काठमाडौं,४ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा पार्टी नेतृत्व र सरकारको तीव्र आलोचना भएको छ ।
अध्यक्षद्धय के.पी. शर्मा ओली र पुष्पकमल दहाल प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आइतबारदेखि भएको छलफलमा छलफलमा सहभागी भएका अधिकांश नेताहरुले सरकारको कामकारबाही प्रभावहीन भएकोमा तीव्र आलोचना मात्र हैन आक्रोश नै व्यक्त गरेका छन् ।
पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको सोमबार, मंगलबारको बैठकमा झैं आज बुधबार पनि नेताहरुले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अधिकांश वक्ताहरुले आफ्नो धारणा राखेका हुन् ।
बैठकमा रघुजी पन्त, सुरेन्द्र पाण्डे,लेखराज भट्ट, वर्षमान पुन, देव गुरुङ, पुष्प कँडेल, भीम आचार्य,रघुवीर महासेठ लगायतका ८ जना नेताहरुले राजनीतिक प्रतिवेदनमा केन्द्रित रहेर छलफलमा भाग लिनुभएको थियो ।
बुधबारको बैठकमा स्थायी कमिटी सदस्य रघुजी पन्तले मन्त्रिपरिषद् पुनर्गठनको माग गर्नभयो । उहाँले प्रतिनिधिसभाको तीन चौथाई समर्थन प्राप्त सरकार जनअपेक्षा अनुरुप काम गर्न सक्षम नभएको आरोप लगाउदै प्रधानमन्त्रीले बोलेका र निर्णय गरेका कतिपय विषय पुनर्मूल्यांकन गर्नुपर्ने अवस्था आईसकेको बताउनुभयो ।उहाँले १० महिनासम्म काम गर्न नसक्ने मन्त्रीहरुलाई लायक मानेर काँधमा बोक्नुपर्ने औचित्य नभएको भन्दै असक्षम मन्त्रीहरुलाई हटाएर सक्षम व्यक्तिलाई मन्त्री बनाउन पनि आग्रह गर्नूभयो ।
‘कतिपय मन्त्रीहरु विवादित र असक्षम देखिएकाले उनीहरुलाई हटाएर मन्त्रिपरिषद पुनर्गठन गनुपर्छ,’ नेता पन्तले बैठकमा भन्नुभो, ‘यो प्रधानमन्त्रीको अधिकार हो, मन्त्रीहरुको कामकारबाहीको प्रधानमन्त्रीले नै मूल्यांकन गर्नुपर्छ,सहयोगी र सल्लाहकारलाई लगाउदा आग्रह र पूर्वाग्रह आउन सक्छ ।’ उहाँले प्रधानमन्त्री ओलीको राजकीय अधिकार केही सल्लाहकारहरुले अनधिकृत रुपमा दुरुपयोग गरेको तर्फ संकेत गर्नुभएको थियो ।
उहाँले प्रधानमन्त्रीले जानेर वा नजानेर गलत कार्यमा कदम बढाएको पनि खुलस्त गर्नुभयो । राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत तान्ने, ठूला ठेक्कापट्टा आफैं दिने जस्ता काम नगर्न उहाँले सचेत गराउनुभयो । उहाँले राष्ट्रिय अनुसन्धानलाई हटाएर गृह मन्त्रालयले कसरी शान्ति सुरक्षा कायम गर्न सक्छ भन्ने प्रश्न उठाउदै ‘प्रधानमन्त्रीले मन्त्रीहरुलाई सक्रिय बनाउने हो, उत्तरदायी बनाउने हो, सबैथोक आफूमा थुपारेर कार्यबोझ बढाउनु हुन्न जुन अहिले भइरहेको छ ’भन्ने विचार राख्नुभयो ।
