Prakash Adhikari August 25, 2026

काठमाडौं, ९ भाद्र। राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आजदेखि नेपालमा उपलब्ध नयाँ मोडेलका विभिन्न कम्पनीका गाडीहरुको प्रदर्शनी ‘नाडा अटो शो २०२६’ सुरु हुँदैछ ।

आयोजक नेपाल अटोमोबाइल्स डिलर एशोसियसन(नाडा)ले प्रदर्शनीमा दुई पांग्रे, चार पांग्रे हलुका, यात्रुबाहक र कमर्सियल गाडीहरु प्रदर्शनी हुने जनाएको छ । प्रदर्शनीमा गाडीहरुको साथमा गाडीहरुको  पार्टपूर्जा र सवारी साधन किन्न वित्तीय कर्जा सहयोग दिने बैंक तथा वित्त संस्थाहरुको पनि सहभागिता रहने जानकारी आयोजकहरुले दिएका छन् ।

अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गर्न लागेको १८ औं संस्करणको अटो शोमा आफ्ना ब्राण्ड शोकेस गर्न व्यवसायीबीच होड देखिएको छ। बडा दशैं, तिहार र छठजस्ता नेपालीहरुका राष्ट्रिय चाडपर्वको अगाडि पर्ने भएकोले नाडाको प्रदर्शनीमा गाडी किन्न इच्छुक सर्वसाधारण र नयाँ मोडलका गाडी खरिद गर्न इच्छुक गाडीका सौखिन तथा पारखीहरुको भिड लाग्ने गरेको छ ।

यसपटकको अटो शोले नेपालको अटोमोबाइल बजारमा भइरहेको विकास र विस्तारलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीका संयोजक अनुपकुमार बरालले बताउनुभयो। उहाँका अनुसार प्रदर्शनीमा सहभागी कम्पनीहरूले स्टल सजावटदेखि उत्पादन प्रदर्शनसम्मका तयारीमा उल्लेख्य मेहनत गरेका छन्।

“कम्पनीहरूले निकै मेहनतका साथ स्टल सजाउने लगायतका तयारी गरेका छन्। यसले बजार विस्तार भइरहेको र अटो शो लाई आफ्नो ब्रान्डिङ तथा बजार प्रवर्धनको महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्न खोजेको स्पष्ट हुन्छ”, उहाँले भन्नुभएको छ।

बरालका अनुसार अटो शो नेपाली उपभोक्ताका लागि पछिल्लो समय अटोमोबाइल क्षेत्रमा भइरहेको विकास, नयाँ प्रविधिको विस्तार र बदलिंदो बजारलाई प्रत्यक्ष रूपमा बुझ्ने अवसरसमेत बन्नेछ। प्रदर्शनीमार्फत उपभोक्ताले बजारमा भित्रिएका नयाँ प्रविधि, उत्पादन र सेवाबारे जानकारी लिन सक्नेछन्।

प्रदर्शनीमा चारपाङ्ग्रे तथा दुईपा‌ङ्ग्रे सवारीसाधनसँगै टायर, ब्याट्री, चार्जिङ, स्पेयर पार्ट्स तथा अटोमोबाइल प्रविधिसँग सम्बन्धित कम्पनीहरुको समेत व्यापक सहभागिता हुँदैछ।

नाडा अटो शोमा १ सय २३ सवारी ब्रान्डका स्टल छन् भने मेड इन नेपाल यात्रीदेखि अटोको पनि उपस्थिति छ । नाडाका अनुसार प्यासेन्जर गाडीका २३, कमर्सियल गाडीका १७, दुई पाङ्ग्रेका १३ र स्पेयर पार्टसका ७० वटा स्टल रहने छन् ।

यसबाहेक बैंक, वित्तीय संस्था र बीमा कम्पनी तथा अन्य गरी २०० वटा स्टल हुने नाडाले जनाएको छ। अटोमोबाइल क्षेत्रका विभिन्न विधालाई एउटै छानामुनि समेटेर नाडा अटो शो हुदैछ।

प्रदर्शनीमा चारपाङ्ग्रे सवारीसाधनतर्फ आयोन, एभलर, बीएडब्लू नेपाल, बीवाइडी, चांगन, चेरी, डीपल, डीएफएसके, डोङफेङ, एकाटा मोटर्स, फारिजोन, फेड़दी, फोटोन, जीली, जीडब्ल्यूएम, हिरो, हाइगर, आईकार, जेटोर, जीनवेई, जेएमड़भी, कामा, कवानई अटो, लिपमोटर, एमजी, मेटा ईभी, एमहिरो, नाम्मी, नेभो, प्रोटोन, रिडारा, स्कोडा, स्काइवेल, स्काइवर्थ, सोकोन, सुजुकी, टाटा इभी, टाटा मोटर्स कमर्सियल भेहिकल्सलगायत ब्रान्ड सहभागी हुँदैछन् ।

दुईपा‌ङ्ग्रे सवारीतर्फ रोयल इन्फिल्ड, यामाहा, एम्पियर, अप्रियला, सिप्रदी यात्री, भिडा, जोन्सेन, रिभोल्टलगायत ब्रान्डले नाडा अटो शोमा स्टल राख्दैछन्। पेट्रोलियम इन्धनबाट चल्ने मोटरसाइकल तथा स्कुटरसँगै विद्युतीय दुईपाङ्ग्रे सवारीको विकल्प पनि प्रदर्शनीमा बलियो रूपमा देखिनेछ।

अटो शोमा नबिल, एनआईसी एशिया, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, प्रभु, कुमारी, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंक तथा महालक्ष्मी विकास बैंक, गुराँस फाइनान्स तथा शिखर इन्स्योरेन्स जस्ता वित्तीय तथा बीमा संस्थाको सहभागिता रहनेछ।

एपोलो टायर्स, सीएट, गल्फ, मोबिल, मिचेलिन, राल्सन, असियन व्याट्री, टाटा ब्याट्री, एक्साइडसँग सम्बन्धित उत्पादन तथा सेवा, चार्जिङ कम्पनी, हेल्मेट ब्रान्ड, सवारी ट्याकिङ तथा प्रविधि कम्पनी, स्पेयर पार्ट्स र अटो कम्पोनेन्टका व्यवसायी समेत प्रदर्शनीमा सहभागी हुने नाडाले जनाएको छ।

Share Now