वाशिंटन(संयुक्त राज्य अमेरिका),१७ कार्तिक (बीबीसी) । टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले पत्रकार जमाल खशोग्जीको हत्याका लागि पहिलो पटक प्रत्यक्ष रूपमा साउदी सरकारमाथि आरोप लगाएका छन्।
अमेरिकी पत्रिका द वाशिङटन पोस्टमा एउटा लेख लेख्दै उनले भनेका छन्, “हामीलाई थाहा छ खशोग्जीको हत्या गर्ने आदेश साउदी सरकारको उच्च तहबाटै आएको हो।”
तर साउदी अरेबियासँगको टर्कीको ‘मित्रवत्’ सम्बन्धमा जोड दिँदै एर्दोआनले खशोग्जीको हत्यामा राजा सलमानको संलग्नता रहेको कुरामा भने आफ्नो विश्वास नरहेको बताएका छन्।
टर्कीका अनुसन्धानकर्ताहरूको विश्वास छ, निर्वासित पत्रकार खशोग्जी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास गएका बेला घाँटी अठ्याएर उनको हत्या गरिएको हुनुपर्छ।
ढाकछोप
टर्कीकी महिलासँग बिहेका लागि आवश्यक कागजातहरू लिन खशोग्जी वाणिज्य दूतावास गएका थिए।
गत अक्टोबर २ मा वाणिज्य दूतावास गएका खशोग्जी बेपत्ता भएका थिए।
उनको शव अहिलेसम्म भेटिएको छैन र टर्कीका राष्ट्रपतिका एक सहयोगीका अनुसार शव टुक्रा-टुक्रा पारी त्यसलाई एसिडमा गलाइएको हुन सक्छ।
शुरूमा साउदी अरेबियाले ढाकछोप गर्न खोजेको खशोग्जी हत्या प्रकरणले रियाद र उसका साझेदार मुलुकबीच एउटा कूटनीतिक सङ्कट निम्त्यायो।

त्यसपछि उसले सन्दिग्ध १८ जनालाई पक्राउ गरेको छ र साउदी अरेबियामै उनीहरूमाथि मुद्दा चलाइने बताएको छ।
तर आफ्नो भूमिमा हत्या भएकोले मुद्दा चलाउनका निम्ति टर्कीले उनीहरूको सुपुर्दगीको माग गरिरहेको छ।
के भने एर्दोआनले?
खशोग्जीले स्तम्भ लेख्ने गरेको वाशिङटन पोस्टमै लेख लेख्दै एर्दोआनले भनेका छन्, “हामीलाई थाहा छ साउदी अरेबियामा पक्राउ परेका १८ सन्दिग्धमध्ये नै दोषी छन्।”
“हामीलाई यो पनि थाहा छ कि उनीहरू ‘खशोग्जीलाई मारेर फर्क’ भन्ने आदेश पालना गर्न टर्की आएका थिए। अन्ततः हामीलाई थाहा भयो कि खशोग्जीको हत्याको आदेश साउदी सरकारको उच्च तहबाटै आएको हो।”

हत्यामा ‘सुरक्षा अधिकारीहरूको एउटा समूहभन्दा थुप्रैको संलग्नता रहेको’ भन्दै एर्दोआनले ‘खशोग्जी हत्या प्रकरणका नाइके’लाई पर्दाफाश गरिनुपर्ने बताएका छन्।
उनले अगाडि लेखेका छन्, “नेटोको एउटा साझेदार मुलुकको भूमिमा फेरि पनि यस्तो कृत्य गर्न कसैले दुस्साहस गर्नुहुँदैन। यदि यो चेतावनीलाई कसैले बेवास्ता गर्छ भने कठोर परिणाम भोग्नुपर्ने हुन्छ।”


