नेता पन्तले प्रधानमन्त्रीको पार्टी प्रमुखको जिम्मेवारी खोस्ने प्रस्तावको विरोध गर्दै प्रधानमन्त्रीलाई कमजोर पार्ने काम गर्न नहुने बताउनुभयो । उहाँले ‘प्रधानमन्त्रीले खास गुटलाई च्यापेको अप्रत्यक्ष आरोप लगाउदै गुटबाट माथि उठ्न पनि सुझाव दिनभयो ।
। विचार, राजनीति, भावी कार्ययोजनालगायतका विषयमा केन्द्रित भएर आजको बैठकमा पनि नेताहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
स्थायी कमिटी सदस्य रघुजी पन्तले नेताहरुलाई दिइँदै आएको दोहोरो जिम्मेवारी हटाउन माग गर्नुभयो । ‘नेताहरुलाई दोहोरो जिम्मेवारी दिने काम बन्द गर्नुपर्छ । मुख्यमन्त्रीलाई प्रदेश प्रमुख पनि बनाइयो, त्यसलाई सच्याउनुपर्छ’ पन्तले सुझाउनुभयो ।
उहाँले एसिया प्यासिफिक स‘सम्मेलनमा सरकार र पार्टीको सहभागिताबारे जनतामा आत्मआलोचना गरेर अघि बढ्नु पर्ने बताउनुभयो । यस्तै उहाँले भारतसँग सम्बन्ध सुध्रिएको छ भनिनु पनि गलत भएको टिप्पणी गर्नुभयो ।
अर्का नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ‘युनिभर्सल पिस फेडेरेसन’को आयोजनामा नेपालमा आयोजना गरिएको ‘एशिया प्यासेफिक पीस समिट’ले कार्यकर्ताको आत्मसम्मानमा चोट पुर्याउदै नैतिक बल गिराएकोले सो सम्मेलनको आयोजनाको विषयमा पार्टीले माफी मागेर अगाडि जानुपर्ने बताउनुभयो।
‘पहिला पहिला हामी गाउँमा जाँदा कहाँ के गरेर आइस्, कसले छोएको खाइस्, भनेर सुनपानी छर्कने चलन थियो’, पाण्डेले बैठकमा भन्नुभयो, ‘मुनको विषयमा पनि भुलचुक माफी भनेर सुनपानी छर्केने बेला भएको छ।’ पाण्डेले इसाइ धर्मको कार्यक्रममा पूर्व प्रधानमन्त्री माधव नेपालको सहभागिताले आगामी चुनाव समेत प्रभावित हुने बताउनुभयो।
‘माधव नेपाल कमरेडलाई वर्षौ पहिलाको आमाको किरिया नगरेको दोष पनि अब त‘ ए, पहिला नै क्रिष्चियन भएकाले रहेछ भन्ने अवस्था आउँछ’, पाण्डेले भन्नुभयो, ‘गलत भयो भनेर खण्डन गरौं।’
पाण्डेले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा नेपालको भूराजनीतिलाई ख्याल नगरिएको भन्दै आलोचना गर्दै भन्नुभयो,, ‘हाम्रो विदेश सम्बन्ध ठिक भन्ने कुरा रखिएको छ तर ‘भारतले कि आफैंले बनाएको, कि नेपालले बनाएको बिजुली किन्छु भनेर कानुन बनाएको छ। अनि हामी बिजुली उत्पादन गर्ने भन्छौँ, नजिकैको ठूलो बजार भारतले किन्ने ग्यारेन्टी नभएपछि विदेशी लगानी कसरी आउँछ ?’
