आबुधावी(यूएइ),२० मंसिर । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल युएईविरुद्ध पहिलो खेलमा ७ विकेटको पराजय बेहोरेको छ ।
बुधबार शेख जायद स्टेडियम आबुदाबिमा सम्पन्न आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौँ चरणको युएईसंगको पहिलो खेल नेपालमा नेपालले पराजय व्यहोरेको हो ।
टस हार्दै पहिलो ब्याटिङ्गको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २२१ रनको योगफल तयार पारेको थियो । नेपालको पारीमा शरद भेषवाकरले सर्वाधिक ८१ रनको नटआउट पारी खेले । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले पनि ५४ रनको अर्धशतकीय पारी खेले ।
उता जवाफी लक्ष्य पछ्याएको घरेलु टोली युएईले ४५।५ ओभर खेल्दै ३ विकेटको क्षतिमा २२५ रन बनाएर लक्ष्य भेट्टाएको थियो । युएईका लागि गुलाम शबरले ८१ रनको नटआउट पारी खेले । त्यस्तै कप्तान तथा ओपनर रोहन मुस्तफाले ६४ रनको महत्पूर्ण योगदान दिए ।
बलिङ्गतर्फ नेपालका लागि सन्दिप लामिछाने र शरद भेषवाकरले १–१ विकेट हात पारे । च्याम्पियनसिप अन्तरगत नेपाल र युएईबीच दोस्रो खेल शुक्रबार हुनेछ ।
च्याम्पियनसिप अंकतालिकाको उत्कृस्ट ४ भित्र पर्ने सम्भावना गुमाएपछि डिभिजन(२ मा झरेको नेपाल र युएईको लागि यो खेल प्रतिष्ठा तथा अंकतालिकाको माथिल्लो स्थान ओगट्नको लागि हुनेछ।
फेब्रुअरीमा नामिबियामा संचालन हुने डिभिजन(२ प्रतियोगिताको तयारीको लागि नेपाली टिमले यो खेललाई लिएको छ।
हारपछि कप्तान पारस खड्काले नेपालले ४० रन कम योगफल बनाएको र दोश्रो इनिंगमा विकेट ब्याट्सम्यानलाई अझ सहज भएको बताए।
च्याम्पियनसिप अंकतालिकामा हारपछि पनि नेपाल युएई भन्दा १ स्थान माथि छैठौं स्थानमा रहेको छ।नेपालको ९ अंक रहेको छ भने १ स्थान तल युएईको ८ अंक। १ स्थान माथि केन्याको समान १३ खेलमा १२ अंक रहेको छ।
युएईले लक्ष पछ्याउने क्रममा नेपाली बलरहरुले विकेटको मौका निकाले पनि क्याचहरु छुट्न पुग्दा युएई ब्याट्सम्यानहरु हाबी भएका थिए। खेलको चौथो ओभरको तेश्रो बलमा पारस खड्काले स्लिपमा कप्तान रोहन मुस्तफाको क्याच छुटाउन पुगेका थिए जसले ६२ रनको महत्वपूर्ण योगदान दिंदै जितमा महत्वपूर्ण भूमिका खेले।
ललितकै अर्को ओभरमा विकेटकिपर दिलिप नाथको सुस्तताको कारण मुस्तफा पुनः आउट हुनबाट जोगिन पुगे जतिबेला उनि १८ रनमा ब्याटिंग गरिरहेका थिए।
नेपालले पहिलो विकेट रनआउटको रुपमा हात पार्यो । अश्फाक अहमद १९ रनमा पेभेलियन फर्किंदा टिमको स्कोर ४२ रन थियो जसपछि दोश्रो विकेट लिन नेपालले लामो प्रतिक्षा गर्नु पर्यो।
दोश्रो विकेटको लागि रोहन मुस्तफा र गुलाम शब्बिरले ८१ रनको साझेदारी गरे। ओपनर मुस्तफा ७ चौका र १ छक्का प्रहार गरेपछि शरद भेसावकरको बलमा विकेटकिपर दिलिपको हातबाट समातिन पुगे।
त्यसपछि शब्बिरले तेश्रो विकेटको लागि रामिज शहजादसंग ६७ रनको साझेदारी गर्दै युएईको जित सहज बनाएका थिए।
