Prakash Adhikari December 11, 2018

 

कीर्तिपुर(काठमाडौं), २४ मंसिर । एभरेस्ट प्रिमियर लिग( इपिएल) टि २० अन्तर्गत सोमबार भएको खेलमा ललितपुर प्याट्रिएट्सले पोखरा राइनोजलाई ८ विकेटले पराजित गरि लगातार दोस्रो जित दर्ता गरेको छ।ललितपुरले यस अघि दोस्रो खेलमा चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको थियो । पहिलो उद्घाटन खेलमा भने ललितपुर विराटनगर वारियर्ससंग ३ विकेटले पराजित भएको थियो ।

इपीएलमा पहिलो खेलमा भैरहवासंग ४ विकेटले पराजित भएको पोखराको यो लगातार दोश्रो हार हो ।

खेलमा टस जितेर ब्याटिंग गरेको पोखराले १६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो जसलाई प्याट्रिएट्सले १५.५ ओभरमा २ विकेट मात्रै गुमाएर पुरा गर्यो।

ललितपुर प्याट्रीएट्सको सुरुवात शानदार रह्यो । ओपनर गौरभ तोमर र जयकिशन कोल्सावालाले आक्रामक इनिंग खेलेर पहिलो ६ ओभरमै ६५ रन बनाए।

१३ औं ओभरको तेश्रो बलमा सुशन भारिले कोल्सावालालाई शक्ति गौचनको हातमा क्याच दिनु अघि दुवै ओपनरले पहिलो विकेटको लागि १सय २९ रन जोडी सकेका थिए। कोल्सावालाले ३८ बलमा ४ चौका र ३ छक्का सहित ५१ रन बनाए ।

१४ औं ओभरको अन्तिम बलमा तमोर शक्ति गौचनबाटै क्याच आउट भए । तोमरले ४१ बलमा ८ छक्का र ४ चौकासहित ८२ रन बनाए ।

२ विकेट गुमाएपछि ब्याटिंग गर्न आएका सन्नी पटेलले शक्ति गौचनले गरेको १६ औं ओभरमा २ छक्का र १ चौका प्रहार गर्दै टिमलाई जित दिलाएका थिए। पटेलले ८ बलमा १ चौका र २ छक्काको मद्दतले अविजित २० रन बनाए भने सोनु तामांग ११ रनमा अविजित रहे। प्याट्रिएट्सले १५.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

पोखराकोबलिङ्गमा सुशन भारी र पल कग्लिनले १।१ विकेट लिए। ओपनिङ्ग बलिङ्ग गरेका बिपिन खत्री , बिक्रम सोब र सुनिल धमला महँगो सावित भए।

टस जितेर ब्याटिंग रोजेको पोखरा राइनोजले विस्फोटक सुरुवात गर्यो। ओपनर रिचर्ड लेभी र कायल कोट्जरले पहिलो विकेटको १० ओभरमा ९७ रन बनाए।

दशौँ ओभरको अन्तिम बलमा पवन सर्राफले लेभीलाई क्याच आउट गर्दै प्याट्रिएट्सलाई राहत दिलाएका थिए। आउट हुनु अघि लेभीले मात्र ३९ बलमा ९ छक्का र ३ चौका मद्दतले ८४ रन जोडे ।

अघिल्लो खेलमा पनि आक्रामक इनिंग खेल्दै लेभीले भैरहवा ग्ल्याडीएटर्स बिरुद्ध ७९ रनको विस्फोटक इनिंग खेलेका थिए जुन क्रममा ७ छक्का र ७ वटै चौका प्रहार गरेका थिए। लेभीको विशाल स्कोर बनाएपनि पोखरालाई भैरहवाले ४ विकेटले पराजित गरेको थियो।

३१ बर्षिय लेभीले इनिंगको पाँचौ ओभरमा सन्नी पटेललाई २ छक्का तथा नवौं ओभरमा राशिद खानलाई पनि २ छक्का हिर्काएका थिए। दशौ ओभरमा पवन सर्राफलाई २ छक्का र १ चौका हिर्काएपछि सर्राफलाई विकेट दिंदै उनि आउट भए।

लेभीको विकेट जाँदा १० ओभरमा ९७.१ रहेको पोखराको स्कोर त्यसपछि भने सुस्त भएको थियो। अर्का ओपनर कायल कोट्जर १९, सुनिल धमला १० तथा पल कग्लिन १४ रन बनाएर आउट भए ।

अन्तिममा बिनोद भण्डारीले २३ बलमा ३४ रन बनाउदा राइनोजले योगफल १५० पार गरायो। उनले ३ चौका र १ छक्का प्रहार गरे।

राइनोजले २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाउदै इनिंग समाप्त गर्यो।

ललितपुरको बलिङ्गमा पवन सर्राफले ३ विकेट लिए भने अन्य बलरहरु विकेट विहिन रहे। सर्राफले ४ ओभरमा ३१ रन खर्चिए।

Share Now

Leave a comment.