काठमाडौं, २० मंसिर । गृह मन्त्रालयले मतदाताहरुलाई बिहीबार निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ ।
बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह सचिव मोहनकृष्ण सापकोटाले निर्वाचनका लागि मतदाता, कर्मचारी,उम्मेदवार,उम्मेदवारका प्रतिनिधि सबैको सुरक्षाको लागि आवश्यक व्यवस्था मिलाउनुका साथै स्थल र हवाई गस्तीको समेत व्यवस्था गरिएकोले निर्धक्क भएर मतदानमा सहभागीहुन आम मतदाताहरुलाई आग्रह गर्नुभयो ।
प्रहरीले हालसम्म निर्वाचन हिंसामा संलग्न रहेका ९ सय भन्दा बढीलाई पक्राउ गरिसकेको जनाएको छ।
दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी चल्दै गर्दा भएका विस्फोटनका घटनाले एक प्रकारको त्रास सृजना गरेपनि मतदानको अघिल्लो दिन गृह मन्त्रालय पत्रकार सम्मेलन गरेर निर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी ढंगले मिलाइएको सन्देश दिएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका गरी ३ वटा सुरक्षा निकायका प्रमुख र नेपाली सेनाका रथीलाई दायाँ, बायाँ राखेर पत्रकारहरु माझ प्रस्तुत भएका गृह सचिव मोहनकृष्ण सापकोटाले निर्वाचनका क्रममा कुनै घटना हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको जानकारी गराए।
निर्वाचन सुरक्षाका लागि मतदान स्थलमा विशेष सुरक्षा प्रबन्ध गरिएको छ। यसका लागि मोवाइल गस्ती, स्ट्राइकिङ, पेट्रोलिङ, हवाइ गस्ती सम्म मिलाइएको छ
मोहनकृष्ण सापकोटा, सचिव, गृह मन्त्रालय
उनले भने, ‘निर्वाचन सुरक्षाका लागि मतदान स्थलमा विशेष सुरक्षा प्रबन्ध गरिएको छ। यसका लागि मोवाइल गस्ती, स्ट्राइकिङ, पेट्रोलिङ, हवाइ गस्ती सम्म मिलाइएको छ।’
‘कुनै पनि घटना हुन नदिने र यदि कतै घटना र दुर्घटना भएमा १० देखि ३० मिनेटमा थप टोली पुग्ने व्यवस्था गरिएको छ।’
गृह सचिवले हालसम्म भएका हिंसाका घटनामा को संलग्न छ भन्ने बारेमा खुलाउन नचाहे पनि नेपाल प्रहरीले भने प्रारम्भिक अनुसन्धान भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता पाइएको जनाएको छ।
दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान हुने छ, जसमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्ने बताइएको छ।
पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेकोमा दोस्रो चरणमा त्यो बढेर ७० प्रतिशत भन्दा बढी हुने अनुमान निर्वाचन आयोगले गरेको छ।