काठमाडौं,२० मंसिर, । नेपाल प्रहरीले बिहिबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनावका लागि सबै सुरक्षा व्यवस्था दुरुस्त पारिएको दावी गरेको छ ।
नेपाल प्रहरीले बुधबार अपरान्ह प्रहरी प्रधान कार्यालयमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता मनोज न्यौपानले सो जानकारी दिएका हुन।
प्रहरीका अनुसार पहिलो चरणमा मतदान सम्पन्न भएका जिल्लाहरुमा मतपेटिका सुरक्षा र बिहीबार हुने दोस्रो चरणको निर्वाचनका लागि नेपाल प्रहरीको ९० प्रतिशत जनशक्ति परिचालन गरिएको छ ।
निर्वाचन सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेराना सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना तैनाथ गरिनेछ ।
सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरको परिचालन चुनावी सुरक्षाका लागि गरिनेछ । त्यस्तै मतदानस्थलको सुरक्षाका लागि आवश्यक जनशक्ति, हतियार र साधन स्रोतको परिचालन सम्पन्न भइसकेको छ ।
सुरक्षा अनुगमनका लागि डिएसपीको कमाण्डमा रहेका जिल्लाहरुमा एसपी, एसपीको कमाण्डमा रहेका जिल्लाहरुमा एसएसपी र एसएसपीको कमाण्डमा रहेका जिल्लाहरुमा डिआईजी खटाइएको छ ।
सुरक्षाका लागि केन्द्र र हरेक प्रदेशमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।
विप्लव र सिके राउतका कार्यकता पक्राउ
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले सी.के. राउतका १४ , विप्लवका सहितको समूहका ३ सय ५५ जनालाई देशका बिभिन्न भागबाट नियन्त्रणमा लिएको छ।
प्रहरीले विष्फोटन गराउन तयारी अवस्थामा राखिएको डेटोनेटर २ हजार १ सय ८८ थान, जिलेटिन ५ सय ७७ लोला पनि नियन्त्रणमा लिएको छ। ६१ थान हतियार र २ सय ८३ राउन्ड गोली पनि प्रहरीले बरामद गरेको छ।
विप्लव भारतमा
व्यापक खोजी गरेपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र विक्रम चन्द भारत पुगेको प्रहरीले जनाएको छ।
निर्वाचनलाई लक्षित गर्दै देशका विभिन्न स्थानमा बम पड्काउदाँ पनि विप्लवलाई पक्राउ नगरेको भन्दै जनमानसले चासो देखाइरहेका बेला प्रहरीले भने उनी पश्चिमी जिल्ला हुदैँ भारत पुगेर लुकेर बसेको जनाएको छ।
प्रहरीको विशेष ब्युरो टोलीले पहिलो चरणको चुनाव अघि नै विप्लवलाई राजधानीबाटै पक्राउ गर्न लागेका थियो ।
तर विप्लवलाई त्यस स्थानमा थिएनन । मोबाइल ट्रयाक गर्दै विप्लवलाई समाउन गएका प्रहरीहरुले विप्लवले आफुले प्रयोग गर्ने नम्बर कार्यकर्ता दिएर उनी भागेको जानकारी प्रहरी प्रधान कार्यालयमा दिएका थिए।