Prakash Adhikari September 9, 2026

टोरोन्टो, २४ भदौ (रासस/एपी) : अमेरिका र क्यानडाबीच बढ्दो व्यापारिक तनावबीच अमेरिकाले क्यानडाबाट आयात हुने केही दुग्धजन्य पदार्थ, अधिकांश मदिराजन्य पेय पदार्थ तथा मोटरसाइकलमा रोक लगाउने भएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले मंगलबार यस्तो जानकारी दिनुभएको हो । नयाँ प्रतिबन्ध सेप्टेम्बर २९ देखि लागू हुने जनाइएको छ ।

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी निर्भरता घटाउँदा लागत बढ्ने भए पनि दीर्घकालीन लाभ त्यसको पीडाभन्दा बढी हुने बताउनुभएको छ ।
ट्रम्पको कार्यकारी आदेशअनुसार गद्दा, मोटरबोट र गल्फ कार्टलगायत क्यानाडाली उत्पादनमा सेप्टेम्बर १५ देखि ५० प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ ।
वासिङ्टनले अगस्ट २२ मा क्यानाडाली वस्तुमा शुल्क लगाएपछि ओटावाले अमेरिकी आयातमा २७ अर्ब ६० करोड क्यानाडाली डलर बराबरको प्रतिशोधात्मक शुल्क लगाएको थियो । त्यसको प्रतिक्रियामा ट्रम्पले क्यानाडाली कम्पनीलाई अमेरिकी सरकारी ठेक्काबाट वञ्चित गर्ने चेतावनीसमेत दिनुभएको छ ।
यसअघि उहाँले क्यानाडाली विमान निर्माता बोम्बार्डियरको बिक्री रोक्ने प्रयास गर्ने चेतावनी दिनुभएको थियो । त्यसप्रति कान्सासका रिपब्लिकन सिनेटर रोजर मार्सल र जेरी मोरानले अमेरिकी रोजगारी जोगाउन ह्वाइट हाउसमा चासो राखेको बताउनुभएको छ ।
प्रधानमन्त्री कार्नीले व्यापार विवाद बढाउने पक्षमा आफू नरहेको बताउँदै कामदार, कम्पनी र समुदायको सुरक्षाका लागि क्यानाडाले शुल्क लगाउनुपरेको उल्लेख गर्नुभयो । अगस्ट २१ मा वासिङ्टनमा वार्ता विफल भएपछि दुई देशबीच व्यापार वार्ता पुनः सुरु भएको छैन ।
अमेरिकासँग क्यानाडाको आर्थिक निर्भरता उच्च छ । क्यानाडाको करिब ६० प्रतिशत आयात अमेरिकाबाट आउँछ भने करिब ७० प्रतिशत निर्यात अमेरिकी बजारमा जाने गरेको छ । अमेरिकी शुल्कको असर कम गर्न क्यानाडा सरकारले व्यवसायी र कामदारका लागि सात अर्ब ५० करोड क्यानाडाली डलरको सहायता प्याकेज सार्वजनिक गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाली वस्तुलाई ठूला तथा दीर्घकालीन अमेरिकी सरकारी खरिद सम्झौताबाट समेत बाहिर राख्ने निर्णय गर्नुभएको हो । क्यानडाले अमेरिकी वस्तुका लागि “पूर्ण र न्यायोचित पारस्परिकता” सुनिश्चित नगरेसम्म क्यानडाली उत्पादनलाई त्यस्ता सरकारी सम्झौतामा अयोग्य ठहर गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिइएको छ ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो देशको रणनीति क्यानडालाई आर्थिक रूपमा अझ आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “कुनै पनि देशले हामीलाई आफ्नो नियन्त्रणमा राख्न नसक्ने अवस्था सुनिश्चित गर्नु र हामीले आफ्नो इच्छाअनुसार जीवनयापन गर्न सक्ने वातावरण बनाउनु हाम्रो उद्देश्य हो ।”

अमेरिकाले अगस्ट २२ मा क्यानडाबाट आयात हुने करिब पाँच प्रतिशत वस्तुमा ५० प्रतिशतसम्मको अतिरिक्त कर लगाएको थियो । अमेरिकी दुग्ध, मदिरा तथा सवारीसाधन उद्योगलाई क्यानडाले अनुचित व्यवहार गरेको आरोप लगाउँदै अमेरिकाले यस्तो कदम चालेको थियो ।

अमेरिका र क्यानडाबीच लामो समयदेखि व्यापारसम्बन्धी मतभेद रहँदै आएका छन् । विशेषगरी क्यानडाको संरक्षित दुग्ध बजार र काठ उत्पादकलाई दिइने सरकारी सहयोगलाई लिएर दुई देशबीच विवाद हुँदै आएको छ । यद्यपि, दुवै देश लामो समयदेखि घनिष्ठ मित्र तथा बलिया साझेदारका रूपमा रहँदै आएका थिए ।

राष्ट्रपति ट्रम्पको कार्यकालमा अमेरिका–क्यानडा सम्बन्ध भने तीव्र रूपमा बिग्रिएको छ । ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने विषयमा समेत पटक–पटक विवादास्पद अभिव्यक्ति दिँदै आउनुभएको छ ।

क्यानडाका प्रधानमन्त्री कार्नीले गत वर्ष राजनीतिक सफलता हासिल गर्दै ट्रम्पको दबाबका सामु क्यानडाको हितको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

दुई देशबीच बढ्दो व्यापारिक टकरावले दशकौँदेखि कायम रहेको घनिष्ठ सम्बन्धमा समेत गम्भीर असर पार्ने चिन्ता बढेको छ ।

Share Now