी सुरक्षित हुने विश्वास लगानीकर्ता व्यक्ति,संस्था र राष्ट्रलाई हुन सकोस् । कि बर्षौको अनिश्चितता र द्धन्द्धपछि लोकतान्त्रिक सरकार बनेको र कानूनी राज कायम भएको अवस्था हुनुपर्यो ।
प्रजातन्त्रको लहर आएपछि धेरै देशमा यस्तो बैदेशिक सहायता बढेको छ । नेपालमा पनि सन ९० को दशकमा विदेशी सहयोग ओइरिनुको कारण लोकतन्त्रको आगमन र त्यसपछि आएको लोकतान्त्रिक पार्टीको सरकार नै थियो । जसले सम्पत्तिको आर्जन,भोग चलन र वेचविखनको स्वतन्त्रता सुनिश्चित गरेको थियो ।
तर संविधान कार्यान्वयनको लागि गतबर्ष भएको निर्वाचनमा नेपाली जनताले राजनीतिक स्थायीत्वको नाममा अप्ठेरो निर्णय गरिदिए, कम्युनिष्टहरुलाई दुईतिहाइ मत दिएकोले सरकार उनीहरुको बन्ने भयो । त्यो पनि लामो समयसम्म । कुनै पनि लोकतान्त्रिक मुलुकले उनका देशका जनताको करबाट उठेको रकम जनताको अधिकारमा खेलवाड गर्ने कम्युनिष्टहरुले नेतृत्व गरेको मुलुकमा अत्यन्त उत्साहित भएर दिदैन । कुटनीतिक सम्बन्ध कायम राख्न र सहयोगको निरन्तरताका लागि केही सहयोग भने आइरहन्छ । विकास विद्हरु के भन्छन भने अब बाँकी चारबर्ष पनि कम्युनिष्ट सरकार नै रहने हो भने विदेशी सहयोग आउदैन् । न ऋणमा पत्याउछन् न अनुदान सहयोगमा ।
प्रधानमन्त्री,मन्त्री र सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरुले विदेशी लगानीको लागि अनुकूल स्थिति छ भनेपनि विदेशीले समग्र अवस्था हेर्दा त्यो पाउने अवस्था छैन। एक त सत्तारुढ पार्टीसंग त्यस्ता व्यवसायीहरुको जमात छ, जसले विदेशी लगानी गर्नआएका लगानीकर्तालाई आफ्ना भातृसंगठन लगाएर ज्यानको धम्की दिएर लघारेर उनको सम्पत्ति हड्पेर नवधनाढ्य भएका छन् । लुटको सहज धनले उद्योगपति भएकाहरुसंग दिगो आर्थिक विकासको न कार्यक्रम छ, न त्यस्ता योजनामा लगानी गरेर सामान्य मुनाफाले अगाडी बढ्ने धैयर्ता नै छ ।
अर्को राज्ययन्त्रमा कम्युनिष्ट पार्टीको नराम्रो हस्तक्षेप र नियन्त्रण देखा परेको छ । स्वतन्त्र न्यायपालिकामाथिको निरन्तर प्रहारलाई विदेशी कुटनीतिक समुदायले निकै गम्भीर रुपमा लिएको देखिन्छ । अन्याय परेमा जाने ठाँउ नै नियन्त्रणमा राखेको हुनाले नेताहरुले जतिसुकै दावी गरेपनि विदेशी लगानीकर्ता आकर्षित हुने अवस्था छैन । त्यसैले विदेशी सहयोग ओइरिएर आर्थिक चमत्कार हुने आशा पनि बचेको छैन । त्यसमाथि लगानीकर्ता हैन, श्रमिकमुखी सामाजिक सुरक्षा ऐनहरु तर्जुमा गरिएकोले पनि स्वदेशी र विदेशी दुवै लगानीकर्ताको रुचि नेपाल हैन,नेपालबाहिर परेको छ , यो कुरालाई बामपन्थी सरकार,उसको प्रशासन र पार्टी संरचनाले बुझ्न जरुरी छ ।
३) अनलाईन कारोबार प्रणालीमा विलम्ब
