काठमाडौ., २२ असोज । आगामी कात्तिक ९ गतेदेखि पोखरा रंगशालामा आयोजना हुने पोखरा प्रिमियर लिगलाई आईसीसीले अनुमति दिएको छ ।
नेपाल क्रिकेट संघ क्यान निलम्बनमा रहेकोलेनेपाली क्रिकेटको नियमन आईसीसीले गर्दै आएको छ । यसकारण पोखरा प्रिमियर लिगजस्ता घरेलु प्रतियोगिताका लागि आईसीसीको अनुमति आवश्यक परेको हो ।
पोखरा प्रिमियर लिगका आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले सोमबार आईसीसीको अनुमतिपत्र आएको जानकारी दिनुभएको छ ।
त्यसबापत आयोजकले २० हजार अमेरिकी डलर तिर्नुपर्नेछ । उक्त रकम नेपाली क्रिकेटको विकासका लागि खर्च हुनेछ ।
पोखरा प्रिमियर लिग क्रिकेट आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ ।
त्यसका लागि सहभागी ६ टोलीको घोषणा भइसकेको छ भने खेलाडीको अक्सन पनि सम्पन्न भइसकेको छ ।
पोखरा रंगशालाको स्तरोन्नतिको काम पनि अन्तिम चरणमा पुगेको आयोजक संस्थाका प्रवन्ध निर्देशक लामाले जानकारी दिनुभएको छ ।
भारतीय क्युरेटरको समन्वयमा पीच निर्माण कार्य भइरहेको तथा अन्तर्राष्ट्रियस्तरको आउटफिल्ड बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ ।
सुन्दर नगरी पोखरामा क्रिकेट खेल आयोजना गरेर खेल पर्यटनलाई पनि पोखराको नयाँ प्रडक्टको रुपमा विकसित गर्ने उद्देश्य आयोजकहरुले लिएका छन् ।
भविश्यमा सुविधासम्पन्न रंगशालासहित न्युट्रल भेन्यूको रुपमा बिकास गर्ने उद्देश्यले पोखरा प्रिमियर लिगको आयोजना गरिएको लामाले बताउनुभयो ।