Prakash Adhikari July 19, 2026

न्युयोर्क(संयुक्त राज्य अमेरिका), ३ साउन (एजेन्सी)। संयुक्त राज्य अमेरिकाको न्युयोर्क निकट न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा आज मध्यरातमा स्पेन–अर्जेन्टिनाबीच विश्वकप फुटबलको फाइनल खेल हुँदैछ । खेलप्रेमी र खासगरी फुटबलप्रेमीहरुमा विश्व च्याम्पियन को बन्छ भन्ने चासो बढिरहेको छ छ।

फुटबलको इतिहासमा पहिलो पटक ४८ टोली सहभागी भएको विश्वकपको अन्तिम खेल केवल खेलकुदको उत्सव मात्र होइन, विश्वकै सबैभन्दा ठूलो ‘लाइभ इकोनोमिक इभेन्ट’ पनि बनेको छ। यसपटक टिकट बिक्री, होटल, हवाई यात्रा, विज्ञापन, जर्सी, कृत्रिम बुद्धिमत्ता (एआई), बैंकिङ, फास्टफुड, होम डेलिभरी, सट्टेबाजी, डिजिटल सामग्री र स्मारिका उद्योगले विश्वकप फाइनललाई आफ्नो सबैभन्दा ठूलो व्यापारिक अवसर बनाएका छन्।

फिफाको आम्दानी

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसपटकको विश्वकपबाट फिफाको कुल आम्दानी १५ अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ, जुन फिफाले सुरुमा अनुमान गरेको करिब ११ अर्ब डलरभन्दा धेरै हो । आम्दानी बढ्नुको मुख्य कारण टिकट बिक्री, आतिथ्य (हस्पिटालिटी), प्रायोजन र आधिकारिक पुनःबिक्री बजारबाट आएको कमिसन हो ।

कीर्तिमानी पुरस्कार राशी

यस वर्षको विश्वकपमा फिफाले कुल ६५५ मिलियन अमेरिकी डलर बराबरको कीर्तिमानी पुरस्कार राशी वितरण गरेको छ, जुन सन् २०२२ को कतार विश्वकपको तुलनामा ५० प्रतिशतले बढी हो।

विजेता र उपविजेताको कमाई

विश्वकप जित्ने टोलीले ५० मिलियन डलर पुरस्कार पाउँछ । यसमा तयारी खर्च बापतको २.५ मिलियन डलर जोड्दा विजेताले कुल ५२.५ मिलियन डलर प्राप्त गर्छन्।

फाइनलमा पराजित हुने टोलीले पुरस्कार स्वरूप ३३ मिलियन डलर र थप २.५ मिलियन डलर तयारी खर्च गरी कुल ३५.५ मिलियन डलर प्राप्त गर्छ। यो रकम सीधै खेलाडीको हातमा जाँदैन, बरु सम्बन्धित राष्ट्रको फुटबल संघलाई प्रदान गरिन्छ, जसले पछि खेलाडी, प्रशिक्षक र कर्मचारीबीच भागबण्डा गर्छ ।

आयोजक राष्ट्रका अर्थतन्त्रमा प्रभाव

विश्वकप आयोजना गर्नु आयोजक राष्ट्रका लागि गौरवको विषय भए पनि यसको आर्थिक पाटो निकै जटिल हुन्छ।

सन् २०२६ को विश्वकपले आयोजकहरु अमेरिका, क्यानडा, मेक्सिकोको अर्थतन्त्रमा करिब ४०.९ बिलियन डलर बराबरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा योगदान पुर्याउने अनुमान गरिएको छ। अध्ययनहरूका अनुसार विश्वकप जित्ने देशको अर्थतन्त्रमा जीतपछिको दुई त्रैमासिक अवधिमा ०.४८ प्रतिशतले वृद्धि हुने प्रवृत्ति देखिएको छ। अर्थशास्त्रीहरूका अनुसार विश्वकपले आयोजक राष्ट्रलाई साइकि इन्कम दिन्छ, जसको अर्थ प्रतियोगिताको समयमा देखिने राष्ट्रिय गौरव, उत्साह र सामुदायिक भावना हो, जसलाई पैसामा मात्र मापन गर्न सकिँदैन।

८ लाख २४ हजार रोजगारी

यो प्रतियोगिताले विश्वभर करिब ८ लाख २४ हजार रोजगारी सिर्जना गरेको दावी गरिएको छ । जसले होटल, एयरलाइन्स र पर्यटन व्यवसायमा उछाल ल्याइरहेको छ ।

टिकटमा रेकर्ड कारोबार

यस विश्वकपको सबैभन्दा ठूलो आर्थिक बहस टिकटको मूल्यले जन्माएको छ। पहिलो पटक फिफाले डाइनामिक प्राइसिङ लागू गर्यो। यसको अर्थ, हवाई टिकट वा होटलको कोठाजस्तै माग बढ्दै जाँदा टिकटको मूल्य पनि स्वतः बढ्ने व्यवस्था ।

