Prakash Adhikari November 13, 2018

 

थुवुन्ना रंगशाला, यांगून(म्यानमार),२७ मंसिर । नेपाली महिला फुटबल टोली टोकियो ओलम्पिकका लागि एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

एशियाली छनोट प्रतियोगिताको समूह सीमा रहेको नेपालले समूहका तीनै खेलमा एक एक गोलको बराबरी खेलेर ३ अंक जोड्दै दोश्रो चरणमा प्रवेश पाएको हो ।

म्यानमारको थुवुना रंगशालामा नेपालले १७औं मिनेटमै अग्रता लिएको थियो ।नेपालका लागि निरु थापाले गोल गरेकी थिइन् । तर, खेलको अन्तिम मिनेटमा गोल खाएसँगै नेपालले लगातार तेस्रो खेलमा पनि अंक बाँड्नुपर्यो ।

खेलको इन्ज्यूरी समयको तेस्रो मिनेटमा बंगलादेशकी अखिल खातुनले गोल गरेकी थिइन् ।

यसअघि भारतसँगको पहिलो खेल तथा म्यानमारसँगको दोस्रो खेलमा पनि नेपालले बराबरीको नतिजा निकालेको थियो ।

तीनै खेलमा नेपालले एक एक गोलको बराबरी खेल्यो ।

दोस्रो चरण छनोटबाट तीन टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् ।

दोस्रो चरणका तीन विजेतासँगै अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

तेस्रो चरणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन् । चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ ।

जसबाट विजयी हुने दुई टिम ओलम्पिकका लागि छानिनेछ । ओलम्पिक २०२० को एशियाली छनोट अन्तर्गत दोस्रो चरणको खेल २०१९ अप्रिल १ देखि ९ सम्म हुनेछ ।

Share Now

Leave a comment.