प्राथमिक बजार देशव्यापी बनेकोले धितोपत्रको दोस्रो बजारलाई पनि विस्तार गर्न सकेमा धितोपत्र बजारमा अधिक माग सिर्जना भएर धितोपत्र अर्थात शेयर मूल्य उकालो लाग्ने अवस्था सिर्जना हुन जाने थियो । तर यसका लागि दोस्रो बजारको सञ्चालक रहेको नेपाल स्टक एक्सचेञ्ज मनोवैज्ञानिक रुपमा तयार हुन सकिरहेको छैन ।
धितोपत्रको दोस्रो बजारलाई अनलाईन टे«डिड.मा लैजाने भनेर झण्डै ५ बर्ष अगाडि थालिएको काम अझै पूरा भएको छैन् । अनलाईन टे«डिड.को भाका सरेको सर्यै छ ।
तात्कालीन महापबन्धक सिताराम थपलियाको पालामा यसका लागि सफ्टवेयर किन्ने टेण्डर प्रक्रियामा ठूलो घोटाला भएको आशंका गरिएको छ । नेपालको शेयर बजारमा गैरआवासीय नेपालीलाई पनि भित्र्याउने र नेपाल धितोपत्र बोर्ड, नेप्से र सिडिएससी अन्तराष्ट्रिय संस्थाहरुको सदस्यता लिएर सञ्जालमा आबद्ध भैसकेको अवस्थामा शेयर बजारलाई अन्तराष्ट्रिय स्तरमा लैजान सोही अनुकूलका सफ्टवेयरहरु जडान गर्न नियामक निकाय धितोपत्र बोर्डले नेप्सेलाई बारम्बार निर्देशन दिदै आएको छ । तर नेप्सेको तात्कालिन नेतृत्वले सुन्नेकान लगाएन । नेप्सेले चयन गरेको कम्पनी अन्तराष्ट्रिय स्तरको सफ्टवेयर बनाउन असक्षम रहेकोले उसले यो प्रणाली आरम्भ गर्न विलम्ब गरेको आरोप लाग्दै आएको छ ।
त्यसमा आशंका गर्नुपर्ने ठाँउ कहा छ भने अनलाईन कारोबार शुरु हुने भनेको डेढ बर्ष भयो । २०७४ सालको नयाँ बर्ष, असारमसान्त,मंसीर,माघ हुँदै २०७५ को नयाँ बर्ष,असार मसान्त हुँदै आधा असोज कटिसक्यो तर अनलाईन पद्धति आरम्भ हुने कुनै छाँटकाट छैन । मक ट्रेडिङ भनेर थालिएको परीक्षणमा धितोपत्र व्यवसायीहरुकै सहभागिता कम भएको समाचारहरु आइरहेका छन् ।
४) बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन विलम्ब
धितोपत्रको दोस्रो बजार देशव्यापी गर्ने कार्यमा अर्को विकल्पको रुपमा आएको थियो, बैंकहरुलाई ब्रोकरको लाइसेन्स दिने अवधारणा । प्राथमिक बजारमा आश्वा र सिआश्वा पद्धतिले देशभरका यस्ता सदस्यता लिएका वित्तिय संस्थाहरुबाट शेयरभर्ने सुविधा पाएजस्तै बैंकहरुले ब्रोकरको लाइसेन्स पाएमा देशभरका बैंक तथा वित्तिय संस्थाबाटै शेयरको किनबेच हुनपाउने र लगानीकर्ताले त्यस्ता वित्तीय संस्थाबाट आफूले बेचेको शेयरको भुक्तानी पाउने अवस्था सिर्जना हुन सक्दथ्यो । यस्तो भएको खण्डमा हाल मुख्य शहरी क्षेत्रका सीमित व्यत्तिहरुसंग रहेको शेयर देशभर विक्री हुँदा अधिक माग सिर्जना भएर मूल्य बढ्ने अवस्था आउथ्यो । तर यसतर्फ पनि सोचे अनुरुप काम हुन सकेको छैन् ।
५) ब्रोकरहरुको असहयोग
धितोपत्रको दोस्रो बजार विस्तार गर्न बैंकहरुलाई ब्रोकरको समेत काम गर्ने इजाजत दिने काममा ब्रोकरहरु नै तगारो बनेको पनि बताइन्छ । यसले उनीहरुको रोजी रोटीमा प्रश्न आउने उनीहरुको ठम्याई छ । र उनीहरु नेपालको शेयर बजार सानो भएको र यो काम जिम्मा लिदा बैंक तथा वित्तीय संस्थालाई नगन्य आम्दानी हुने अवस्था रहेको देखाउन प्रयासरत रहेको भन्ने बुझाई पनि कतिपयको छ । उनीहरुको संलग्नतामा बजार घटाइएको आरोप पनि लाग्ने गरेको छ ।
