Prakash Adhikari December 18, 2018

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), ३ पुस (बीबीसी) ।सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा प्रभाव पार्न रुसले सबै महत्त्वपूर्ण सामाजिक सञ्चारमाध्यमको प्रयोग गरेको एउटा रिपोर्टले दाबी गरेको छ।

नयाँ अनुसन्धानले यूट्यूब, टम्ब्लर, इन्स्टाग्राम र पेपाल साथसाथै फेसबुक र ट्वीटर प्रचारप्रसार फैलाएर फाइदा लिनका लागि प्रयोग भएको जनाएको छ।

अमेरिकाको सिनेटले सोमवार सार्वजनिक गरेको प्रतिवेदनले रुसको गलत सूचनाको प्रयास कतिसम्म थियो भन्ने उदाङ्गो पारेको छ।

उक्त रिपोर्टका लेखकहरूले प्रविधिसम्बन्धी कम्पनीहरूले ढिला र असंगठित ढंगले जनाएको प्रतिक्रियाको आलोचना गरेका छन्।

विश्लेषण

उक्त रिपोर्ट अक्स्फर्ड विश्वविद्यालयको ‘कम्प्यूटेशनल प्रोपोगाण्डा प्रोजेक्ट’ र सामाजिक सञ्जालको विश्लेषण गर्ने कम्पनी ‘ग्राफिका’ले संयुक्त रुपमा तयार गरेको हो।

फेसबुक, ट्वीटर र गुगलले सिनेटको गुप्चतरसम्बन्धी समितिमा प्रदान गरेको लाखौं सामाजिक सञ्जालका पोष्टहरूको यो विश्लेषण पहिलोपटक गरिएको हो।

फेसबुक र ट्वीटरले यसअघि नै रुसी हस्तक्षेपबारे खुलासा गरे पनि अन्य सामाजिक सञ्जालसम्बन्धी साइटहरूको प्रयोगबारे भने कमैमात्रै थाहा हुन आएको थियो।

विभिन्न माध्यमहरूका लक्षित प्रयोगकर्तासम्म पुग्न रुसले डिजिटल बजारमा अपनाएको प्रविधिमा यूट्यूब, टम्ब्लर, पेपाल र गुगलप्लस सबै प्रभावित भएको उक्त रिपोर्टले जनाएको छ।

निरुत्साहित गर्ने प्रयास

उक्त अनुसन्धानले रुसको कम्पनी ईन्टरनेट रिसर्च ईन्स्टिट्यूट (आईआएए) ले नेतृत्व गरेको एउटा बृहद् प्रचारप्रसारबारे विस्तृतमा उल्लेख गरेको छ।

आईआरएलाई अमेरिकाको गुप्तचर समुदायले रुस सरकारसँग निकट रहेको इन्टरनेटमा अन्धाधुन्ध रुपमा कसैको पक्ष वा विपक्षमा सन्देशहरू फैलाउने कम्पनीको रुपमा व्याख्या गरेको छ।

उक्त रिपोर्टले चुनावी प्रक्रियाबारे गलत सूचना फैलाएर वाम झुकाव भएका अफ्रिकीअमेरिकी नागरिकहरूको मताधिकारको शक्तिलाई निरुत्साहित गर्ने प्रयास गरेको देखाएको छ।

सिनेटले सोमवार नै सार्वजनिक गरेको अर्को अनुसन्धान कम्पनी न्यू नलेजले पनि अफ्रिकी अमेरिकीहरूलाई प्रभाव पार्न रुसले गरेको प्रयासबारे उल्लेख गरेको छ।

Share Now

Leave a comment.