- प्रतीक्षा आले/रासस
गोरखा, २५ असोजः चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले राससलाई बताउनुभयो ।
आज बिहान ४ः०० बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए ।
चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको उहाँले बताउनुभयो ।
बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिनुभयो ।
हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन भने क्षतिको विस्तृत विवरण पनि प्राप्त हुन बाँकी छ ।
उद्धारका लागि सुरक्षाकर्मी र स्थानीय प्रशासन परिचालन
बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगाएको छ । बुढीगण्डकीमा आएको बाढीले घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको र नदीको बहाव निरन्तर बढिरहेको छ ।
गृहमन्त्री सुधन गुरुङले घटनालगत्तै उद्धार, राहत तथा प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको जानकारी दिनुभएको छ ।
उद्धार कार्यका लागि हेलिकप्टरसमेत घटनास्थलमा परिचालन भइसकेको गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
गृहमन्त्री गुरुङले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको छ ।
उहाँले प्रभावित क्षेत्रका बासिन्दालाई धैर्य राख्न र सुरक्षित रहन अनुरोध गर्दै आपत्कालीन सहायताका लागि गृह मन्त्रालयको टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्नसमेत आग्रह गर्नुभएको छ ।







