हंगकंग, २३ मंसिर । गैर आवासीय नेपाली संघ एसिया प्यासेफिकको छैठौ क्षेत्रीय सम्मेलन तथा प्रथम महिला सम्मेलन हङकङमा आरम्भ भएको छ ।
नेपाल सरकारको तर्फबाट कृषि मन्त्री चक्रप्राणी खनालले हार्वर ग्राण्ड कौलँन होटलमा सम्मेलनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा एनआरएन हङकङले बाजागाजाका साथ भब्य रुपमा अतिथिहरुलाई स्वागत गरेको थियो ।
सम्मेलनमा आयोजक समितिको तर्फबाट एनआरएन हङकङ अध्यक्ष राधिका गुरुगं (टिका) ले सम्मेलनको महत्वमाथि प्रकाश पार्दै स्वागत गर्नुभएको थियो । सम्मेलनमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो र पूर्व अध्यक्ष शेष घले, वर्तमान अध्यक्ष भवन भट्टसहित आमन्त्रित विशिष्ट अथितिहरुले मन्तव्य राख्नुभएको थियो ।
सम्मेलनमा अहिलेसम्म एनआरएन आइसिसीको तर्फबाट उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, महासचिव बद्री केसी, ओसनीय क्षेत्रका क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरएन युरोप क्षेत्रका क्षेत्रीय संयोजक शिवकुमार बरुवाल, एनआरएन प्रवक्ता भुषण घिमिरे, एनआरएन युवा संयोजक सुदन थापा, एनआरएन महिला उपाध्यक्ष सपिला राजभण्डारी, महिला फोरम संयोजक रजनी प्रधान, एनआरएन बेल्जियम अध्यक्ष लोकप्रसाद दाहाललगायतको सहभागिता छ । विभिन्न नेशनल कोअर्डिनेसन काउन्सिलबाट ३ सय भन्दा बढी प्रतिनिधि सहभागी बनिरहनुभएको छ ।
समृद्ध नेपालका लागि लगानी र रोजगार, दायित्व सहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने प्रमुख नाराको साथ आरम्भ भएको सम्मेलनमा वक्ताहरूले नेपालमा लगानी बढाउने र रोजगारका अवसर सृजना गर्ने विषयमा चर्चा गरेका छन्।
एनआरएन एशिया प्यासेफिक सम्मेलनको अर्को आकर्षण प्रथम महिला सम्मेलन पनि हो । सम्मेलनमा नेपालमा महिलालाई उद्यम र नेतृत्व विकासमा कसरी सहयोग पु¥याउने भनेर छलफल हुने छ ।
आगामी अधिवेशनबाट एनआरएनमा नयाँ कार्यकालका लागि नेतृत्व चयन हुने भएकाले पदाधिकारीका आकांक्षीहरुले यो सम्मेलनलाई राम्रोसंग उपयोग पनि गरिरहेका छन् । वर्तमान अध्यक्ष भवन भट्ट केही नतिजामूलक काम देखाउन आफै दोहोरिने मनशाय व्यक्त गरिहनुभएको छ भने अघिल्लै अधिवेशनमा अध्यक्षको दाबी गर्नुृभएका कुमार पन्त अहिले मौका नगुमाउने निष्कर्षमा पुग्नुभएको छ । अध्यक्षका अर्का आकांक्षी उपाध्यक्ष कुल आचार्य, महासचिव डाक्टर बद्री केसी, सकिला राजभण्डारीले पनि यो सम्मेलनलाई आफ्नो प्रचार प्रसार गर्ने थलोको रूपमा प्रयोग गरिरहनुभएको छ ।
सम्मेलनमा नेपालका उद्योगपति र व्यापारी समुदायको पनि उल्लेख्य उपस्थिति रहेको छ ।