Prakash Adhikari October 13, 2018

काठमाडौं, २७ असोज । नेपाली कांग्रेसका नेता एवम् बौद्धिक व्यक्तित्व चक्र बांस्तोलावको ७२ बर्षको उमेरमा उहाँकै निवासस्थान खुमलटारमा शनिवार बेलुकी निधन भएको छ ।

शनिवार साँझदेखि उहाँको स्वास्थ्यस्थिति स्थिर रहेको बताइएपनि बेलुकी १० :२० बजे डा. हरि राईले उहाँको समग्र स्वास्थ्यस्थिति परीक्षण गरी उहाँको निधन भएको जानकारी गराउनुभएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभएको छ ।

दिवंगत नेता वास्तोलाका दुवै छोरी आइतबार अपरान्ह काठमाडौ आइपुग्दै हुनुहुन्छ । कांग्रेस प्रवक्ता शर्माका अनुसार छोरीहरु काठमाडौं आइपुगेपछि पार्थिव शरीर नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ ।

नेपाली राजनीतिक इतिहासका एक चम्किला नक्षत्र बास्तोलाको जन्म वि.सं. २००३ सालमा ईलामको बतासे भन्ने ठाउँमा भएको थियो । २० को दशकदेखि नै राजनीतिमा होमिनुभएका बास्तोला २०१७ सालमा तात्कालीन राजा महेन्द्रले सैन्यबलमा जननिर्वाचित सरकारलाई बर्खास्त गरी संसदलाई भंग गरेपछि प्रजातन्त्र पुनस्थापनाको लागि गरिएको सशस्त्र आन्दोलनमा पनि होमिनुभयो ।

क्रान्तिका लागि रकम जुटाउन क्रममा वि.स. २०३० सालमा कांग्रेसले गरेको विमान अपहरण काण्डमा उहाँको प्रमुख भूमिका रह्यो ।
२०४६ सालमा लोकतन्त्रको पुनस्थापनाका लागि भएको आन्दोलनमा अन्ताराष्र्टिय समुदायसंग सम्पर्कको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएका बास्तोला २०४८ सालको निर्वाचनमा झापाबाट उम्मेद्वार बन्नुभएको थियो । पहिलो प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपछि भारतका लागि नेपाली राजदूतको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएका बास्तोला २०५१ सालको मध्यावधि निर्वाचनमा विजयी बनेर परराष्ट कृषि,पर्यटन जस्ता महवपूर्ण मन्त्रालय पनि सम्हाल्नुभयो । उहाँ २०५६ सालको निर्वाचनमा पनि विजयी बन्नुभएको थियो ।

नेपाली कांग्रेसभित्र र बाहिर बौद्धिक व्यक्तित्वका रुपमा स्थापित बास्तोलाले लोकतन्त्रको स्थापना र विकासका लागि महत्वपूर्ण योगदान गर्नुभएको थियो । उहाँ नेपाली कांग्रेसभित्र मध्यमार्गी बौद्धिक व्यक्तित्व मानिनुहुन्थ्यो ।

झापाको विर्तामोडमा भएको एक कार्यक्रममा २०६९ पुसमा अचानक बेहोस भई कोमामा जानुभएका बास्तोलाले ६ वर्षसम्म निरन्तर मृत्युसँग संघर्ष गर्नुभयो । अन्तत: निष्ठुरी कालसंग उहाँ पराजित हुनुभयो ।

नेपालको लोकतान्त्रिक आन्दोलनका लागि उहाँले गर्नुभएको संघर्षका कथाहरु नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा सुनौला अक्षरले अंकित छन र सधै सुरक्षित रहनेछन् ।

Share Now

Leave a comment.