कीर्तिपुर(काठमाडौं) ,२४ मंसिर । एभरेस्ट प्रिमियर लिगको तेस्रो दिनको पहिलो देलमा सोमपाल कामीको कप्तानी रहेको काठमाडौँ किंग्स ११ ले आफ्नो पहिलो खेलमा पृथु बास्कोटा नेतृत्वको चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ।
यो खेलसंगै प्रतियोगितामा चितवनको लगातार दोश्रो हार ब्यहोरेको छ । सोमबार सम्पेन्न खेलमा चितवन ललितपुरसंग ११ रनले पराजित भएको थियो।
टस हारेर पहिले ब्याटिंग गर्दै चितवन टाइगर्सले दिएको १६१ रनको लक्ष्य काठमाडौँले १८.५ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो।
चितवनले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ ओपनर अमित श्रेष्ठ र सागर पुनले ३६ रनको साझेदारी गरेका थिए। अमित २४ बलमा २ चौका सहित १८ रन बनाएर सातौँ ओभरमा शाहब आलमको बलमा क्याच आउट भए। त्यसपछि आयरल्याण्ड क्रिकेट केभिन ओ ब्रायन मात्र ९ रन बनाएर शाहबकै बलमा स्टम्प आउट भए।
२ विकेट गुमाएपछि सागर पुन र नरेश बुढाएरले तेश्रो विकेटको लागि ३७ रनको साझेदारी गरे। सागर १४ औं ओभरको दोश्रो बलमा पल स्टरलिङ्गको बलमा एलबिडब्लु आउट भए। नरेश बुढाएैर पनि १५ औं ओभरको अन्तिम बलमा २२ रन बनाएर आउट हुँदा चितवन १५ ओभर सकिदा ११५।४ को अवस्थामा पुग्यो।
५ ओभरमा जित को लागि ४६ रन आवस्यक हुँदा पाँचौ नम्बरमा ब्याटिंग गर्न आएका भारतीय खेलाडी सुब्रमन्यन आनन्द र अमर रौटेलाले पाँचौ विकेटको लागि ४९ रनको साझेदारी गर्दै टिमलाई विजयी बनाए।
रोहन मुस्तफा ढिला आउने भए पछि उनको स्थानमा काठमाडौँमा आबद्ध भएका सुब्रमन्यन आनन्दले विस्फोटक इनिंग खेल्ने क्रममा मात्र १८ बलमा ४ छक्का र १ चौका प्रहार गर्दै अविजित ४३ रन बनाए। यस्तै रौटेलाले अविजित २१ रन बनाउन १२ बलमा ३ चौका प्रहार गरे।
चितवन टाइगर्सका बलर शाहब आलमले २ तथा ललित भण्डारी र पल स्टरलिङ्गले १।१ विकेट लिए। ललित भण्डारीले ३।.५ ओभरमा ४२ रन खर्चिए।
चितवनको इनिड.
टस हारेर पहिले ब्याटिंग गरेको चितवन टाइगर्सले काठमाडौँ किंग्स-११ लाई १६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
चितवन टाइगर्सलाई आयरल्याण्ड राष्ट्रिय क्रिकेटर समेत रहेका पल स्टरलिङ्ग र सन्दीपले उत्कृष्ट साझेदारी गरेका थिए । १३ बलमा ३ छक्का र ३ चौकासहित ३४ रन बनाएका स्टरलिङ्ग ४।१ ओभरमा प्रदिप साहुको बलमा आउट हुनु अघि टाइगर्सले ५३ रन बनाईसकेको थियो। स्टरलिङ्गको विकेट पछि भने सुस्ताएको टाइगर्सले त्यसपछि सन्दीपलाई पनि २५ रनमा गुमाउन पुग्यो । उनलाई सागर पुनले क्याच आउट गराए।
दुवै ओपनर आउट भएपछि लगत्तै जोन सिम्प्सनलाई खाता नखोल्दै लेग स्पिनर साहुले कट एण्ड बोल्ड गरे। तेश्रो विकेट गुमेपछि दिपेन्द्र ऐरी र जर्ज स्कटले चौथो विकेटको लागि ४० रनको साझेदारी गरे। १५ रन बनाएका स्कट १३ औं ओभरको पहिलो बलमा केभिन ब्रायनको बलमा बोल्ड भए।
त्यस पछि लगातार विकेट गुमाएको चितवनको लागि दिपेन्द्र ऐरि प्रदिप साहुको बलमा ४५ रन बनाएर आउट भए। कप्तान पृथु बास्कोटा २० रन बनाएर अविजित रहे जसले २० बलमा २ चौका हिर्काए।
भिम शार्की ७, कमल ऐरि १, ललित भण्डारी १, र सागर ढकालले १ ।१ रन जोडे
काठमाडौँको लागि आइपीएल खेलीसकेका खेलाडी प्रदिप साहु र सम्शाद शेखले समान ३।३ विकेट लिए। साहुले ४ ओभरमा २४ रन खर्चिए भने शेखले २.५ ओभरमा १८ रन खर्चिए। यस्तै सागर पुन, केभिन ओ ब्रायन र अमर सिंह राउटेलाले समान १ विकेट हात पारे।




















