Prakash Adhikari December 12, 2018

कीर्तिपुर(काठमाडौं), २६ मंसिर । एभरेस्ट प्रिमियर लिगको बुधबार सम्पन्न दोस्रो खेलमा भारतीय खेलाडी गौरभ तोमर चम्किदा ललितपुर प्याट्रिएट्सले काठमाडौँ किंग्स ११ लाई १० विकेटले पराजित गरी लिगको अंक तालिकामा शिर्ष स्थानमा आसन जमाउन सकेको छ।

हालसम्म खेलिएका ४ खेलमा ३ जित र १ हार ब्यहोरेको ललितपुरको ६ अंक भएको छ भने ३ खेलमा ३ जित निकाले पनि नेट रनरेटमा पछि परेको भैरहवा दोश्रो स्थानमा रहेको छ। २ खेल मध्ये १ मा जित र १ मा हार बेहोरेको काठमाडौँ अंकतालिकाको चौथो स्थानमा यथावत रहेको छ।

टस जितेर ब्याटिंग गर्दै काठमाडौँले १०९ रन मात्रै बनाए पछि ११० रनको लक्ष्य ललितपुरले १०.३ ओभरमै पूरा गरेको हो।

ललितपुरको जितमा गौरभ तोमर र जयकिशन कोल्सावालाले शतकीय साझेदारी गर्ने क्रममा ११५ रन बनाएका थिए। गौरभ तोमरले मात्र ३५ बलमा ५ छक्का र ९ चौका प्रहार गर्दै अविजित ८० रन बनाए भने कोल्सावालाले २७ रन बनाउन २८ बलमा ४ चौका प्रहार गरे।

तोमर र कोल्सावालाले यस अघि पनि पोखरा राइनोज बिरुद्ध जित हाँसिल गर्ने क्रममा शतकीय साझेदारी गरेका थिए। त्यस क्रममा दुवैले १२९ रन जोडेपछि पोखराले दिएको १६७ रनको लक्ष्य सहजै पछ्याएको थियो।

जयकिशन कोल्सावालासंग ओपनिङ्ग गर्न आएका गौरभ तोमारले विस्फोटक ब्याटिंगको सुरुवात गर्ने क्रममा तेश्रो ओभरमा जितेन्द्र मुखियालाई २ चौका प्रहार गरे। लगत्तै ओभरमा लेग स्पिनर प्रदिप साहुको बलमा ३ चौका लिएका दायाँ हाते तोमारले छैठौं ओभरमा चन्द्र कान्त पौडेलको बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । सोमपाल कामी नखेलेको खेलमा मौका पाएको चन्द्र कान्तले मात्र २५ बलमा शतक प्रहार गर्ने क्रममा उनले ९ चौका र १ छक्का प्रहार गरिसकेका थिए।

तोमर त्यतिमै रोकिएनन् । इनिंगको नवौं ओभरमा संसाद शेखलाई उनले लगातार २ छक्का प्रहार गरे भने त्यसपछि ११ औं ओभरमा चन्द्रकान्त पौडेललाई पनि लगातार २ छक्का प्रहार गर्दै बिजयी रन प्रहार गरे। अविजित ८० रन बनाउन ३५ बलमा तोमरले ५ छक्का र ९ चौका प्रहार गरे। तोमरनै खेलको प्लेयर अफ द म्याच चुनिए।

लिगमा यस अघि पनि तोमरले पोखरा राइनोज बिरुद्ध ८२ रनको इनिंग खेलेका थिए जुन क्रममा ८ छक्का र ४ चौका प्रहार गर्न मात्र ४१ बल लगाएका थिए।

पवनको उत्कृस्ट बलिङ्ग

इपीएलको बुधबारको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको सोमपाल कामी कप्तानीको काठमाडौँ किंग्स ११ ले १९.५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्रै बनाउन सकेको थियो।

काठमाडौँको सुरुआत निकै खराब भयो। ओपनर सागर पुन खाता नखोली पहिलो ओभरमै राशिद खानको बलमा क्याच आउट भए भने त्यस लगत्तैको ओभर मा तेश्रो नम्बरमा आएका नरेश बुढायर रनबिना आउट भए। अर्का ओपनर अमित श्रेष्ठ पनि सन्नी पटेलको बलमा चौथो ओभरमा ६ रन बनाएर एलबिडब्लुबाट आउट भए।

त्यसपछि चौथो विकेटको लागि आयरल्याण्ड राष्ट्रिय क्रिकेटर समेत रहेका केभिन ओ ब्रायन र राजु रिजालले २९ रनको साझेदारी गरे पनि राजु ८ रन बनाएर सातौँ ओभरमा योगेन्द्र कार्कीको बलमा विकेटकिपरबाट समातिन पुगे। त्यसपछि ब्याटिंग गर्न आएका भारतीय खेलाडी सुब्रमन्यन आनन्दले पनि ९ रन भन्दा बढी बनाउन सकेनन् र पवन सर्राफको बलमा क्याच आउट भए।

पवन सर्राफले लगातार विकेट लिने क्रममा आक्रामक ब्याटिंग गरिरहेका केभिन ओ ब्रायनलाई क्याच आउट गराए। ४२ रन बनाएका ब्रायनले ३३ बलमा २ छक्का र ३ चौका प्रहार गरे। सर्राफ त्यतिमै रोकिएनन् र प्रदिप शाहुलाई खाता नखोल्दै पेभेलियनको दिशा देखाए।

१८ ओभरमा ९०। ८ को स्थितिमा पुगेको काठमाडौँलाई अन्तिममा सिद्धान्त लोहनीले केहि आक्रामक सट खेल्दै योगफल १०० पार गराए। १ छक्का र १ चौका प्रहार गरेका लोहनी १९ औं ओभरसहित २५ बलमा २१ रन बनाएर योगेन्द्र सिंह कार्कीको बलमा आउट भए।

अन्तिममा संसाद शेखले १०, जितेन्द्र मुखिया ४ बनाएर आउट भए भने चन्द्रकान्त पौडेल २ रन बनाएर अविजित रहे।
काठमाडौँले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०९ रन बत्रै बनाउन सक्यो।

ललितपुरको बलिङ्गमा पवन सर्राफले ४ ओभरमा ३ विकेट लिए भने योगेन्द्र सिंह कार्की र राशिद खानले २ ।२ विकेट लिए। लेग स्पिनर सन्नी पटेलले १ विकेट लिए ।

Share Now

Leave a comment.