कीर्तिपुर(काठमाडौं), २६ मंसिर । शरद भेसवाकर कप्तानीको भैरहवा ग्ल्याडिएटर्सले पारस खड्का कप्तानीको बिराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्दै इपिएल टि-२० मा लगातार तेश्रो जित दर्ता गरेको छ ।
लिगमा यस अघि पोखरा राइनोज र चितवन टाइगर्सलाई पराजित गरिसकेको भैरहवा ३ जित सहित ६ अंक बटुल्न सफल भएको छ ।
खेलमा टस हारेर ब्याटिंग गरेको बिराटनगर वारियर्सले ९१ रन मात्रै बनाउन सकेको थियो। ९२ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले १९.४ ओभरमा निर्धारित लक्ष्य पूरा गर्यो।
९२ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाको सुरुआत पनि राम्रो रहेन । १८ ओभरको समाप्तिसम्म भैरहवाको स्कोर ८३.६ थियो र जित सहज देखिएको थियो र जितको लागि २ ओभरमा ९ रन मात्रै बाँकी थियो। तर देब्रे हाते स्पिनर रोबिन क्षेत्रीले गरेको १९ औं ओभरको पहिलो बलमा भेसावकर ठुलो सट खेल्ने चक्कारमा बोल्ड हुँदा भैरहवा दबाबमा आएको थियो। रोबिनको उक्त ओभरमा ३ रन मात्रै बन्यो जसकारण अन्तिम ओभरमा जितको लागि ६ रन चाहियो ।
अन्तिम ओभरमा बलिङ्ग गर्न पारस खड्का आफै आए। ओभरको पहिलो बलमा मोहम्मद नबिदले १ रन मात्रै लिन सके। ओभरको दोश्रो र तेश्रो बलमा रोहित पौडेलले २र२ रन लिए र स्कोर बराबर गराए। १ रन बाँकी रहेको अवस्थामा रोहितले उक्त रन लिंदै अन्ततः भैरहवालाई विजयी बनाए ।
भैरहवाको ब्याटिंगमा ओपनर प्रदिप ऐरि र कुशल मल्लले क्रमशस् १० र ७ रन बनाए। त्यसपछि रभी इन्दरसिंहले १२ रनमै विकेट गुमौदा ८.५ ओभरमा ४३।३ पुगेको योगफललाई शरद भेसावकर र रायन टेन डेस्काटेले चौथो विकेटको लागि ३३ रनको साझेदारी गर्दै उकासे। डेस्काटे २० रन बनाएर आउट भए लगत्तै आरिफ शेख १ रन बनाएर आउट हुन पुगे। शरद भेसावकर पनि १६ रनमा आउट हुँदा टिम समस्यामा परेको थियो।
रोहित पौडेलले अविजित ७ तथा मोहम्मद नबिदले अविजित ३ रन बनाउदै टिमलाई जितसम्म पुर्याए।
बिराटनगरको लागि उत्कृस्ट बलिंग गर्ने क्रममा रोल्फ भान डर मर्वेले २ विकेट लिए । यस्तै करन केसी , भान मिकिरन , बसन्त रेग्मी र रोबिन क्षेत्रीले एक एक विकेट लिए।
खेलको प्लेयर अफ द म्याच पहिलो इनिंगमा ४ विकेट लिएका मोहम्मद नबिद घोषित भए।
बिराटनगरको कमजोर ब्याटिंग
त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा टस जितेर भैरहवाले पहिले बलिङ्ग गर्ने निर्णय गरेपछि बिराटनगरको व्याटिड.को सुरुआत राम्रो रहन सकेन ।
ओपनिङ्ग ब्याटिंग गर्न आएका कप्तान पारस खड्का दोश्रो ओभरमा कृष्ण कार्कीको बलमा शरद भेसावकरबाट क्याच आउट भए भने लगत्तै ओभरमा अर्का ओपनर अनिल साहलाई मोहम्मद नाबेदले क्याच आउट गराए। त्यसै ओभरमा नाबेदले आसिफ शेखलाई पनि विकेटकिपरको हातमा क्याच आउट गराउदा वारियर्सको स्कोर ६ रनमा ३ विकेट गयो । पुग्यो। पारस १ रन, अनिल ४ रन तथा आसिफ खाता नखोली आउट भए।
त्यस लिगमा पहिलो खेल खेलिरहेका हंगकंग राष्ट्रिय क्रिकेटर बाबर हायातले पनि बिराटनगरलाई ठूलो योगदान दिन सकेनन्। ६ रन बनाएका हायातलाइ कृष्ण कार्कीले छैठौं ओभरमा क्याच आउट गराए।
१५ रन बनाएका सुमित महर्जन रायन टेन डेस्काटेको बलमा क्याच आउट भए भने रोल्फ भान डर मर्वे पनि २५ रनको व्यक्तिगत स्कोरमा अविनाश बोहराको बलमा विकेटकिपरको हातबाट क्याच समातिन पुगे।
६४ रनमा ६ विकेट गुमाएको बिराटनगरको लागि अन्तिम आशा बनेका करन केसीले १८ रनको इनिंग खेल्दै टिमलाई अघि बढाउने प्रयास गरे। तर शरद भेसवाकरले उनलाई १४ औं ओभरमा आउट गरे ।
करनको विकेट पछि तल्लो क्रममा ब्याटिंग गरेका हरि चौहानले अविजित १३ रन बनाए पनि बसन्त रेग्मी ५ , भन मिकिरन २ रनको योगदान दिए भने रोबिन क्षेत्री खातै खोल्न सकेनन्।
फलस्वरूप बिराटनगरले १८.४ ओभरमा ९१ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।
उत्कृस्ट बलिङ्ग गरेका भैरहवा बलर मोहम्मद नबिदले ४ ओभरमा मात्र १४ रन खर्चेर ४ विकेट लिए भने कृष्ण कार्की र अविनाश बोहराले २। २ विकेट लिए। कार्कीले ४ ओभरमा १९ रन तथा बोहराले ३।४ ओभरमा १८ रन खर्चिए। यस्तै रायन टेन डेस्काटेले १ विकेट लिए।


















