याड.गुन(म्यानमार),२७ कार्तिक । एएफसी महिला ओलम्पिक छनौटको पहिलो चरण अन्तरगत आज नेपालले तुलनात्मक रुपमा कमजोर देखिएको बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ ।
म्यानमारको राजधानी यांगुनस्थित थुवुन्ना स्टेडियममा नेपाली समयअनुसार दिउसो २ः१५ मा सुरु हुने खेलमा नेपाल जित्नुपर्ने दबावमा छ ।
हालसम्मका दुई खेलमा नेपालले लगातार अंक बाँडेको छ । छनौट खेलतर्फ समूह सी मा रहेको नेपालले आइतबार आयोजक म्यानमारसँग १–१ को बराबरी खेल्दै अँक बाँडेको हो ।
यसअघि आफ्नो पहिलो खेलमा पनि नेपालले भारत विरुद्ध शुरुवाती गोलको अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको थियो ।
यो नतिजासँगै २ खेलबाट २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ र दोस्रो चरणमा पुग्ने सम्भावना केही कठिन मोडमा छ। उता ४ अंक जोडेको म्यानमार भने दोस्रो स्थानमा छ । त्यस्तै आइतबार नै बंगलादेशलाई ७–१ ले हराएको भारतको पनि समान ४ अंक छ तर राम्रो गोल भिन्नताका आधारमा शिर्ष स्थानमा छ । अंकविहीन बंगलादेश भने पुछारमा छ ।
आजै भारत र म्यानमारेबीच पनि खेल हुनेछ र जसले जिते पनि समूह चरणबाट दोस्रो चरणमा सीधै प्रवेश पाउनेछ ।
नेपालले राम्रो गोल अन्तरले बंगलादेशलाई पराजित गरेमा दोस्रो भएर समूहको उपविजेता बन्ने संभावना भने जिवितै रहनेछ ।
भारत र म्यानमारबीच अंक बाडिएमा भने नेपाललाई समस्या पर्नेछ ।