कीर्तिपुर(काठमाडौं),२ पुस । नेपाली राष्टिय क्रिकेट टीमको कप्तान पारस खड्काले नेतृत्व गरेको विराटनगर वारियर्स एभरेष्ट प्रिेिमयर लिगको दोस्रो चरण पुग्न असमर्थ भएको छ । सोमबार भएको खेलमा काठमाण्डौ किंग्स ११संग लाई ५ विकेटले पराजित भएपछि लिग चरणबाटै विराटनगर बाहिरिएको हो । अन्तिम खेलमा काठमाण्डौलाई जित दिलाउन केभिन ओ ब्रायनले अलराउण्ड प्रदर्शन गरे।
यो जितसंगै काठमाण्डौ अंकतालिकाको शीर्ष दुईमा रहँदै क्वालिफायर प्रवेश गरेको छ । ५ खेलमा ४ जित सहित ८ अंक बटुलेको काठमाण्डौले पहिलो क्वालिफायरमा ललितपुर प्याट्रीयट्सको सामना गर्नेछ। ललितपु यस अगाडि नै अंकतालिकाको शीर्षमा रहँदै दोस्रो चरण प्रवेश गरिसकेको छ।
आजको खेलमा पराजित बिराटनगर र चितवन टाइगर्सको समान अंक रहेपनि रन रेटका कारण चितवन दोस्रो चरण पुग्ने चौथो टोली बनेको छ। उसले तेस्रो स्थानमा रहेको भैरहवा ग्लाडीएटर्ससंग एलिमिनेटर खेल खेल्नेछ।
सोमबार सम्पन्न लिग चरणको अन्तिम खेलमा टस हारेर ब्याटिंग गर्दै बिराटनगरले दिएको १०१ रनको लक्ष्य काठमाण्डौले १७.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। टोलीको जितमा आयरल्याण्डका स्टार केभिन ओ ब्रायनले अलराउण्ड प्रदर्शन गरे।
खेलमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको बिराटनगर वारियर्सले १७.५ ओभर ब्याटिंग गर्दै १० विकेट गुमाएर १००रनको योगफल तयार गरेको थियो।
बिराटनगरका लागि सुमित महर्जनले २५, कप्तान पारस खड्काले २१ तथा हरिबहादुर चौहानले २२ रन जोडे ।
काठमाण्डौका केभिन ओ ब्रायनले सर्वाधिक ३ विकेट लिए भने प्रदिप साहु, रोहन मुस्तफा र बिक्रम भूसालले समान २ ।२ विकेट लिए ।
जवाफी ब्याटिंगमा उत्रिएको काठमाण्डौले ४८ रनमा पहिलो ५ विकेट गुमाएको थियो तर केभिन ओ ब्रायन र प्रदिप साहुले अविजित ५८ रनको साझेदारी गर्दै टोलीको जित सुनिश्चित गरे।
टोलीलाई जित दिलाउन खेलमा प्लेयर अफ दि म्याच समेत चुनिएका केभिन ओ ब्रायनले अविजित ४५ रनको इनिंग खेले। ४३ बलको सामना गरेका केभिनले २ चौका र ३ छक्का प्रहार गरे। यस्तै अर्का बिदेशी खेलाडी प्रदिप साहु २३ बलमा २१ रन जोडेर अविजित रहे।
बिराटनगरको बलिंगतर्फ पारस खड्का र भेन डर मर्वेले समान २। २ विकेट लिएपनि त्यो टोलीको जितका लागि पर्याप्त हुन सकेन। विराटनगरका रोबिन क्षेत्रीले१ विकेट लिए।


