यसका कारण समूह चरणका केही खेलका टिकट पनि अपेक्षाभन्दा धेरै महँगा भए। फाइनलसम्म आइपुग्दा अवस्था झन् रोचक बन्यो। पछाडिको सामान्य सिट पनि ६ हजार ४ सय डलरभन्दा माथिबाट सुरु भयो। माथिल्लो तहका धेरै सिट १० हजार डलर नजिक पुगे भने तल्लो तहका सिट १६ हजारदेखि ३५ हजार डलरसम्म पुगे। केही प्रिमियम आतिथ्य प्याकेजको मूल्य ६० हजार डलरसम्म पुगेको छ।

नेपाली रुपैयाँमा हेर्दा यसको अर्थ एउटै टिकटका लागि करिब ८० लाख रुपैयाँभन्दा बढी तिर्ने समर्थक पनि भेटिएका छन् । यसपटक विश्वकपमा टिकटसंग सम्वन्धित अर्को नयाँ व्यापार पनि फस्टाएको छ।

धेरै समर्थकले टिकट खेल हेर्नका लागि होइन, पछि महँगोमा बेच्नका लागि किने। फिफाले आफ्नै आधिकारिक पुनःबिक्री प्रणाली सञ्चालन गर्यो, जहाँ खरिदकर्ता र विक्रेता दुवैबाट कमिसन लिइन्छ। यसले टिकटलाई उपभोग्य वस्तुबाट व्यापारिक सम्पत्तिमा रूपान्तरण गरेको भन्दै खेल अर्थशास्त्रीहरूले टिप्पणी गरेका छन् ।

ठूलो व्यापारः हवाई यात्रा

अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि ब्युनस आयर्सका ट्राभल एजेन्सीहरूमा फोनको वर्षा भयो।फाइनलमा पुग्ने निश्चित भएपछि अमेरिका जाने हवाई टिकट केही घण्टामै सकिन थाले। चार्टर्ड उडान थपिए, तर माग घटेन। धेरै समर्थकले सामान्यभन्दा कैयौं गुणा महँगो टिकट किनेर पनि यात्रा गरे। यसले एउटा रोचक तथ्य देखायो,धेरै समर्थकले खेलको टिकटभन्दा हवाई यात्रामा बढी खर्च गरे।

होटल उद्योगको ‘विश्वकप बोनस’

फाइनल हुने न्युयोर्क–न्युजर्सी क्षेत्रमा होटलका कोठा हप्तौँअघि नै भरिन थालेका थिए । पाँचतारे होटल मात्र होइन, होमस्टे, निजी अपार्टमेन्ट र छोटो अवधिका भाडाका घरको माग पनि अत्यधिक बढ्यो । होटल विश्लेषकहरूका अनुसार विश्वकप फाइनलका कारण केही क्षेत्रका कोठा भाडा सामान्यभन्दा दोब्बरसम्म पुगे । यद्यपि केही अर्थशास्त्रीहरूले नियमित पर्यटक घटेकाले समग्र प्रभाव मिश्रित रहेको बताएका छन्।

रेल कम्पनीले निम्त्याएको विवाद

विश्वकप फाइनलसँग जोडिएको अर्को रोचक आर्थिक विवाद रेल टिकटको थियो। न्युजर्सी ट्रान्जिटले सुरुमा फाइनलका लागि विशेष रेल टिकटको मूल्य अत्यधिक राखेपछि आलोचना भयो। पछि प्रायोजन र अन्य आर्थिक व्यवस्थापनका कारण टिकट दर घटाइयो। यस घटनाले विश्वकपमा सार्वजनिक यातायात पनि ठूलो आर्थिक बहस बन्न सक्ने देखायो। स्टेडियमसम्म पुग्ने विशेष रेल सेवाको टिकट सुरुमा निकै महँगो बनाइएपछि आलोचना भयो। त्यसपछि प्रायोजन र अन्य स्रोतबाट सहयोग जुटाएर टिकट मूल्य घटाइयो। यसले विश्वकपजस्तो खेलमा सार्वजनिक यातायातसमेत ठूलो आर्थिक बहस बन्न सक्ने देखायो।

घरमै विश्वकप र बढ्दो खर्च

सबै समर्थक अमेरिका पुग्न सकेनन् । भारत, अर्जेन्टिना, स्पेन, बेलायत, नेपाललगायत धेरै देशमा हजारौं परिवारले आफ्नै घरलाई ‘मिनी स्टेडियम’ बनाए।

ठूला टेलिभिजन, प्रोजेक्टर, स्न्याक्स, पिज्जा, बियर, शीतल पेय, झण्डा र जर्सी किन्ने क्रम बढ्यो । यसले सुपरमार्केट, ई–कमर्स र होम डेलिभरी कम्पनीलाई अप्रत्याशित व्यापार दियो ।

