काठमाडौँ, २८ कार्तिक । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि १ अर्ब १७ करोड बराबरको ११ करोड ७० लाख कित्ता सीमित साधारण शेयर(आइपिओ) बिक्री खुल्ला गरेको छ ।
कम्पनीले पहिलो चरणमा १०० अङ्कित दरका १ करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो ।
यस मध्ये कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि १ करोड १७ लाख आजदेखि बिक्री हुँदैछ ।
निष्कासन प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले सार्वजनिक गरेको कम्पनीको विवरण पत्रमा जनाइए अनुसार सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुले न्यूनतम ५० देखि अधिकतम ५०० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । आवेदन दिने अन्तिम मिति मंसीर १४ गते कायम गरिएको छ ।
कम्पनीले त्यसपछि संस्थापक सङ्गठित संस्थाका कर्मचारी र ऋणदाता कर्मचारीका लागि छुट्टयाएको शेयर विक्री गर्नेछ । आयोजनाको संस्थापक संस्थाका कर्मचारीको लागि लागि २१ लाख कित्ता र ऋणदाता संस्था सञ्चयकोषका कर्मचारीका लागि ६ लाख कित्ता शेयर छुट्याएको छ ।कम्पनीको विवरणपत्रमा जनाइए अनुसार यी कर्मचारीहरुको लागि मंसीर १९ देखि मंंसीर २६ सम्म शेयर बिक्री खुल्ला गरिनेछ । ऋणदाता संस्था कर्मचारी संचय कोष र संस्थापक संस्थाका कर्मचारीहरुले न्यूनतम ५० कित्ता र अधिकतम १ हजार २ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १ सय २ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी ६ अर्ब २१ करोड रहेको छ भने जारी पूँजी रु ६ अर्ब रहेको छ । कम्पनीको जारी पूँजीको ५१ प्रतिशत शेयर स्वामित्वमा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनीलगायत रहेका छन् ।
कम्पनीमा प्राधिकरणको दश प्रतिशत, चिलिमेको ३७ प्रतिशत सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडको समान एक÷एक प्रतिशत शेयर स्वामित्व रहेको छ ।
यस्तै ४९ प्रतिशत सर्वसाधारण शेयरधनी समूहमा कोषका सञ्चयकर्ताको १९ दशमलव ५, संस्थापक सङ्गठित संस्थाका कर्मचारीको ३ दशमलव ५, ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत, सिन्धुपाल्चोक जिल्लाका स्थानीयवासीको १० प्रतिशत र आम सर्वसाधारणको १५ प्रतिशत शेयर रहने गरी छ्ट्याइएको छ ।
कम्पनीको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिल रहेको छ । सह बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआइविएल एस क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिविआएल क्यापिटल छन् ।