Prakash Adhikari December 6, 2017

काठमाडौं, २० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर २१ गते बिहिबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनमा उत्साहपूर्वक सहभागी भएर मुलुकलाई राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा लैजाने  अभियानमा सरिक भएर योगदान पुर्याउन समस्त नेपालीलाई आह्वान गरेका छन् ।

निर्वाचनको पूर्व सन्ध्यामा बुधबार सन्देश दिंदै राष्ट्र प्रमुख भण्डारी र सरकार प्रमुख देउवाले सो आह्वान गर्नुभएको हो ।

समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउनुहोस् : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार हुने दोस्रो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सहभागी हुन आम मतदातालाई आह्वान गरेकी छन्।

दोस्रो चरणको निर्वाचनको सन्दर्भमा एक सन्देश जारी गर्दै भण्डारीले लामो समयको संघर्षपछि नेपाली जनताले पाएको संविधान कार्यान्वयन गर्न पनि निर्वाचनमा सहभागी हुन सबै मतदातालाई आग्रह गरेकी हुन्।

नेपालको संविधानले नेपालीको लोकतान्त्रिक हक र अधिकारको पूर्ण प्रत्याभूति गर्नुका साथै माघ ७ गतेभित्र संघीय संरचनाअन्तर्गतका सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्थाबमोजिम हुन लागेको निर्वाचनमा भाग लिन सबै नेपालीलाई राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत् आग्रह गरेकी हुन्।

‘प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्त्वपूर्ण र ऐतिहासिक रहेको तथा उक्त निर्वाचनपछि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गरी संवैधानिक प्रावधानबमोजिम सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढ्नेछ भन्ने मलाई विश्वादस लागेको छ’ राष्टपति भण्डारीद्वारा जारी सन्देशमा भनिएको छ।

निर्वाचनमा सहभागी हुनु केवल संविधानले दिएको जनप्रतिनिधि छान्ने हक र जनतामा निहित सार्वभौम अधिकारको प्रयोग मात्र नभई आर्थिक सामाजिक रूपले समृद्ध नेपाल निर्माणको दिशामा ठोस योगदान गर्नुसमेत भएको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले भने: सुरक्षाको पूर्ण प्रबन्ध छ, ढुक्क भएर मतदान गर्नुस्

निर्वाचनपछि मुलुक राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा

 

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरेका छन्।

प्रधानमन्त्री देउवाले बुधबार एक विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गरेका हुन्।

विज्ञप्तिमा उनले स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक संक्रमण अन्त्य भएर संविधान कार्यान्वयनले गति लिने र निर्वाचनपछि मुलुक राजनीति स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गरे।

विज्ञप्तिमा भनिएको छ, ुसरकारले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएको सबै तयारीलाई सन्तोषजनक रुपमा लिँदै सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको मैले विश्वास लिएको छु।ु

नेपालको संविधानअनुसार भोलि मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ। यसअघि, मंसिर १० गते उच्च पहाडी र हिमाली ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेको छ।

प्रधानमन्त्री देउवाले प्रथम चरणको निर्वाचनमा यस्तै आह्वान गरेका थिए।

 

Share Now

Leave a comment.