भक्तपुर, ३ कात्तिक : बडा दसैँको नवौं दिन महानवमीका दिन मनाइने ३२ लक्षणयुक्त निकुथु (निक्खर) राँगो दौडाउने जात्रा सम्पन्न भएसँगै ब्रम्हायणी मन्दिरमा मेला सुरु भएको छ ।
नवदुर्गा मन्दिरबाट महिषासुरको प्रतीक मानिने निक्खर राँगो अर्थात खःमेयलाई दौडाउँदै ब्रम्हायणी मन्दिर पुर्याएर बध गरेसँगै ब्रम्हायणी मन्दिरमा जात्रा सुरु भएको हो । ब्रम्हायणीको दर्शन गर्न र मेला भर्न रातभर मन्दिरमा मेला लाग्ने गर्दछ ।
आजै व्यासी टोलबाट कालो राँगो दौडाउँदै यालाछें, बालाखु हुँदै दरबार स्क्वायरसम्म ल्याएर तलेजुमा पुर्याइ कालरात्रि पूजा गरिएको छ ।
राँगो जात्राको क्रममा स्थानीयहरूले बाटोको दुवै छेउमा बसी सुकुन्दा बत्ती बालेर राँगोको पूजा गरेका थिए । जात्रा दरबार स्क्वायरमा पुगेपछि खड्ग लिएर बसेका पूजारी ब्राह्मणले मूलचोक भित्र्याउन आदेश दिएका थिए राँगोलाई तलेजुको मूलचोकमा पुर्याएर कालरात्री मनाइएको तलेजुका पूर्वमूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।
दशैंको महाअष्टमीको अवसरमा आज तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिएर कालरात्रि मनाइएको छ । गुठी संस्थान कार्यालय अर्थात सरकारको व्यवस्थापनमा वर्षौदेखि चल्दै आएको बलि दिने परम्पराअनुसार बली पूजा गरिएको उहाँले जानकारी दिनुभयो ।
अष्टमीको कालरात्रिको पूजा अति विशिष्ट हुने गरेको जानकारी दिदै उहाँले यस रात निकुथुँ अर्थात् ३२ गुणले युक्त निक्खर कालो राँगोसहित बलि पूजा गर्ने परम्परा रहेको छ ।







