विदुर(नुवाकोट), २५ भाद्र । नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले आज नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ ।
भ्रमणका क्रममा उहाँलें नेपाली सेना, स्थानीय अधिकारीहरू, स्वयंसेवकहरू र प्रभावित समुदायका प्रतिनिधिहरूसँग भेट गर्नुभएको नेपालस्थित चिनिया राजदूतावासले जानकारी दिएको छ । उहाँले बाढी प्रभावित बासिन्दाहरूको लागि पुनर्वास केन्द्रहरूको पनि भ्रमण गर्नुभयो र विपद् क्षेत्रमा काम गर्ने चिनियाँ सुरुङ उद्धार विज्ञहरूप्रति आफ्नो सम्मान र प्रशंसा व्यक्त गर्नुभयो।
राजदूत झाङ माओमिङले खोज तथा उद्धार कार्यका साथै नेपालका सबै क्षेत्रहरूको विपद् राहत प्रयासहरूको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले चीन सधैं नेपालको साथमा दृढतापूर्वक उभिएको बताउँदै बाढीबाट क्षतिग्रस्त घरहरूको पुनर्निर्माण गर्न नेपालसँग हात मिलाउने कुरामा जोड दिनुभएको चिनिया दूताबासले जनाएको छ ।








