Prakash Adhikari December 10, 2018

 

बेइजिड.(चीन),२४ मंसिर(बीबीसी) । आफ्नो देशको मोबाइलफोन कम्पनी ह्वावेइकी कार्यकारी मङ्ग वान्जूलाई पक्राउ गरिएकोमा आक्रोशित चीनले क्यानाडा र अमेरिकाका राजदूतलाई बोलाएर चेतावनीपूर्ण दबाब दिएको छ।

चीनले आफ्नो देशको मोबाइलफोन कम्पनी ह्वावेइकी कार्यकारी मङ्ग वान्जूलाई रिहा गर्न क्यानडालाई आग्रह गर्दै अन्यथा गम्भीर परिणामहरू हुने चेतावनी दिएको छ।

एउटा वक्तव्यमा जनाइएअनुसार चीनका उपविदेशमन्त्री ल युचङ्ले मङ्गको पक्राउलाई लिएर क्यानडाका राजदूतलाई बोलाएर कडा विरोध जनाएका छन्।

मन्त्रालयले मङ्गको गिरफ्तारीलाई ‘निकै खराब’ कदमको रूपमा ठम्याएको छ।

आरोप
ह्वावेइका संस्थापकका छोरी पनि रहेकी मङ्ग उक्त कम्पनीकी आर्थिक मामिला प्रमुख हुन्।

उनलाई इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धको उल्लङ्घन गरेको आरोप लगाइएको छ।

गत डिसेम्बर १ मा क्यानडाको भ्यानकुभरबाट ह्वावेकी आर्थिक मामिलासम्बन्धी प्रमुख मङ्ग नियन्त्रणमा लिइएकी हुन्।

जहाज परिवर्तन गर्न लाग्दा भएको गिरफ्तारी उनको अधिकारको गम्भीर उल्लङ्घन भएको टिप्पणी चिनियाँ विदेश मन्त्रालयले गरेको रोयटर्स समाचार संस्थाले जनाएको छ।


बेइजिङले अमेरिकी राजदूतलाई बोलाएर क्यानडामा पक्राउ गरिएकी चिनियाँ कम्पनी ह्वावेकी कार्यकारी अधिकारीविरुद्धको पक्राउ आदेश फिर्ता लिन वासिङ्ग्टनसँग माग गरेको छ।

अमेरिकी प्रतिक्रियाका आधारमा आफूले आगामी कदम चाल्ने पनि चीनले बताएको छ।

दुई देशबीच देखिएका व्यापारसम्बन्धी विवादहरू समाधान गर्न खोजिरहेका अमेरिका तथा चीनबीचको सम्बन्ध मङ्गको गिरफ्तारीले बिग्रिन पुगेको देखिएको छ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उनको गिरफ्तारीका पछाडि कुनै पनि राजनीति नरहेको बताएका छन्।

सुपुर्दगी
चीनका विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “चीनले गिरफ्तार व्यक्तिको तत्काल रिहाईको निम्ति क्यानाडासँग जोडदार आग्रह गर्दछ। अन्यथा क्यानाडाले गम्भीर परिणामको सामना गर्नुपर्ने कारणको पूर्ण जिम्मेवारी लिनुपर्नेछ।”

मङ्गले अमेरिका सुपुर्दगी हुनेसम्बन्धी सुनुवाईको सामना गर्नुपरेको छ। यदि अमेरिकामा दोषी प्रमाणित भएमा उनले ३० वर्षसम्म जेल सजाय भोग्नुपर्ने हुनसक्छ। उनले कुनै पनि कानुन उल्लङ्घन नगरेको कुरामा चीनले जोड दिँदै आएको छ।

शुक्रवार क्यानाडाको अदालतसमक्ष उपस्थित गराइएकी मङ्गलाई जमानतमा रिहा गर्न अनुमति दिने वा नदिने भन्ने सुनुवाईको निर्णय सोमबारसम्मको निम्ति स्थगित गरिएको छ।

उनको गिरफ्तारीले अमेरिका र चीनको सम्बन्धमा थप तनाव सिर्जना गरेको छ।

ह्वावेइ
‘जासुसी’

अमेरिकी सांसदहरूले ह्वावेइका उत्पादनहरू चिनियाँ सरकारद्वारा जासुसीका लागि प्रयोग भएको आशङ्का व्यक्त गर्दै सो कम्पनी अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि एउटा खतरा भएको विषय बारम्बार उठाउने गरेका थिए।

ह्वावेइले भने आफ्नो उपस्थिति रहेका देशका सबै कानुन र नियमको पालना गरेको बताएको छ।

अमेरिकी पक्षद्वारा कैयौँ चिनियाँ कम्पनीहरूविरुद्ध इरानमाथि लगाइएका प्रतिबन्धको उल्लङ्घन र साइबर चोरी गरेको लगायतका आरोपमा मुद्दाहरू दायर गरिएका बेला मङ्ग पक्राउ परेकी छन्।

ह्वावेइ दुरसञ्चार सेवा तथा उपकरण प्रदायक विश्वकै एउटा ठूलो कम्पनी हो। जो हालसालै एप्पललाई उछिन्दै विश्व बजारमा सामसङपछि दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी बन्न पुगेको छ।

Share Now

Leave a comment.