पिज्जा कम्पनीको विश्वकप रात्री

खेल सुरु हुनुअघि नै धेरै पिज्जा चेनहरूले अतिरिक्त कर्मचारी खटाएका छन्।
कतिपय कम्पनीले फाइनल रातका लागि छुट्टै विश्वकप कम्बोल्याएका छन्। खेल हेर्दै खाना खाने संस्कृतिका कारण फाइनल रात वर्षकै सबैभन्दा व्यस्त रातमध्ये एक मानिन्छ।

बियर उद्योगको ‘गोल्डेन आवर’

युरोप र दक्षिण अमेरिकामा फाइनलको दिन बियर बिक्री उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ। बियर कम्पनीहरूले विश्वकप सुरु हुनुअघि नै अतिरिक्त उत्पादन गरेका थिए। पब र बारहरूमा विशेष स्क्रिनिङ कार्यक्रम सञ्चालन भएका छन् भने घरमै खेल हेर्ने परिवारले पनि ठूलो परिमाणमा पेय पदार्थ खरिद गरेका छन्।

मेसी र यामलले चलाएको करोडौं डलरको बजार

फाइनल केवल स्पेन र अर्जेन्टिनाबीचको खेल मात्र होइन। यो सम्भावित रूपमा लियोनेल मेसीको अन्तिम विश्वकप फाइनल र लामिन यामालको पहिलो विश्वकप फाइनल पनि हो। यही कथाले जर्सी, पोस्टर, हस्ताक्षरित बल, स्मारिका र सीमित संस्करणका सामग्रीको माग अत्यधिक बढाएको छ। सङ्कलकहरूले अहिले नै केही सामग्रीलाई भविष्यको लगानीका रूपमा खरिद गरिरहेका छन्।

पार्किङ पनि लक्जरी सेवा

मेटलाइफ स्टेडियम वरपरका निजी पार्किङ स्थलहरूले फाइनलका दिन विशेष दर लागू गरेका छन्। धेरै समर्थकले पार्किङ खर्च मात्रै सयौँ डलर तिरे। त्यसैले केही परिवारले पार्किङभन्दा रेल वा साझा सवारी (राइड–सेयर) रोजे।

स्मारिका उद्योग

यदि यो लियोनेल मेसीको अन्तिम विश्वकप फाइनल हो भने त्यसको आर्थिक प्रभाव असाधारण छ।

मेसी र लामिन यामालका जर्सी, हस्ताक्षरित बल, पोस्टर, सीमित संस्करणका स्मारिका र सङ्कलनयोग्य सामग्रीको माग अत्यधिक बढेको छ। सङ्कलकहरूले यस्ता वस्तुलाई भविष्यको लगानीका रूपमा हेर्न थालेका छन्।

एआई कम्पनीको पनि विश्वकप

यसपटक विश्वकप केवल खेलाडीको प्रदर्शन मात्र होइन, प्रविधिको प्रदर्शन पनि बन्यो। स्मार्ट बल, स्वचालित अफसाइड प्रणाली, खेलाडी ट्र्याकिङ, एआई भिडियो, वास्तविक समयको तथ्याङ्क, बहुभाषिक सामग्री निर्माण र डिजिटल फ्यान अनुभवले नयाँ बजार सिर्जना गरेका छन्। खेल प्रविधि कम्पनीहरूले विश्वकपलाई आफ्नो सबैभन्दा ठूलो प्रदर्शनी मानेका छन्।

सामाजिक सञ्जालमा विज्ञापन युद्ध

फाइनलका बेला लाखौँ मानिस एउटै समयमा मोबाइलमा हुन्छन्। त्यसैले विश्वका ठूला ब्रान्डले गोल भएलगत्तै सार्वजनिक हुने विज्ञापन,मीम, छोटा भिडियो र विशेष अफर पहिले नै तयार राखेका छन्। खेल सकिनुअघि नै करोडौँ डलर बराबरको डिजिटल विज्ञापन खर्च भइसकेको हुन्छ।

सट्टेबाजीको चरम कारोबार

विश्वकप फाइनल खेल सट्टेबाजी उद्योगको सबैभन्दा ठूलो दिनमध्ये एक हो। कानुनी बजारमा जित–हार मात्र होइन, पहिलो गोलकर्ता, कति कर्नर, अतिरिक्त समय, पेनाल्टी, पहेंलो कार्डजस्ता सयौँ विकल्पमा रकम लगानी गरिन्छ। उद्योग विश्लेषकहरूले फाइनलका अवसरमा विश्वव्यापी रूपमा दशौँ अर्ब डलर बराबरको बाजी लाग्ने अनुमान गरेका छन्।

स्थानीय साना व्यवसायको ‘दशैं’

स्टेडियमबाहिर झण्डा बेच्ने, अनुहारमा राष्ट्रिय झण्डा रंग्याउने कलाकार, स्मारिका विक्रेता, सडक खाना बेच्ने व्यवसायी, मोबाइल चार्जिङ सेवा दिने र फोटो खिच्ने फोटोग्राफरसम्मका लागि फाइनल वर्षकै सबैभन्दा धेरै आम्दानी हुने दिन बन्न लागेको समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।

Share Now