काठमाडौं, ३२ आषाढ । चालु आर्थिक बर्षको अन्तिम कारोबार उकालो लागेर बन्द भएको छ ।
असार मसान्तका दिन बिहीबार नेप्से परिसूचक ७.५० अंक बढेर २५९७.८० विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब १७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ७१ स्टकको ९४ लाख ६९ हजार कित्ता शेयर खरिदबिक्रीबाट ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँ बराबरको भएको छ।
यस दिन एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य सर्वाधिक १४.९६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे १४ प्रतिशतभन्दा बढी बढेको छ भने चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब साढे १४ प्रतिशत बढेको छ।
कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ८.७७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सिंगटी हाइड्रो इनर्जी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ७४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन २३ करोड रुपैयाँबराबरको ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे २२ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य घटेको छ।








