गोरखा, ४ मंसिर । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टी एकताबद्ध भएमा कुनै पनि शक्तिले हराउन नसक्ने बताउनुभएको छ।
शुक्रबार गोरखामा आयोजित देउवा समूहको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले ८० वर्षको इतिहास बोकेको पार्टीको सदस्य हुन पाउँदा गर्व लागेको पनि उल्लेख गर्नुभयो ।
नेता कोइरालाले भन्नुभयो, ‘आउँदा दिनमा कांग्रेस एकताबद्ध भयो भने कुनै शक्तिले हराउन सक्दैन। ८० वर्षको इतिहास छ, निरन्तर इतिहास बोकेको यस्तो पार्टी विश्वमा विरलै पाइन्छ, पार्टीको सदस्य हुँ भन्दा पनि गर्व लाग्छ।’
आगामी निर्वाचनमा एकजुट भएर जान सके कांग्रेसले बहुमतको सरकार गठन गर्न सक्ने उहाँको दाबी थियो। ‘आउँदो चुनावमा टिकट एउटा मात्र हुन्छ, प्रत्यासी धेरै हुन्छन्,’ उहाँले थप्नुभयो, ‘जसले टिकट पाउँछ उसलाई जिताउनु पर्यो, मैले टिकट पाए ठिक, उसले पाए बेठिक भन्नुहुँदैन।’
उद्घाटन समारोहमा कोइरालाले पार्टीभित्र देखिएको अन्तरविरोधबारे भने खुलेर बोल्नुभएन। अरू नेताहरूलाई गाली गर्ने प्रवृत्ति आफूलाई मन नपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
‘जति गाली गर्यो उसको महत्त्व बढिरहेको हुन्छ, गाली गर्न ठीक लाग्दैन, कसैको बारे केही नभनौँ,’ कोइरालाले भन्नुभयो ‘बरु आफू के गर्न सक्छु त्यो प्रश्न आफैँसँग हुनुपर्छ, अरूलाई कुरूप देखाएर आफू सुन्दर भइँदैन।’
कांग्रेसको १५औँ नियमित गोरखा जिल्ला अधिवेशन समुद्घाटन समारोहको ब्यानरमा आयोजित कार्यक्रममा नेताहरू प्रकाशमान सिंह, एनपी साउद, मोहन बस्नेत, जितजंग बस्नेत र शंकर भण्डारीलगायतले पनि सम्बोधन गर्नुभएको थियो ।