नेपालको धितोपत्र बजारको नियामक निकाय धितोपत्र बोर्डले ब्रोकर एजेन्सीहरुलाई आफ्नो स्तर बढाउन बैकल्पिक अधिकार पनि दिएको छ । हाल बैंकहरुले दिएको धितोपत्र कर्जा उनीहरुले दिन पाउने ब्यवस्था भएको छ तर उनीहरुले त्यो सेवा आरम्भ गर्र्न आँट देखाएका छैनन् ।
६) संस्थाहरुको चुक्ता पूँजी बृद्धिको असर
नेपालको शेयरबजार विगत लामोसमयदेखि ह्रासोन्मुख भएर ओरालो लाग्नुको अर्को कारण बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी अभिबृद्धि कार्यक्रम पनि दोषि रहेको छ । विगत चार बर्षयता सबै बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुको समेत चुक्ता पूँजी चार गुणा बढेको छ ।
यसरी चुक्ता पूँजी बढ्न जाँदा बजारमा विगतको तुलनामा तीन गुणा बढी शेयर थपिएका छन् । यसरी शेयर संख्याको बृद्धिले माग भन्दा आपूर्ति बढी हुन गएर मूल्य घटन गएको छ ।
७) सर्वसाधरणको भाग खोसेर संस्थापक पोस्ने काम
नेपालको धितोपत्र बजारमा सर्वसाधरण लगानीकर्ताको पेटमा लात्ती हानेर ठूला लगानीकर्ता र धनाढ्य संस्थापकहरुलाई पोस्ने काममा सरकार,संसदका केही टाढाबाढा र नीतिगत निर्णय गर्ने स्थानमा बसेकाहरुको चोचोमोचो मिलेको देखिन्छ ।
हाल कार्यान्वयनमा ल्याइएको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन(बाफिया) र केही अन्य ऐनहरु संशोधन गर्ने कार्यमा एकातिर विगतमा संस्थापकहरुको ७० प्रतिशत शेयर रहने प्रावधानलाई खुकुलो पारी ५१ प्रतिशतमा झारियो । यसरी ५१ प्रतिशतमा झार्दा १९ प्रतिशत शेयर सर्वसाधरणमा जारी हुनुपर्ने थियो । तर त्यसो नगरी संस्थापकको स्वामित्वमा नै रहने व्यवस्था गरियो । संस्थापक शेयरधनीलाई सर्वसाधरण शेयरको पनि मालिक बनाइयो ।जुन सर्वसाधरण शेयरको अधिकार हुन सक्दथ्यो ।
यसले शेयरबजारमा साधरण सेयरको संख्या बढाएर आपूर्ति बढाउने अवस्था सिर्जना गर्यो । एकातिर सस्तोमा पाउने संस्थापकका शेयर महंगो साधारण शेयरको भाउमा बजारमा विक्न पाउने भए र संस्थापकहरु रातारात धनी भए भने १९ प्रतिशत साधारण शेयर बजारमा थपिएकोले सर्वसाधारणसंग रहेको साधारण शेयरको मूल्य खप्नै नसक्ने गरि घट्न गयो ।
बजारमा शेयरको संख्या यति बढी भयो कि अब कम्पनीहरुले अघिल्लो बर्षको जति नै आम्दानी गरेपनि प्रतिशेयर आम्दानी बढ्न नसक्ने भयो । यसरी शेयर बजारमा शेयरको मूल्य बढ्ने संभावनाहरु संकुचित हुँदै गएका छन् । अब बजार विस्तारका लागि नेप्सको अनलाईन कारोबार र बैंकहरुलाई ब्रोकर लाईसेन्स नदिईकन धरै छैन ।
लगानीकर्ता तातै छन् ?
