काठमाडौं, १३ मंसिर । मंसिर ११ गते साँझसाढे ६ बजे देखि अपहरणमा परेका गोंगबूका ८ वर्षीय प्रयास कुँवर घाटी थिची हत्या गरिएको अवस्थामा फेला परेका छन् ।
चार वर्षदेखि गोंगबुमा स्वस्तिका गेस्ट हाउस सञ्चालन गर्दै आएका प्रवीण कुँवरका बालक छोरा मंगलबार अचानक बेपत्ता भएका थिए ।
उनलाई कुँवरको गेस्ट हाउसमा डाईभरको काम गर्ने महेन्द्र सार्कीले अपहरण गरि हत्या गरेको खुलासा भएको छ । सार्कीी एक महिनाअघि काम खोज्दै कुँबरको गेष्ट हाउमा आइपुगेका थिए। स्याङ्जाबासी नै रहेका कारण कुँवरले गेस्ट हाउसमा काम दिएका थिए।
महानगरीय अपराध महाशाखाका अनुसार २२ वर्षीय सार्की राम्रोसँग काम गर्थेनन्। सधैंजसो काममा ढिलो आउँथे। राम्ररी काम नगरेपछि सञ्चालक कुँवरले सार्कीलाई कामबाट निकालिदिने धम्की दिइरहेका थिए।
मंसिर ११ गते पनि कुँवरले सार्कीलाई चेतावनी दिएका थिए। सोही चेतावनीको प्रतिशोध लिन सार्कीले उनका छोराको अपहरण योजना बनाएको महाशाखा प्रमुख धीरजप्रताप सिंहले बताए।
सिंहका अनुसार मिठाइ खुवाउने भनेर फकाएर सार्कीले बालकलाई उठाएका थिए। त्यसैदिन राति रानीबारीको जंगल लगेर सार्कीले बालकको घाँटी थिचेर हत्या गरेको सिंहले बताए।
बालक र सार्की सँगसँगै बेपत्ता भएको भोलिपल्ट प्रहरीलाई खबर गरिएको थियो। खबर पाउनेवित्तिकै अपराध महाशाखाको टोली सार्कीको खोजी थाल्यो ।
सार्कीलाई बिहीबार गोंगबुस्थित डेराबाटै प्रहरीले समात्यो। तर, सार्की समातिएपछि अनुसन्धान गर्दा अपहरण गरेकै राति बालकको हत्या गरेको खुल्यो।
महाशाखाका अनुसार परिवारका सदस्य नभएको मौका छोपेर स्वस्तिका त्रिवेणी गेस्ट हाउसबाट चकलेट खान दिई फकाए होटलकै गाडीमा लगेका थिए।
अनुसन्धान अनुसार सार्कीले बालकलाई गेस्ट हाउसकै गाडीमै राखेर मित्रनगरस्थित बिआर फेन्सी स्टोर र नजिकैको अर्को कपडा पसलमा लगेका थिए। त्यहाँ सार्कीले प्लाष्टिकका दुई वटा जेब्रा झोला किनेर लगेका थिए।
त्यही दिन बेलुका ६ः४५ बजे सार्कीले बालकलाई नागार्जुन जंगलमा लगी गाडीभित्रै बालकको नाकमुख र घाँटी थिची हत्या गरेका थिए। हत्यापछि बालकको शव झोलामा प्याक गरेर म्हेपीस्थित सामाखुसी खोलामा फ्याँकेका थिए।
सिंहका अनुसार शव फ्याँकेपछि गाडी लिएर सार्की होटल फर्केका थिए। फर्केपछि बालकका बुबालाई भेटेर सार्कीले खोजतलास गर्न सहयोग समेत गरेका थिए। सार्कीले बालकको हत्या स्वीकार गरिसकेका छन्।