बंगलोर (भारत),२२ असोज(बीबीसी) । भारतका एक बसचालकले बाँदरलाई बस चलाउन दिएपछि आफ्नो जागिर गुमाएका छन्।
तर अचम्म त के भने बाँदरलाई बस चलाउन दिएकोप्रति दक्षिण भारतीय राज्य कर्णाटकको उक्त बसमा सवार ३० मध्ये कसैले पनि गुनासो गरेका थिएनन्।
उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त चालकलाई उनलाई रोजगारी दिने कम्पनीले कारबाही गर्यो।
सो कम्पनीका प्रवक्ताले भने, “बाँदरलाई चलाउन दिएर यात्रुहरूको सुरक्षामा कुनै खतरा पुर्याउन पाइँदैन।”
तर इन्टर्नेट प्रयोगकर्ताहरूमध्ये कतिपयलाई भने सो निर्णय अप्रिय लागेको छ।
लङ्गुर बाँदरलाई बस चलाउन दिएकोप्रति टिप्पणी गर्दै एक पराग हेदाले ट्वीटमा भनेका छन्, “किन जागिरबाट निलम्बन गर्नु? बरु आइन्दा त्यसो नगर भनेर छाडेको भए हुन्थ्यो।”
घटना विवरण
राज्य सरकारको यातायात निकायका अनुसार सो घटना सोमवार भएको हो।
प्रत्यक्षदर्शीहरूका अनुसार सो बाँदर अन्य एक यात्रुसँगै बस चढेको थियो र उसले चालककै सिटमा बस्न रुचायो।
एम प्रकाश नाम गरेका ती चालक बाँदरले स्टेरिङ ह्वील समाउँदा आत्तिएनन्।
तर बस आफ्नै नियन्त्रणमा राख्न उनले आफ्नो एक हात भने स्टेरिङ ह्वीलमा राखिरहेका थिए।
विवरणहरूका अनुसार अन्तत: उक्त बाँदर आफ्नो गन्तव्यमा पुगेपछि ओर्लियो र बाँकी यात्रा उनै चालकको जिम्मा छाडिदियो।