शहजाद ३७ रन बनाएर सन्दिप लामिछानेको बलमा कट एण्ड बोल्ड हुन पुगेपछि शब्बिरले चौथो विकेटको लागि मोहम्मद उस्मानसंग ३५ रनको अविजित साझेदारी गर्दै युएईलाई जितसम्म पुर्याएका थिए।
शब्बिरले अविजित ८१ रन बनाउने क्रममा ११६ बलमा ८ चौका प्रहार गरे जो खेलको म्यान अफ द म्याच समेत चुनिए। उस्मान १७ रनमा अविजित रहे।
नेपालले अनुसासित बलिंग गरेपनि लगातार विकेट भने हात पार्न सकेनन्। सन्दिप लामिछाने र शरद भेसावकर बाहेक अन्य बलर विकेट बिहिन रहे। सन्दिपले १० ओभरमा ४६ रन खर्चेर १ विकेट हात पारे भने शरदले ४ ओभरमा १४ रन खर्चेर १ सफलता हात पारे।
बसन्त रेग्मीले १० ओभरमा १ मेडन ओभर सहित ३७ रन खर्चिए पनि विकेट लिन सकेनन् भने शक्ति गौचन विकेट बिहिन रहँदै ६ ओभरमा ३२ रन खर्चिए।
यस अघि शरद भेसावकर र ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिंग खेलेपछि नेपालले युएईलाई २२२ रनको लक्ष प्रस्तुत गरेको थियो।
नेपालको लागि ओपनिंग गरेका ज्ञानेन्द्र मल्ल र दिलिप नाथले पहिलो विकेटको लागि ४३ रनको साझेदारी गरेका थिए। दिलिप १५ औं ओभरमा १६ रन बनाएर आउट भएपछि ज्ञानेन्द्र मल्ल र शरद भेसावकरले दोश्रो विकेटको लागि ४१ रनको साझेदारी गर्दै नेपालको स्कोर अघि बढाएका थिए।
लिस्ट ए करियरको चौथो अर्धशतक प्रहार गर्ने क्रममा ५४ रन बनाएपछि ज्ञानेन्द्र युएई कप्तान रोहन मुस्तफाको बलमा एलबिडब्लु धरापमा परेका थिए । मल्लले ८३ बलमा ६ चौका प्रहार गरे।
त्यसपछि ब्याटिंग गर्न आएका पारस खड्का र शरदले तेश्रो विकेटको लागि ३८ रनको साझेदारी गरे। पारस २० रनको स्कोरमा आउट भएपछि नेपालले आरिफ शेख ० र बिनोद भण्डारी ४ लाई सस्तैमा गुमाउन पुग्यो।
सातौँ नम्बरमा ब्याटिंग गरेका सोमपालले शरदसंग छैठौ विकेटको लागि ३७ रनको साझेदारी गरे। सोमपाल २० रनको स्कोरमा आउट भए जसले ३ चौका प्रहार गरे। सोमपालको विकेट पछि शरद र बसन्त रेग्मीले सातौँ विकेटको लागि अविजित ४० रनको साझेदारी गर्दै नेपाललाई सम्मानित स्कोरतर्फ डोर्याएका थिए।
शरद भेसावकरले उत्कृस्ट ब्याटिंग गरे
लिस्ट ‘ए’ करियरको छैठौ अर्धशतक बनाएका शरद ८१ रनमा अविजित रहे जुन क्रममा ९५ बलको सामना गर्दै ५ चौका प्रहार गर्दै धैर्यतापूर्ण इनिंग खेले। बसन्त रेग्मीले अविजित १४ रन बनाए। नेपालले पुरा ५० ओभरमा ६ विकेट गुमाई २२१ रन बनायो।
युएईको लागि जहुर खानले २ तथा मोहम्मद नबिद, अहमद रजा र रोहन मुस्तफाले समान १र१ विकेट हात पारे।
आजै सम्पन्न बिश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्य २ खेलमा स्कटल्याण्डले केन्यालाई ८ विकेटले पराजित गरेको छ भने नेदरल्याण्डले नामिबियालाई ८ विकेटलेनै पराजित गर्यो। जितसंगै च्याम्पियनसिप अंकतालिकामा नेदरल्याण्ड ९ जित बटुल्दै २० अंक सहित पहिलो तथा स्कटल्याण्ड ७ जित सहित १७ अंक बटुली दोश्रो स्थानमा रहेको छ। पपुवा न्युगिनी तेश्रो तथा हंगकंग चौथो स्थानमा रहेको छ।