Prakash Adhikari October 9, 2026

बागलुङ, २३ असोजः चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक भरिभराउ हुन्थे । आर्थिक गतिविधि बढ्थ्यो । रोजगारी विस्तार भएको थियो । यस वर्ष पनि त्यस्तै अपेक्षामा रहेका व्यवसायी भने निरास र खिन्न छन् । मुख्य सडक सम्पर्कविच्छेद हुँदा पर्यटन र व्यापार व्यवसाय प्रभावित भएको छ ।

दसैँको समयमा कालिका मन्दिर, पञ्चकोट हुँदै ढोरपाटनसम्म घुम्न आउने पर्यटकले बागलुङका होटल भरिभराउ हुने गरे पनि यस वर्ष बजार तथा होटलमा अपेक्षित चहलपहल देखिएको छैन । बागलुङ प्रवेश गर्ने मुख्य नाका मालढुङ्गा पुलको पहुँचमार्ग बाढीले बगाएपछि १२ दिनदेखि सिधा यातायात ठप्प भएको छ । त्यसको प्रत्यक्ष असर पर्यटन, व्यापार र सर्वसाधारणको जीवनमा पर्न गएको छ ।

यही असोज ११ गतेको कालीगण्डकीको बाढीले पर्वततर्फको पुलको पहुँचमार्ग बगाएपछि बागलुङ र पर्वतबीचको नियमित सडक सम्पर्कविच्छेद भएको छ । मालढुङ्गा हुँदै म्याग्दी र मुस्ताङ जाने मुख्य सडक अवरुद्ध हुँदा त्यसको प्रभाव बागलुङको पर्यटन व्यवसायमा परेको छ ।

पर्यटकीय गन्तव्यमा जाने पर्यटकका लागि बागलुङ प्रवेशद्वारका रूपमा रहेको छ । होटल व्यवसायी एन्जील शाक्यले दसैँको मुखमा होटलमा पर्यटकको चाप बढ्नुपर्ने भए पनि सुनसान रहेको बताउनुभयो । “मुख्य सडक नै छैन, पर्यटक कसरी आउँछन् ? मुस्ताङसँग सडक सम्पर्क नै विच्छेद भएको छ । मुस्ताङको प्रभावले बागलुङको होटल व्यवसाय चलायमान हुन्थ्यो”, उहाँले भन्नुभयो, “पुल सञ्चालनमा आउन जति ढिला हुन्छ, होटल व्यवसायी त्यति नै मारमा पर्छन् । वैकल्पिक बाटोबाट पर्यटक कमै आउने गरेका छन् । मुस्ताङ जाने सडक र मालढुङ्गा पुल नखुल्दासम्म होटल व्यवसायमा ठूलो नोक्सानी हुने देखिन्छ ।”

भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा पहाडी क्षेत्र हुँदै गएको मध्यपहाडी लोकमार्गको महत्त्वपूर्ण सङ्गमस्थल मालढुङ्गा भएकाले यहाँको सडक अवरोधले बागलुङसँगै पश्चिम क्षेत्रको आवागमनमा असर पारेको छ ।

वैकल्पिक मार्गले बढायो ढुवानी खर्च

मुख्य सडक अवरुद्ध भएपछि अहिले फलेवास–बलेवा हुँदै बागलुङ तथा मालढुङ्गा–बेनी हुँदै बागलुङसम्म वैकल्पिक मार्गबाट यात्रुवाहक बस र साना मालवाहक सवारी सञ्चालन भइरहेका छन् । लामो र घुमाउरो वैकल्पिक बाटो प्रयोग गर्नुपर्दा ढुवानीमा समय र खर्च दुवै बढेको व्यवसायीको भनाइ छ । यसको प्रत्यक्ष प्रभाव दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्न थालेको छ ।

ग्यास ढुवानीमा वैकल्पिक मार्ग प्रयोग गर्दा प्रतिसिलिन्डर रु १५० देखि रु १७० सम्म अतिरिक्त ढुवानी खर्च लाग्न थालेको ग्यास विक्रेता हरि आचार्यले बताउनुभयो । ढुवानी खर्च बढेपछि बजारमा ग्यासको मूल्य रु १०० ले बढाउनुपरेको उहाँको भनाइ छ ।

सडक अवरुद्ध हुँदा समयमै आपूर्ति हुन नसकेपछि बागलुङमा तरकारीलगायत खाद्यवस्तुको आपूर्तिमा समस्या देखिन थालेको छ । पेट्रोलियम पदार्थ, खाद्यान्न, लत्ताकपडा र अन्य उपभोग्य वस्तुको आपूर्ति नियमित हुनसकेको छैन ।

मुख्य सडक अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जीवनसँगै स्वास्थ्य सेवामा असर परेको छ । गम्भीर बिरामी तथा नियमित उपचारका लागि पोखरा जानैपर्ने सर्वसाधारणले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने वा केही दूरी पैदल हिँड्नुपर्ने अवस्था आएको छ ।

दसैँअघि पुल सञ्चालनको तयारी

सडक डिभिजन कार्यालय पोखराले दसैँअघि नै मालढुङ्गा पुलको पहुँचमार्ग सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको छ । पुलको पहुँचमार्गमा करिब ३० मिटर सडक बाढीले क्षति पुर्याएपछि मर्मत तथा पुनःस्थापनाको काम भइरहेको छ ।

सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले चाडपर्व नजिकिँदै गएको र बागलुङमा खाद्यान्न, ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा असर पर्न थालेकाले चौबीसै घण्टा काम गरेर पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।

कुल ११४ मिटर लामो मालढुङ्गा पुलको पहुँचमार्गमा क्षति पुगेपछि दुई जिल्लाबीचको नियमित सडक सम्पर्कविच्छेद भएको हो । यही मार्ग हुँदै मध्यपहाडी लोकमार्गमा जोडिएर बागलुङसँगै पूर्वीरुकुम र रोल्पातर्फ जाने यातायात प्रभावित भएको छ । पुल सञ्चालनमा आएपछि लामो समयदेखि प्रभावित व्यापार, पर्यटन र दैनिक उपभोग्य वस्तुको आपूर्ति क्रमशः सहज हुने अपेक्षा गरिएको छ ।

Share Now