काठमाडौँ, १० कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २०७५ सालको बडा दशै, तिहार, नेपाल सम्वत ११३९ को नयाँ वर्ष, छठ र ईदको अवसरमा राजधानीमा आयोजना गरेको चियापान कार्यक्रम सम्पन्न भएको छ ।
चियापान समारोहमा आयोजक नेकपाका संयुक्त अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांस्कृतिक पर्वले नेपालीलाई एकीकृत गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने प्रेरणा प्रदान गरेको बताउनुभएको छ ।
चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल जातीय, भाषिक, धार्मिकरुपमा विविधतायुक्त देश रहेको र त्यसले एकताको सूत्रमा बाँधेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, “एकअर्काको संस्कृतिप्रति सम्मान, सहयोग, सद्भावना व्यक्त गर्ने हाम्रो मौलिक सांस्कृतिक विविधता रहेको छ । यसलाई नेपालीले गौरव गर्न सक्छन्, गौरवान्वित भएका छन् ।” नेपाल जनसङ्ख्या र भौगोलिक सीमाले ठूलो नभए पनि बहुजाती, बहुभाषी, एवं बहुसांस्कृतिक विविधताले युक्त मुलुक रहेको र सबै जातजातीबीच सद्भावसमेत रहेको उल्लेख गर्नुभयो ।
नेपाल राजनीतिकरुपमा नयाँ कालखण्डमा प्रवेश गरेको र समाजवादको नयाँ युगमा जाने भनेर संविधानमा नै लिपिबद्ध गरिएको भन्दै अध्यक्ष दाहालले आर्थिक विकास र समृद्धिको यात्रा नै आफूहरुको कार्यभार रहेको बताउनुभयो ।
तत्कालीन नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र)बीच एकता भई बनेको नेकपाले पहिलो पटक आयोजना गरेको चियापान कार्यक्रम देशभर नै आयोजना भइरहेको र त्यसले राजनीतिक सक्रियतासमेत बढाएको उल्लेख गर्नुभयो । प्रदेश र स्थानीय तहमा पार्टी एकताको काम ढिलो भए पनि समाजमा राजनीतिक गतिविधि र कार्यक्रमलाई जीवन्तता प्रदान गरेको उहाँको भनाइ थियो ।
चियापान कार्यक्रममा प्रम ओली अनुपस्थित
कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहनुभयोे । प्रधानमन्त्री ओली केहीदिनदेखि विरामी हुनुभएकोले चिकित्सकहरुको सल्लाह अनुसार भीडभाडमा ननिस्कनुभएको हो । उहाँलाई रुघाखोकी, ज्वरो र भाइरल भएको स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभयो। यद्यपि कार्यक्रममा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य भने उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल,माधवकुमार नेपाल,पूर्व सभामुख सुभाष नेम्बाड.,लगायतका नेकपाका नेताहरु उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमम रा नेकपाका सचिवालय र केन्द्रीय सदस्यहरु,मन्त्री र सांसदहरु, प्रदेशका मुख्यमन्त्री र सांसदहरु सहित ठुलो संख्यामा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
५० हजारलाई निम्ता दिइएको चियापान कार्यक्रम व्यवस्थापन गर्न करिब तीन सय स्वयंसेवक खटाइएको थियो।
चियापानमा सर्वसाधारण र कार्यकर्ताका लागि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । उनीहरुको लागि चियापान स्टल अलग राखिएको थियो । ३ बजेपछि भीआईपी र विदेशी कुटनीतिज्ञहरुका लागि समय निर्धारण गरिएको थियो । उनीहरुको लागि चियापान स्टल अलग्गै व्यवस्था गरिएको थियो ।
चियापानमा प्रतिपक्षी दलका पदाधिकारी
चियापान कार्यक्रममा संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा सहभागी हुनुभयो । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि,केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी लगायतका नेताहरु पनि चियापानमा सरिक हुनुभएको थियो । पूर्वप्रधानमन्त्री देउवाले संचारकर्मीलाई देशलाई विकास र समृद्धिको मार्गमा लैजान राजनीतिक एकताको खाँचो रहेको र त्यो सत्तापक्षको हातमा रहेको संक्षिप्त प्रतिक्रिया मात्र दिनुभयो।
कार्यक्रममा सत्ता साझेदार सहित संसदमा प्रतिनिधित्व गर्ने र नगर्ने विभिन्न दलका प्रतिनिधिहरु सहभागी हुनुभएको थियो ।
चियापान कार्यक्रममा नेपाल भ्रमणमा रहनुभएका भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी)का महासचिव सीताराम यचुरी पनि सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा नेपालमा रहेका विभिन्न कुटनीतिक नियोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरू विशिष्ट श्रेणीका कर्मचारीहरु पनि सहभागी हुनुहुन्थ्यो।