Prakash Adhikari September 24, 2026

काठमाडौँ, ८ असोज । सर्वोच्च अदालतले साइबर अपराधको अभियोगमा पक्राउ परेका राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गरी तारेखमा राख्न परमादेश जारी गरेको छ।

दाहालकी छोरी डेनी दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल पोखरेलको संयुक्त इजलासले सो आदेश दिएको हो।

अदालतले निजलाई हिरासतमा राखिराख्नुपर्ने पर्याप्त आधार र औचित्य नदेखिएको ठहर गर्दै आजैका मितिदेखि तारेखमा छाड्न आदेश जारी गरेको छ।

आदेशमा दाहालले संविधान र कानुनको उल्लंघन गर्दै कुनै पनि किसिमको हिंसात्मक आन्दोलनका लागि आह्वान गरेको नदेखिएको उल्लेख गरिएको छ।

काठमाडौँ जिल्ला अदालतले अनुसन्धान र बयान कार्य बाँकी रहेको जनाउँदै पहिलो पटक ३ दिनको म्याद थप गरेको भए तापनि दाहालको बयान गत असोज ६ गते नै सम्पन्न भइसकेको विषयलाई सर्वोच्चले गम्भीरतापूर्वक स्मरण गराएको छ।

सामाजिक सञ्जालमा ‘ग्रे-जोन’ सम्बन्धी प्रतिवेदनलाई लिएर आफ्नो धारणा तथा विचार व्यक्त गरेकै आधारमा दाहाललाई असोज ४ गते मोरङको बेलबारीबाट प्रहरीले पक्राउ गरेको थियो। सर्वोच्चको यस परमादेशसँगै निजलाई हिरासतमुक्त गर्ने बाटो खुलेको छ।

Share Now