Prakash Adhikari October 21, 2026

ललितपुर, ३ कात्तिक : महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ । आसुरी प्रवृत्तिको प्रतीकमाथि सत्यको विजय भएको सम्झनामा प्रत्येक वर्ष महानवमीको दिन यो जात्रा मनाउने परम्परा रहिआएको छ ।

मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठका अनुसार नवमीको दिन बिहान ५ः०० बजे पाटन मङ्गलबजारको मूलचोकबाट खड्ग लिएर महालक्ष्मी मन्दिरमा आएर पूजा सुरु भएको थियो ।

“पाटन दरबार क्षेत्रको लिच्छविकालीन मनमानेश्वरी देवीको सञ्चालन गुठी ‘मू छेँ आँगन घर’ बाट धार्मिक विधिपूर्वक पूजापाठ गरी झाँकी र बाजागाजासहित देवगणहरू महालक्ष्मी मन्दिरमा आउने काम भयो, त्यहाँ तान्त्रिक विधिबाट देवीको शक्ति आह्वान गरी पूजा सम्पन्न भएपछि देवगण तथा गुठियारहरूले हात–हातमा प्राचीन खड्ग (तरबार) बोकेर नगर परिक्रमा गरी पुनः मुलचोकमा फर्किए”, उहाँले भन्नुभयो ।

घटस्थापनादेखि नै विधिवत् रूपमा सुरु हुने यस जात्राको विशेष रौनक भने महाअष्टमी र महानवमीका दिन देखिने मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका सचिव बुद्धीराज शाही । उहाँका अनुसार पाटन दरबार स्क्वायरमा रहेको तलेजु भवानीको शक्तिको रूपमा लिइने प्राचीन खड्गसहित राँगो बोका र हाँसलाई अष्टमीको मध्यरातमा पाटनको मुलचोकमा दर्शन गराएर महालक्ष्मी मन्दिर पु¥याई महानवमीको दिन बिहान तन्त्र साधना र बलिपूजा गरिन्छ । त्यसपछि उक्त खड्गलाई पुनः पाटन दरवारको मूलचोकमा ल्याउने परम्परा रही आएको छ ।

विभिन्न प्रक्रिया पूरा गरी टीकापछिको त्रयोदशीका दिन जात्रा विधिवत सम्पन्न गरिन्छ । लिच्छिविकालिन राजा मानदेवको नाति बसन्तदेवको पालाबाट सुरु गरिएको पाटनको यस पुरानो जात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न मनमानेश्वरी देवी सञ्चालन गुठी (मू छेँ आँगन घर) लगायत विभिन्न ३२ खलकहरूको सामुहिक भूमिका रहन्छ ।
—

Share Now