प्यारिस(फ्रान्स), २५ कार्तिक(बीबीसी) । फ्रान्सको प्यारिसमा प्रथम विश्वयुद्ध अन्त्य भएको सम्झौतामा हस्ताक्षर गरिएको एकसय वर्ष पुगेको सम्झनामा प्यारिसमा आयोजित एउटा समारोहमा विश्वका नेताहरू सहभागी हुँदैछन्।
आर्क डि ट्रीओम्फ स्मारकमा आयोजित स्मृतिसभामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी भएका थिए।

विश्वका अन्य भागहरूमा अन्य कैयौँ कार्यक्रमहरू भइरहेका छन्।
सन् १९१४ देखि १९१८ सम्म चलेको प्रथम विश्व युद्धका क्रममा झण्डै ९७ लाख सैनिकहरूले ज्यान गुमाए भने करिब १ करोड गैरसैनिकहरू मारिएका थिए।
आह्वान
सम्बोधनका क्रममा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले त्यहाँ उपस्थित विश्व नेताहरूलाई शान्तिका निम्ति एउटा संयुक्त लडाइँमा सहभागी हुन आह्वान गरे।
एकअर्काविरुद्ध आफूभित्र रहेको डर राख्नुको साटो आशाहरू जगाउन उनले आह्वान गरे।
माक्रोँले उनकै शब्दमा देशभक्ति राष्ट्रवादको ठ्याक्कै विपरीत भएको बताए।

विश्वका झण्डै ७० देशका नेताहरू पहिलो विश्व युद्ध सकिएको १०० वर्ष पुगेको सम्झनामा आयोजित समारोहहरूमा सहभागी हुन फ्रान्स पुगेका छन्।
स्मृतिसभा आयोजना
प्रथम विश्वयुद्ध अन्त्य भएको दिनको सम्झनामा आयोजित मुख्य कार्यक्रमको नेतृत्व राष्ट्रपति माक्रोँले गरेका थिए। एकजना अज्ञात सैनिकको समाधिस्थलमा स्मृतिसभा आयोजना गरिएको थियो।

स्थानीय समयअनुसार आइतबार अपरान्ह माक्रोँ तथा जर्मन चान्सलर एंगेला मेर्कल एउटा शान्ति सम्मेलन- प्यारिस पिस फोरममा सहभागी हुँदैछन। सो सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा टर्कीका राष्ट्रपति रेजेप ताय्यिप एर्दोआन पनि सहभागी हुँदैछन्।
शनिवार माक्रोँ तथा मेर्कल उत्तरी फ्रान्समा रहेको कोङपिएन नगरमा पुगेका थिए। सन् १९१८ मा युद्ध अन्त्य भएको सम्झौता एउटा रेलमा गरिएझैँ सांकेतिक रूपमा रेलमा बसी माक्रोँ तथा मेर्कलले त्यहाँ स्मृतिपुस्तिकामा हस्ताक्षर गरे।
तर अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धमा ज्यान गुमाएकाको समाधिस्थलको उनको पूर्वनिर्धारित भ्रमण खराब मौसमका कारण स्थगन गरेपछि विवाद निम्तियो।
प्रथम विश्वयुद्ध अन्त्यको सम्झना
मेलमिलापपूर्ण व्यवहार देखाउँदै फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँ र जर्मन चान्सलर एंगेला मर्केलले प्रथम विश्व युद्ध अन्त्य भएको दिनको सम्झना गरेका छन्।सन् १९१८ मा युद्ध अन्त्य भएको सम्झौता एउटा ट्रेनमा गरिएझैँ प्रतीकात्मक रूपमा ट्रेनमा बसी दुई नेताले स्मृतिपुस्तिकामा हस्ताक्षर गरे।प्रथम विश्वयुद्ध अन्त्य भएको दिनको सम्झनामा फ्रान्समा भइरहेका कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसहितका विश्व नेताहरू सहभागी हुँदैछन्।तर ट्रम्पले फ्रान्सस्थित एउटा अमेरिकी चिहानस्थलको पूर्वनिर्धारित भ्रमण रद्द गरेपछि विवाद निम्तियो।
प्रतिरक्षा
खराब मौसमका कारण हेलिकप्टर अवतरण हुन नसक्ने भएर एवम् सुरक्षाका कारण राष्ट्रपतिले आफ्नो भ्रमण रद्द गरेको ह्वाइट हाउसले जनाएको छ।त्यसअघि युरोपेली मुलुकहरूको प्रतिरक्षासम्बन्धी विषयलाई लिएर ट्रम्प र माक्रोँबीच विवाद भएको थियो।माक्रोँले रुससँगको एउटा निरस्त्रीकरण सन्धिबाट अमेरिका अलग्गिन लागेकोले युरोपेली सङ्घलाई अब संयुक्त सेनाको आवश्यकता पर्ने बताएका थिए।
ट्रम्पले माक्रोँको भनाइ अपमानजनक भएको भन्दै युरोपले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) लाई आफ्नो आर्थिक हिस्सा चुकाउनुपर्ने टिप्पणी गरे।फ्रान्सेली राष्ट्रपतिको निवास एलिसी प्यालेसमा ट्रम्पसँगको एउटा बैठकपछि बोल्दै माक्रोँले नेटोलाई युरोपले थप रकम तिर्नुपर्नेमा सहमति भएको बताए।
मेलमिलाप
प्रथम विश्वयुद्ध अन्त्य भएको सम्झौतामा हस्ताक्षर गरिएको फ्रान्सको कम्पेनिया शहरदेखि नजिकै पर्ने एउटा जङ्गल पुग्ने मर्केल द्वितीय विश्वयुद्धपछिको पहिलो जर्मन नेता हुन्।मर्केल र माक्रोँले फ्रान्स-जर्मनीबीच मेलमिलाप दर्शाउने एउटा शिलालेखको अनावरण गरे।र, एक सय वर्षअघि एउटा ट्रेनमा युद्धविराम सम्झौता गरिएझैँ दुई नेताले प्रतीकात्मक रूपमा ट्रेनमै स्मृतिपुस्तिकामा हस्ताक्षर गरे।



















