काठमाडौं, २४ मंसिर । केरुङ-काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदन चीनले नेपाल सरकारलाई बुझाएको छ।
काठमाडौंमा सोमबार आयोजित नेपाल–चीन रेल्वे कोअपरेशन कमिटीको तेस्रो बैठकमा चीनले सो प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो।
भौतिक तथा पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र नेशनल रेल्वे अथोरिटी चीनका उपप्रशासक आन लुसुङ नेतृत्वको सो कमिटीको बैठकमा चिनियाँ पक्षले नेपाललाई केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी प्रतिवेदन बुझाएको हो।
बैठकमा दुवै पक्षबीच सो प्रतिवेदनमा आधारित भएर विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने विषयमा पनि छलफल र सहमति गरिएको छ।
बैठकले काठमाडौं(पोखरा रेलमार्ग क्षेत्रको स्थलगत भ्रमण चिनियाँ पक्षले गर्ने निर्णय पनि गरेको छ।
त्यसका लागि आन नेतृत्वको चिनियाँ उच्चस्तरीय टोली मंगलबार रसुवा र बुधबार पोखरा जाने कार्यक्रम पनि तय भएको छ ।
१ सय ७१ किलोमिटर लामो प्रस्तावित काठमाडौं(पोखरा रेलमार्ग निर्माणका लागि चीनको सरकारी कम्पनी सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले यस अघि नै सम्भाव्यता अध्ययन गरिसकेको छ।
नौ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने योजना रहेको सो रेलमार्ग निर्माणका लागि २ खर्ब ५७ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ।
यता, केरुङ(काठमाडौं रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन छिटै तयार पार्न दुवै पक्ष सहमत भएका छन्। चीनमा आयोजना हुने सो कमिटीको आगामी बैठकले यसलाई गति दिनेछ ।


















