Prakash Adhikari November 22, 2026
काठमाडौँ, ५ मङ्सिरः राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले नेपाल र भारतबीच नयाँ हवाई रुटसम्बन्धी सम्झौताको आवश्यकतामा जोड दिनुुभएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा नेपालले पनि भारतबाट थप हवाई रुट पाउने र नेपालले पनि भारतले मागेको रुट प्रदान गर्नुपर्ने बताउनुभएको हो ।
नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप)ले शुक्रबारदेखि राजधानीमा सुरु गरेको नेपाल–भारत नीति संवादको शनिबारको सत्रमा बोल्नुहुँदै पोखरेलले नयाँ हवाई रुटको अनुमतिबाट दुवै देशले लाभ लिनसक्ने बताउनुभएको हो । उहाँले यसबाट नेपालमा बनेका नयाँ अन्तरराष्ट्रिय विमानस्थलमा भारतको हवाईजहाज अवतरण हुने परिस्थिति बन्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीको भारत भ्रमणमा विगतमा पूर्वाधार विकाससम्बन्धी सम्झौता कार्यान्वयन र गति दिने सहमति हुने कामना गर्दै नयाँ सम्झौताहरू पनि दुवै देशको हितमा हुने आशा पनि उहाँले व्यक्त गर्नुभयो । मागेर नभई साझेदारीबाट लगानीको अवसर सृजना गर्नुपर्ने बताउँदै प्रा डा पोखरेलले भारतीय कम्पनीलाई नेपालमा लगानीका लागि भित्र्याउने वातावरण बनाउन सक्नुपर्ने बताउनुभयो ।
भारतको मेघालयस्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपकुलपति प्रा डा गौरीदत्त शर्माले संस्कृति एक दिनमा निर्माण नभएको भन्दै दुवै देशबीच सांस्कृतिक समानताको गहिराइको व्याख्या गर्नुभयो । सांस्कृतिक समानताबाट दुवै देशले लाभ लिनसक्ने क्षेत्रहरू तय गरी कार्य थाल्नुपर्ने बताउनुभयो । नेपाल र भारत दुवैले आर्थिक लाभ लिनसक्ने क्षेत्र पहिचान गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।
मनमोहन टेक्निकल विश्वविद्यालयका कुलसचिव डा किशोर अधिकारीले प्रविधिको आदानप्रदानका क्षेत्र तय गरेर साझा काम गर्नुपर्नेमा जोड दिनुभयो । देवनागरी लिपिमा प्रविधिसम्बन्धी कार्यहरू गर्नसके दुवै देशको सम्बन्ध अझ प्रगाढमात्र नभई प्रचुर लाभ लिन सकिने उहाँको भनाइ थियो । विश्वविद्यालयहरूबीच साझा अनुसन्धानका कार्यक्रम विकास गरिएमा सम्बन्ध अझ प्रगाढ हुने पनि उहाँले बताउनुभयो ।
ऊर्जा उत्पादनमा सक्रिय पुष्पज्योति ढुङ्गानाले जलस्रोत विकास परस्पर समझदारीबाट गरिनुपर्ने बताउनुभयो । नेपालको विद्युत् उत्पादनलाई भारतले निर्वाध बजार उपलब्ध गराएमा दुवै देशको हित हुने उहाँको भनाइ थियो । नेपालका लागि विद्युत् बजार भारत भएकाले आपसी समझदारीका थप प्रयास गरिनुपर्ने उहाँको भनाइ छ ।
गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा डा इन्द्रप्रसाद तिवारीले दुई देशबीचको परस्पर समझदारी र सम्बन्धको व्याख्या गर्दै नेपाल र भारतबीच विश्वासलाई थप बलियो बनाउने विषय निकै महत्त्वपूर्ण भएकामा जोड दिनुभयो । नेपाल र भारतका विज्ञहरू सम्मिलित यो नीति संवाद आइतबारसम्म सञ्चालन हुने प्रतिष्ठानका अध्यक्ष सह प्रा डा प्रेमराज न्यौपानेले राससलाई जानकारी दिनुभयो ।
Share Now