Prakash Adhikari November 22, 2026

काठमाडौँ, ५ मङ्सिर: चितवन राइनोजका तीव्रगतिका बलर रिजन ढकाल तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतियोगितामा १७ विकेट लिएका ढकालले सर्वोत्कृष्ट नेपाली खेलाडीको उपाधिसहित ओमोडा एन्ड जाएको एक थान कार पुरस्कार प्राप्त गरेका छन् । उनले प्रतियोगिताको उत्कृष्ट बलरको उपाधिसमेत जित्दै एक थान पल्सर मोटरसाइकल प्राप्त गरेका गरे ।

त्यसैगरी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताको ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भए । उनले तीन अर्धशतकसहित २१८ रन बनाउनाका साथै छ विकेट लिएका थिए । यस उपाधिसँगै उनले रु पाँच लाख नगद पुरस्कार प्राप्त गरे ।

चितवन राइनोजका श्रीलङ्काली ब्याटर कमिल मिसारा ‘रेड बुल इनर्जेटिक प्लेयर’ घोषित भए । उनले रु दुई लाख पुरस्कार प्राप्त गरे । विराटनगर किङ्सका लोकेश बम प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर घोषित भएका छन् । उनले २४२ रन बनाएका थिए । यस उपाधिसँगै उनले पल्सर मोटरसाइकल प्राप्त गरे ।

जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले ‘इमर्जिङ प्लेयर’को अवार्ड जितेका छन् । उनले पनि पल्सर मोटरसाइकल प्राप्त गरे ।

सुदूरपश्चिम रोयल्सलाई उपाधि दिलाउन योगदान गरेका जर्ज मुन्से फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भए भने उपविजेता लुम्बिनी लायन्सले ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्राप्त गर्‍यो ।

गत कात्तिक ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको थियो । फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि हात पारेको हो । उपाधिसँगै सुदूरपश्चिमले रु एक करोड ५० लाख पुरस्कार प्राप्त गर्दा उपविजेता लुम्बिनीले रु ८० लाख पायो ।

प्रतियोगितामा तेस्रो भएको चितवन राइनोजले रु ४० लाख र चौथो भएको काठमाडौँले रु ३० लाख पुरस्कार प्राप्त गरे ।

Share Now