कीतिपुर(काठमाडौं), १ पुस । नेपाली क्रिकेट टोलीको एउटा बलियो खम्बाका रूपमा परिचित शक्ति गौचनले दुई दशकपछि सबै खाले क्रिकेटबाट सन्यास लिए।
शनिवार कीर्तिपुर मैदानमा खेलाडी जीवनको अन्तिम घरेलु क्रिकेट खेलेर बिदाइ लिँदा उनी निकै भावुक देखिए।
तपाईँ किन यति धेरै भावुक हुनुभएको?
कीर्तिपुरको क्रिकेट मैदानमा भक्कानिएर आँसु झारेका उनले थोरै हाँस्दै भने, “यति वर्ष खेलेँ भन्ने भएर होला शायद। खेलिरहेको ठाउँ छोड्दा एकदमै दुःख लाग्नेरहेछ।,”
राष्ट्रिय जर्सी लगाएर अन्तिम खेल खेल्ने आफ्नो धोको रहेको उनले बताउँदै आएका थिए।
त्यो पूरा हुन नसकेको कारणले पनि उनी अलि बढी भावुक बनेका हुन् की भन्ने धेरैको अनुमान थियो।
तर उनले त्यसलाई अस्वीकार गरे।
“सोचाइ चाहिँ थियो, राष्ट्रिय टोलीबाट नै राम्रो गरेर अन्तिम खेल खेलौँ भन्ने। तर अहिलेको अवस्था हेर्दा १/२ वर्ष कति लाग्छ भन्ने नै ग्यारेन्टी छैन। अरू खेलाडीको पनि त्यो इच्छा हुनसक्छ अनि मैले पाउने अरूले नपाउने गर्दा त्यो राम्रो हुन्न।”
खेलाडीका रूपमा आफ्नो पहिलो इनिङ सकिए पनि क्रिकेट क्षेत्रमा धेरै गर्न बाँकी रहेको उनले बताए।
तर खेलाडीका हैसियतमा मैदान छोड्दा भने आफूलाई निकै पीडा भएको उनले बीबीसीलाई बताए।
“खेल्नेबेलाका धेरै क्षणहरू मिस हुन्छन्, हामीहरू वर्ल्ड कप क्वालिफाइ हुनेबेलाको क्षण, एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट ओडिआइको मान्यता पाउँदा र वर्ल्ड कपको बेला राष्ट्रिय गान गाउँदा पनि निकै रमाइलो गरेका थियौँ।”
गौचनले इटलीविरुद्ध शतक प्रहार गरेका थिए भने डेनमार्कविरुद्ध ह्याट्रिक विकेट लिएका थिए।
उनी आफ्नो पेशालाई खेलाडीका रूपमा कसरी सम्झन चाहन्छन्?
जवाफमा उनले भने, “नेपाली क्रिकेट टिम र नेपाललाई क्रिकेटमार्फत माथि लैजानका लागि मैले सधैँ चाहेको छु। त्यसै अनुसार सन् २००१ देखि अन्डर सेभेन्टिनबाट खेल्दादेखि नै त्यो गर्दै आएको छु।”
प्रशंसा
दुई दशकको यात्रापछि उनले खेलाडीका रूपमा सन्यास लिएको प्रति थुप्रै खेलाडी र अन्य क्षेत्रका मानिसले उनलाई बधाइ दिँदै उनको प्रशंसा गरेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालले लेखेका छन्, “नेपाली क्रिकेटलाई आजको दिनसम्म ल्याउन तपाईँले पुर्याउनुभएको योगदान र अमूल्य समर्थनका लागि धन्यवाद शक्ति गौचन दाइ।”
Thank you Shakti Gauchan dai for your invaluable support and contribution towards helping Nepal Cricket reach where it is today ..!!!
You are a Champion ..!!!! pic.twitter.com/hvKc5AAc6p— Paras Khadka (@paras77) December 15, 2018
त्यस्तै अन्तर्राष्ट्रिय ख्याति कमाएका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले लेखेका छन्, “तपाईँको गज्जबको करियरका लागि तपाईँलाई बधाई र ती सबै सुन्दर क्षणहरूका लागि धन्यवाद। नेपालका लागि तपाईँको निकट भएर खेल्नु गज्जब अनुभव थियो। तपाईँ मैदानभित्र वा बाहिर साँच्चै नै एउटा प्रेरणा हुनुहुन्छ।”
Congratulation Shakti Dai on such a fantastic career & thank you for all those beautiful memories. It was great to play alongside with you for Nepal. You are true inspiration on and off the field. Wishing you great life ahead.#Unbeaten #Shakti_The_Power #ThankYouShakti Dada !! pic.twitter.com/udnN6HVZ5J
— Sandeep Lamichhane (@Sandeep25) December 15, 2018
कांग्रेस नेता गगन थापाले लेखेका छन्, “१८ वर्षभन्दा बढी समय निःस्वार्थ भएर दिएको तपाईँको योगदानप्रति नेपाली क्रिकेट सधैँ ऋणी रहनेछ। तपाईँले ल्याउनुभएको खुशी र गर्वका लागि म एउटा नागरिकको हैसियतमा तपाईँलाई धन्यवाद दिन चाहन्छु।”
Nepal cricket will be forever indebted to your selfless contributions for over 18 years Shakti. I thank you as a citizen of this country for all the pride and happiness you have brought for us. Happy retirement Shakti Gauchan!!
— Gagan Thapa (@thapagk) December 16, 2018
त्यस्तै पत्रकार विजयकुमार पाण्डेले आफ्नो ट्वीटमा लेखेका छन्, “प्रिय शक्ति गौचन! क्रिकेट मैदानबाट तपाईँले सन्यास लिनुभएको सुनेर मन भावुक भएको छ। नेपाली क्रिकेटलाई यहाँसम्म ल्याउन तपाईँले गर्नु भएको योगदानलाइ सादर सलाम! जीवन आफैँ पनि एउटा खेल हो, त्यो कसरी खेल्नुपर्छ भनेर हामी तपाईँबाट सिक्न सक्छौँ।”
प्रिय शक्ति गौचन!
क्रिकेट मैदानबाट तपाइले सन्यास लिनु भएको सुनेर मन भावुक भएको छ। नेपाली क्रिकेटलाइ यहा सम्म ल्याउन तपाइले गर्नु भएको योगदान लाइ सादर सलाम !जीवन आफै पनि एउटा खेल हो , त्यो कसरी खेल्नु पर्छ भनेर हामी तपाइबाट सिक्न सक्छौ – You played your role so well 🙏
— Vijay Kumar Panday (@Vijaykumarko) December 16, 2018
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रहिसकेका युवराज लामाले लेखेका छन्, “तपाईँले जीवनको उत्कृष्ट समय नेपालको क्रिकेटका लागि दिनुभयो। तपाईँले नेपाल र नेपालीलाई गौरवान्वित बनाउनुभएको छ। अब तपाईँले आफ्नो दोस्रो इनिङ प्रशिक्षक वा मेन्टरका रूपमा शुरू गर्नुपर्छ।”
तर गौचन आफैँले चाहिँ आफ्नो दोस्रो इनिङमा प्रशिक्षकका रूपमा अहिले तत्कालका लागि नआउने बताएका छन्।
पहिला संरचना परिवर्तन गर्न आवश्यक रहेको भन्दै उनले अब आफ्नो ध्यान त्यतातिर लगाउने पनि बताए।
बीबीसी


















