गोरखा, २५ असोज। बुढीगण्डकी नदीमा भीषण बाढी आएपछि गोरखाको उत्तरी क्षेत्रमा त्रास फैलिएको छ । नदी थुनिने र खुल्ने क्रम दोहोरिएपछि नदी किनारका बस्ती जोखिममा परेका छन् । जिल्ला प्रशासन कार्यालय गोरखाले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ ।
चुमनुब्री गाउँपालिकाका पूर्वउपप्रमुख कुमारी गुरुङका अनुसार बुढीगण्डकीको स्यारखोलातर्फबाट बाढी आएको हो । नदी एकपटक थुनिने र खुल्ने भइरहेको उहाँले जानकारी दिनुभयो ।
चुमनुब्री गाउँपालिका–३ जगतका गणेश कार्कीले बुढी गण्डकी नदी तीनपटकसम्म थुनिने र खुल्ने भएकाले तटीय क्षेत्रका बासिन्दा तथा घरहरूमा कति क्षति भएको भन्ने यकिन भइनसकेको उहाँले बताउनुभयो ।
आइतबार बिहान साढे ४ बजेतिर ठूलो आवाजसहित बाढी आएपछि लोक्पाका बासिन्दा ज्यान जोगाउन भागेको स्थानीय सेराप गुरुङले बताउनुभयो ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारका जगत, सल्लेरी, सिर्दिवास, खोर्लावेशी, माछाखोला, सोती, आर्खेत र आरुघाटबा बासिन्दालाई माइकिङ तथा फोनमार्फत सुरक्षित स्थानमा सर्न भनिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कडेलले जानकारी दिनुभयो ।
“नदी थुनिने र एक्कासी खुल्ने अवस्थाले जोखिम बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान, सुरक्षित स्थानमा बस्न र सुरक्षाकर्मीको सूचनालाई पालन गर्न आग्रह गरिएको छ,” उहाँले भन्नुभयो ।