सरकारको कारण बजार सुस्ताए पनि शेयर बजारका लगानीकर्ताहरुमा आशा भने मरेको छैन् । नेपालको धितोपत्र र वस्तु विनिमय बजारको विकास र विस्तार गर्नुका साथै नियमन पनि गर्दै पूँजी बजारलाई तकसशक्त र गतिशील बनाउने उद्देश्यले स्थापित नेपाल धितोपत्र बोर्डल धितोपत्र बजारका नियमन निकायहरुको विश्व संगठन क्ष्इक्ऋइ को आह्वानमा असोज १५ गतेदेखि थालेको लगानीकर्ता सप्ताहमा धितोपत्र बजारका सहभागी र सर्वसाधरण लगानीकर्ताको अपूर्व सहभागिता देखिएको छ । यसलाई धितोपत्र बजारप्रति लगानीकर्ताको विश्वासको रुपमा लिइएको छ ।
असोज २१ गतेसम्म चल्ने लगानीकर्ता सप्ताहको पहिलो दिन नेपाल धितोपत्र बोर्डको अग्रसरतामा सोमबार बिहान राजधानीमा आयोजना गरिएको प्रभातफेरि कार्यक्रम कार्यक्रममा नेपाल धितापत्र बोर्ड र धितोपत्र बजारका सहभागीहरु नेपाल स्टक एक्सचेञ्ज, सीडीएससी, स्टक ब्रोकर, नेपाल मर्चेन्ट बैंकर, साख निर्धारण संस्थाहरु, आस्वा सदस्यता लिएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका सार्थ सर्वसाधरण लगानीकर्ताको सक्रिय सहभागिता रहेको थियो । बिहान भद्रकालीबाट बिहान ८ बजे काठमाडौंको भद्रकालीबाट बाजागाजासहित सहभागीसंस्थाहरुका ब्यानरमा आरम्भ भएको र्याली टुँडिखेल परिक्रमा गरी भृकुुटीमण्डपमा समापन भएको थियो ।
¥यालीको समापन समारोहमा नेपाल धितोपत्र बोर्डका कार्यकारी अध्यक्षले संबोधन गर्दै नेपालको धितोपत्र बजार आधुनिक युगमा प्रवेश गरेको र यसले विश्वस्तरीय संस्थाहरुको मान्यता पाइसकेकोले बजारको सुधार र स्तरीकरण सोही अनुरुप हुने बताउनुभयो । अन्तराष्ट्रिय लगानी सप्ताहमा देखिएको बजार सहभागीहरुको उत्साहजनक सहभागिताले यो क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जन ागर्न बोर्डलाई थप ऊर्जा मिलेकोे बताउनुभयो ।
समापन कार्यक्रम नेपाल स्टक एक्सचेञ्जका महाप्रबन्धक चन्द्रसिंह साउद, सिडिएससीका कार्यकारी निर्देशक देवप्रकाश गुप्ता, नेपाल मर्चेन्ट बैंकर्स एशोसिएसन, नेपाल धितोपत्र व्यवसायी संघ, साख निर्धारण संस्थाका प्रतिनिधि र लगानीकर्ता संघका अध्यक्षहरुले बोल्नुभएको थियो । उहाँहरुले नेपालको धितोपत्र बजारमा लगानीकर्ताको संख्या बढ्दै गएको ¥यालीमा भएको सहभागिताले पुष्टी गरेको बताउनु भयो । उहाँहरुले धितो पत्रको प्राथमिक बजार देशव्यापी विस्तार भएको सन्दर्भमा दोस्रो बजारको सुधारलाई पनि तीव्र गतिमा लैजानुपर्ने आवश्यकता औल्याउनुभयो । यस अन्तरगत पूर्ण अनलाईन सिस्टमको कार्यान्वयन छिटो गरिनु पर्ने र बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन पनि लगानीकर्ता संघका प्रतिनिधिहरुले माग गर्नुभयो ।
