Prakash Adhikari October 9, 2026

 

काठमाडौं, २३ असोज । व्यवसायी दीपक भट्टका पिता चतुर्भुज भट्टले मेरो छोराको मानव अधिकार, संविधान प्रदत्त मौलिक हक तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षणका लागि आज मिति २०८३ असोज २३ गते राष्ट्रिय मानव अधिकार आयोग, पुल्चोकमा निवेदन दर्ता गराउनुभएको छ।

उहाँले निवेदनमा आफ्नो छोरा दीपक भट्टविरुद्ध विभिन्न अदालतमा मुद्दाहरू विचाराधीन रहेको अवस्थामा सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा निजलाई दोषिका रूपमा चित्रण गर्ने, चरित्रहत्या गर्ने र निजको सामाजिक प्रतिष्ठामा आघात पुर्‍याउने र न्यायलयलाई प्रभावित पारि निष्पक्ष न्याय पाउने अधिकारमा अवरोध गर्ने प्रकृतिका समाचार तथा सामग्रीहरू प्रकाशित तथा प्रसारित भइरहेको उल्लेख गर्नुभएको छ।

उहाँले विशेषगरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग फोन सम्पर्क गरी विचाराधीन मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने विषयमा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाउनुभएको छ।

उहाँले भन्नुभएको छ,” पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिले गर्दै नगरेको कार्यलाई सत्य जस्तो बनाई प्रकाशन गरिएको सामाग्रीले निजको प्रतिष्ठामा मात्रै आघात पुर्‍याइएको छैन्, सम्मानित न्यायलयबाट न्याय पाउने अधिकारमा समेत अवरोध सिर्जना गरेको छ।”

उहाँले मुद्दा नै नचलेको जिल्लामा दीपकलाई सारिएको विषयमा प्रश्न उठाउँदै भन्नुभएको छ, “मिति २०८३ असोज १७ गते मेरो छोरालाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा सरुवा गरिएको छ। निजविरुद्धका मुद्दाहरू काठमाडौं जिल्ला अदालत, विशेष अदालत तथा उच्च अदालत पाटनमा विचाराधीन रहेका र न्यायिक प्रक्रिया जारी रहेको अवस्थामा सरुवाको आधार, कारण र निर्णय प्रक्रियाबारे कुनै जानकारी नै दिइएको छैन। मुद्दा नै दायर नभएको जिल्लास्थित कारागारमा गरिएको उक्त सरुवाले सरुवाको औचित्य, आवश्यकता र त्यसको आधारबारे गम्भीर प्रश्न खडा गरेको छ। यसबाट विचाराधीन मुद्दाको न्यायिक प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने तथा परिवारले भोग्नु परेको मानसिक पीडा थप बढ्ने अवस्था सिर्जना भएको छ।”

उहाँले भन्नुभएको छ, “मेरो छोरा दीपक भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा सार्नुको आधार र कारण तथा निज नख्खु कारागारमा हुँदाको आचरणका विषयमा समेत जानकारी माग गर्दै नख्खु कारागार तथा कारागार व्यवस्था विभागमा समेत निवेदन दर्ता गरेको छु। हालसम्म कुनै जानकारी प्राप्त भएको छैन्। यस्तै, कारागारबाट फोन गरेको लगायतका गलत समाचार प्रकाशन गरेका सञ्चार माध्यम तथा प्रेस काउन्सिल नेपालमा नेपालको संविधारको धारा १९ अनुसार सञ्चारको हक प्रयोग गर्दा प्रेस काउन्सिल ऐन, २०४८ तथा पत्रकार आचारसंहिता, २०७३ ९संशोधन सहित २०७६० बमोजिम कार्य भएको सुनिश्चिता गर्न अनुरोध गर्दै निवेदन दिएको छु। प्रेस काउन्सिल नेपालले कानुन बमोजिम आवश्यक कार्य गर्ने विश्वास लिएको छु।”

दीपकका पिता चतुर्भुज भट्टले आज राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता गरिएको निवेदनका बारेमा पनि जानकारी दिनुभएको छ । उहाँले उक्त निवेदनमार्फत सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामाग्रीको सत्यतथ्य छानविन गर्न, कारागार सरुवाको निर्णय, आधार, कारण तथा सम्बन्धित कागजातहरूको अध्ययन गर्न, आवश्यकताअनुसार स्थलगत अनुगमन गर्न र मेरो छोराको मानव अधिकार तथा संविधान प्रदत्त मौलिक हकको संरक्षणका लागि आवश्यक पहल गर्न अनुरोध गरेको उल्लेख गर्नुभएको छ । उहाँले कारागार सरुवाको औचित्यसमेत विचार गरी निजलाई नख्खु कारागारमा फिर्ता ल्याउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन माग गरेको पनि बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “म कुनै पनि निकायको निष्पक्ष अनुसन्धान वा न्यायिक प्रक्रियामा अवरोध चाहन्नँ। मैले केवल सत्यतथ्यको निष्पक्ष छानविन, कानुनी प्रक्रियाको सम्मान, भ्रामक समाचारबाट हुने चरित्रहत्या रोकथाम तथा मेरो छोरा दीपक भट्टको मानव अधिकार र मौलिक हकको संरक्षणका लागि निवेदन दिएको हुँ।”

 

Share Now