काठमाडौँ, १८ भदौः भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको छ । यस्तै, ४ हजार २ सय १६ जना अझै सम्पर्कविहीन छन् ।
बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ३ सय १४ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्राधिकरणका अनुसार नेपाल प्रहरीका ७ हजार ९ सय १२, नेपाली सेनाका ९ हजार १ सय ९९ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २ सय ३ सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन् ।
सुरक्षाकर्मीले नदी किनार, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन् । बाढीका कारण कतिपय स्थानमा सडक तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ । बाढीमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या १ हजार २ सय ४ पुगेको छ ।
प्रभावित जिल्लामा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । प्राधिकरणका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, तनहुँ, चितवनलगायत जिल्ला प्रभावित भएका छन् ।
हालसम्म रसुवामा १ सय १५, नुवाकोटमा १ सय ५५, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २ सय १७, नवलपरासी पश्चिममा २ सय २, तनहुँमा ३८ र चितवनमा ३ सय ४८ जनाको शव फेला परेको प्राधिकरणका प्रवक्ता महतले जानकारी दिनुभयो ।
विपद्को समयमा नेपाली सेनाले हवाई उद्धारलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ । सेनाले हालसम्म ४ हजार ९१ नेपाली र २ सय ७३ विदेशी नागरिकको हवाई उद्धार गरेको छ ।
खोज तथा उद्धारका क्रममा नेपाली सेनाले हालसम्म ६ सय ९० पटक हवाई उडान गरेको छ । बुधबार मात्रै सेनाले ८० वटा हवाई उडान गरेको प्राधिकरणले जनाएको छ ।
निजी क्षेत्रबाट पनि हालसम्म २९ वटा हवाई उडानमार्फत उद्धार तथा राहत कार्यमा सहयोग गरेको छ । दुर्गम तथा सडक सम्पर्कविच्छेद भएका स्थानमा हवाई माध्यमबाट उद्धार तथा राहत सामग्री पु¥याउने काम भइरहेको छ ।
प्राधिकरणका अनुसार बाढीपछि नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना सम्पर्कविहीन छन् । त्यस्तै, भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन तथा रसुवाबाट करिब ८ सय ६५ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
नुवाकोटबाट १ हजार ५ सय ५८, विदेशी नागरिक ५ सय ८३ तथा पर्यटकसँग गएका नेपाली १ सय ६४ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
जलविद्युत् आयोजनामा कार्यरत करिब ९सय , लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टिइन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह वा मातहतका कर्मचारी ३२ तथा निजी विद्यालयका एक जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ ।
बाढीबाट प्रभावित नागरिकका लागि सरकारले राहत तथा उद्धारलाई निरन्तरता दिएको छ । प्रभावित क्षेत्रमा खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने कार्य जारी छ ।
बाढीका कारण ठूलो मानवीय क्षति हुनाका साथै हजारौँ नागरिक अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाइएको छ । प्रभावित क्षेत्रमा राहत, स्वास्थ्य सेवा तथा अत्यावश्यक सामग्रीको पहुँच विस्तार कार्यलाई प्राथमिकतामा राखिएको छ ।
बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति गरेपछि राज्यका सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न निकाय निरन्तर उद्धार र राहतमा सक्रिय छन् । सम्पर्कविहीनको सङ्ख्या ठूलो रहेकाले खोजी कार्यलाई अझै तीव्र पारिएको प्राधिकरणले जनाएको छ ।