लगानीकर्तालाई बोर्डको भरोसा
बोर्डले लगानीकर्ताहरुलाई सचेत र जानकार बनाउने उद्देश्यले लगानीकर्ता सप्ताह मनाएकोे हो । यस कार्यक्रम अन्तरगत बोर्डले काठमाडौं र विराटनगरमा आफ्नै अग्रसरतामा र देशका प्रमुख शहरहरुमा बजार सहभागीहरुको सक्रियतामा विश्व लगानीकर्ता सप्ताह मनाउने प्रबन्ध मिलाएको छ । यस कार्यक्रम अन्तरगत १६ गते विराटनगरमा प्रथम प्रादेशिक पूँजी बजार प्रदर्शनी सम्बन्धी पत्रकार सम्मेलनको आयोजना गर्ने, असोज १७ गते वानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बोर्डको अत्याधुनिक वेभसाईट सार्वजनिक गर्ने,हालैका बर्षहरुमा धितोपत्र निष्कासन र कारोबार पद्धतिमा भएका सुधारहरुलाई समेटेर तयार पारेका विभिन्न प्रकाशनहरु सार्वजनिक गरी वितरण गर्ने, नेपाल स्टक एक्सचेञ्ज, सिडीएससी, साख निर्धारण संस्थाहरुको सहभागितामा धितोपत्र बजार र वस्तु विनिमय तथा डेरिभेटिभ्स बजारको सम्बन्धमा काठमाडौंउपत्यकामा रहेका सर्वसाधारण लगानीकर्ताहरुलाई सचेत गराउन बोर्डको सभाकक्ष जावलाखेलमा एक निशुल्क प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने,धितोपत्र तथा वस्तु विनिमय बजारका सहभागी र लगानीकर्ताहरुबीच साक्षात्कार कार्यक्रमको पनि आयोजना गर्ने, टेलिभिजनमा सामूहिक बहस कार्यक्रम सञ्चालन गर्ने, धितोपत्र तथा वस्तु विनिमय नामक पाक्षिक रेडियो कार्यक्रम प्रशारण गर्ने, प्रदेश नं १ को राजधानी विराटनगरमा असोज २० देखि २१ गतेसम्म प्रथम प्रादेशिक पूँजी बजार प्रदर्शनी आयोजना गर्ने र सीडीएससी लिमिटेडमार्फत हरेक नेपालीको एक डिम्याट खाता अभियान सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ ।
धितोपत्र बजारका नियमन निकायहरुको विश्व संगठन आयस्कोInternational Organization of Securities Commission, IOSCOले यस बर्षको लगानीकर्ता सप्ताहबाट एक सचेत लगानीकर्ताले लगानी गरिने संस्थाका व्यवसायीहरुले संबन्धित निकायबाट अनुमति लिएका छन भन्ने जाँचेको हुन्छ,लगानी गर्नुपूर्व त्यस्ता वस्तुको अनुसन्धान गरेको हुन्छ,लगानीको चयन गर्दा लाग्ने शुल्कको असर मूल्यांकन गरेको हुन्छ ,सबै लगानीमा जोखिम हुन्छ भन्ने बुझेको हुन्छ,छिट्टै धनी हुने तर केही नगुमाउने योजनाबाट मुक्त हुन्छ,चक्रवृत्ति ब्याजको शक्तिलाई कदर गर्दछ र विविधिकरणको महत्वलाई कदर गर्दछ भन्ने सन्देश दिन खोजेको छ ।