Prakash Adhikari December 9, 2018

कीर्तिपुर(काठमाडौं), २३ मंसिर । एभरेष्ट प्रिमियर लिग अन्तरगत आईतबार भएको दोस्रो तथा प्रतियोगिताको तेस्रो खेलमा भैरहवा ग्लाडियटर्सले पोखरा राईनोजलाई ४ विकेटले पराजित गरेको छ ।

पोखरा राइनोजले दिएको २ सय १६ रनको कीर्तिमानी लक्ष्य भैरहवाले ६ विकेट गुमाउदै १९ ओभरको चौथो बलमा पूरा गर्यो ।

भारतीय खेलाडी रविइन्दर सिंहको विस्फोटक सतकका मद्धतमा भैरहवाले पोखराले दिएको लक्ष्य सहजै पूरा गरेको हो। भैरहवाले १२ रनमा पहिलो विकेट गुमायो भने ४८ रन बनाउँदा ३ विकेट गुमायो। ओपनर प्रदिप ऐरी १४ रनमा आउट भए भने हरीशंकर शाहले खाता खोल्न सकेनन् ।
विदेशी खेलाडी रायन टेन डोच्टे १६ रनमा मैदानबाट हटे भने भैरहवाको स्कोर ७१ रन हुँदा कप्तान शरद भेषवाकर पनि ६ रनमा आउट भए । १ सय ७१ रन बनाउदा ६ विकेट गुमाएको भैरहवाका लागि आरिफ शेखले २३ रन बनाए ।

१६ रनमा २ विकेट झरेको अवस्थामा क्रिजमा आएका रवीइन्दरले रायन टेन डोइच्टेसँग ३२ रनको साझेदारी गरे भने आरिफ शेखसँग ८९ रनको साझेदारी गर्दै टिमको पारीलाई मजबूत बनाएका थिए । उनले ६० बलमा ८ चौका र १० छक्काको मद्दतले १ सय २५ रन बनाए । बलिङमा सुसान भारी, विक्रम सोब र पउल कोउग्लिनले दुई दुई विकेट लिएका थिए ।

पाेखरामाथि भैरहवाकाे किर्तीमानी जित, रविइन्दर नायक

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले रिचर्ड लेभीको विस्फोटक ब्याटिङका कारण २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १५ रन बनाएको थियो । पोखराको पारीको सुरुवात गर्न आएको दक्षिण अफ्रिकी खेलाडी लेभीले ३६ बलमा ७९ रन बनाएर आउट हुनुअघि पोखराको स्कोरलाई १ सय ४ पुर्याए ।

इपिएलमा पहिलो विकेटका लागि यो अहिलेसम्मको ठुलो साझेदारी हो । यो खेलले सबैभन्दा चाँडो १ सय रन पूरा गर्ने पहिलो खेलको कीर्तिमान पनि बनाएको छ । लेभीले ७ चौका र ७ छक्का प्रहार गरेका थिए । दोस्रो विकेटका लागि सुनील धमला र केली कोट्जेरले पनि ७२ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याएका थिए ।

तर धमला ३८ रनमा आउट भएपछि पोखराले १ सय ७६ रनमा दोस्रो विकेट खेर फाल्यो । लगत्तै अर्का खेलाडी केली पनि ४७ रनमा पेभेलियन फर्किदा पोखराको तेस्रो विकेट झर्यो । उत्कृष्ट सुरुवात गरेपनि पोखराले अन्तिममा एकपछि अर्को विकेट गुमाउन पुग्यो । उसका विनोद भण्डारी ७ रनमा आउट भए भने राजेश पुलामी ३ रनमा पेभेलियन फर्किए । पोखराका लागि पउल कोगलिनले २० रन बनाए भने सौरभ खनालले ७ रन बनाए ।

Share Now

Leave a comment.