Prakash Adhikari November 30, 2018

 

काबुल(अफगानिस्तान),१४ मंसिर(बीबीसी) । अफगानिस्तानको काबुलमा बुधवार भएको आक्रमणमा ११ नेपाली नागरिक घाइते भएको पुष्टि भएको छ।

उनीहरू कार्यरत रहेको ब्रिटिश सुरक्षासम्बन्धी कम्पनी जीफोरएसले घटनामा परेका व्यक्तिका परिवारलाई सूचित गरिएको जनाएको छ।

अफगानिस्तानका एक सरकारी अधिकारीका अनुसार सो घटनामा चार विदेशीसहित कम्तीमा १० जनाको ज्यान गएको थियो।

आन्तरिक मामिला मन्त्रालयले घटनामा ११ नेपाली र पाँच ब्रिटिश नागरिक घाइते भएका छन्।

जीफोरएसको कार्यालय परिसरमा भएको आक्रमणको जिम्मा तालिबानले लिएको छ।

अफगान अधिकारीहरूका अनुसार कार बम विस्फोट गराएपछि पाँचजना सशस्त्र आक्रमणकारीहरू जीफोरएसको परिसरमा प्रवेश गरेका थिए।

त्यसपछि दुई पक्षबीच निकै धेरै गोली हानाहान भएको थियो।

तारोमा विदेशी

घटना हुँदा सो स्थानमा ३३० व्यक्ति रहेका थिए। तीमध्ये अधिकांश विदेशी थिए।

आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ।

जीफोरएस विश्वकै सबभन्दा ठूलो सुरक्षा कम्पनीमध्ये एक हो। उसले ब्रिटिश दूतावास वरपरको क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छ।

अफगानिस्तान
पछिल्लो हिंसा राष्ट्रपति अशरफ गनीले तालिबान समूहसँग शान्ति सम्झौताका लागि योजना अघि सारेको केही घण्टामा भएको हो।

अफगानिस्तान
अफगानिस्तानमा कति छन् नेपाली?
द्वन्द्वग्रस्त अफगानिस्तानमा उल्लेख्य सङ्ख्यामा नेपालीहरू पनि कार्यरत छन्।

तीमध्ये कतिपय सुरक्षा क्षेत्रमा संलग्न छन्।

यसअघि सन् २०१६ को जुनमा राजधानी काबुलमा गरिएको एउटा आक्रमणमा १२ जना नेपाली मारिएका थिए।

सो आक्रमणलाई आतङ्कवादी घटना भन्दै नेपाल सरकारले त्यसको भर्त्सना गरेको थियो।

वैदेशिक रोजगारीको लागि औपचारिक रूपमा खुल्ला नगरिएको अफगानिस्तानमा नेपाली कति सङ्ख्यामा छन् भन्ने स्पष्ट छैन।

अफगानिस्तानमा सङ्घर्ष चर्किनुका पाँचवटा प्रमुख कारण छन्

संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०१७ मा अफगानिस्तानमा १० हजारभन्दा बढी मानिसहरू मारिएका थिए।

सन् २०१८ मा त्यो सङ्ख्या अझ बढ्नसक्छ।

१. सरकारी फौज र लडाकु दुवै पक्षले आ-आफ्नो प्रभाव र थप क्षेत्रमा नियन्त्रण बढाउन प्रयत्नशील छन्।

२. सन् २००१ को अमेरिकी रणनीतिको प्रभावकारितामाथि प्रश्न उठाइएको छ। एक दशकअघि अमेरिका र अफगान सरकारले अफगानिस्तानमा १५ हजार लडाकु भएको अनुमान गरेका थिए। अहिले तिनीहरूको सङ्ख्या ६० हजार पुगिसकेको अनुमान छ।

३. अफगानिस्तानमा इस्लामिक स्टेट समूहको उदयसँगै त्यहाँ हिंसा र बर्बरता बढेको छ। पछिल्ला हिंस्रक आक्रमणहरूको सोही समूहले जिम्मेवारी लिने गरेको छ।

४. त्यसपछि वार्ताको कुराले महत्त्व पाएको हो। तर तालिबानले त्यसबाट फाइदा लिन चाहेको देखिन्छ।

५. अमेरिका र अन्य देश (पाकिस्तान, रुस र इरान) बीचको तनावले नकारात्मक असर परेको छ। अमेरिकी र अफगान सरकारले ती तीनवटै मुलुकले तालिबानलाई सघाएको आरोप लगाउने गरेका छन्।

Share Now

Leave a comment.