‘नेता पाण्डेले भन्नुभयो,राजनीतिक परिवर्तनका सिलसिलामा कतिपय अवस्थामा हामीले समर्थन खोज्यौँ। उतिबेला सहयोग पनि लिइयो । ‘अब नव निर्माणको क्षेत्रमा, राष्ट्र निर्माणको क्षेत्रमा उनीहरुको सरोकार के हुन्छ भन्ने ठीक ढंगले नठम्याए हामी अगाडि जान सक्दैनौँ। प्रतिवेदनमा त्यो खुट्याएको देखिएन। देश अहिले हल न चल भएको कारण त्यो हो।’
नेता पाण्डेले मुलुक दलाल राजनीतिका कारण समस्यामा परेको उल्लेख गर्दै पूँजिवादी क्रान्तिको विषय सहि नभएको बताउनुभयो।
‘फेरि पनि पूजिँवादी क्रान्ती भनेको क्लियर भएन’, पाण्डेले भन्नुभयो, ‘दलाल राजनीति भएको छ। कुन नेतालाई कहाँ, कसलाइे सर्वोच्चको न्यायाधीश बनाउनेदेखि कसलाई अख्तियार हाकिम, पुलिसको हाकिम बनाउने भनेर सेटिङमा काम भएको छ। हट सिटमा राजनीतिज्ञ छौं। अनि हामी दिगम्बर झाको नियुक्ती गरेर दलाल पूजिँवाद अन्त्यको कुरा गर्छौँ? के हो दलाल पूजिँवाद? हामी संलग्न छौँ कि छैनौ ? सालनाल जोडिएको छ कि छैन हेरौँ र अन्त्य भयो भएन हेरौँ।’
पाण्डेले बैठकमा राजनीतिक प्रतिवेदनमा उल्लेख कोर अफ लिडरसिप भन्ने विषयमा पनि असन्तुष्टी प्रकट गर्नुभयो ।
‘कोर अफ द लिडरसिप भनेको के ?’, पाण्डेले बैठकमा भन्नुभयो, ‘पार्टीमा केन्द्रीय कमिटीको मर्यादा तोक्न नसकेकाले अल्फाबेटिकल अर्डरमा राखिएको छ। अनि आफूले आफूलाई कोर अफ द लिडरसिप भनेर घोषणा गर्ने ?’
नेता पाण्डले नेताहरुलाई कार्यकर्ताको विश्वास लिएर चुनावबाट आउन चुनौति दिंदै भन्नुभयो एउटा नियुक्तीमा समेत पक्षधरता राख्ने नेतृत्व कोर हुन्छ? कि त चुनाव लडेर आउनु पर्यो। यस विषयमा छलफल गरौं।’
नेता पाण्डेले पार्टी एकताको समस्या समाधानका लागि कार्यदल बनाउन माग गर्नुभयो।
स्थायी कमिटी सदस्य लेखराज भट्टले दूरसञ्चार प्राधिकरणमा दिगम्बर झालाई गरिएको नियुक्तिबारे प्रश्न उठाउनुभयो । झाको छवि भ्रष्ट भएको दाबी गर्दै उहाँले भन्नुभयो, किन र कुन आधारमा झालाई नियुक्ति गरिएको हो ?
‘म वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा झाले नियुक्तिका लागि घुसको प्रस्ताव गरेका थिए । त्यसैबेला झा ठीक छैनन् भन्ने बुझेर मैले मतलब नै गरिनँ, उनको प्रस्ताव ठाडै अस्वीकार गरे । यो कुरा त्यसवेला मैले अध्यक्ष प्रचण्डलाई पनि जानकारी गराएको थिएँ । तर त्यही व्यक्तिलाई योे सरकारले किन नियुक्ति दियो ? यसमा पुर्नविचार गरियोस्’ भट्टले भन्नुभयो ।
बैठकमा नेता भट्टले अध्यक्षद्धय प्रचण्ड र ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन नेतृत्वको उचाई अनुसारको नभएको भन्दै सच्याउनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘समाजवादतिर जाने बेलामा जनताको जनवादतिर किन फर्किएको ?’
‘नेता भट्टले मुलुकमा भ्रष्टाचार विकराल समस्याका रुपमा अगाडि आएको बताउदै यसको नियन्त्रणमा पार्टी र सरकारले बेलैमा गम्भिर बन्नुपर्ने बताउनुभयो ।
यस्तै ऊर्जामन्त्री समेत नेता वर्षमान पुनले सरकारले विस्तारै गति लिइरहेको दावी गर्नुभयो । उहाँले तीन तहका सरकार चलाउनुपर्ने र नयाँ संरचनाअनुसार अघि बढ्नुपर्ने भएकाले केही समस्या भएपनि सरकारले आफ्नो बाटो नविराएको दावी गर्नुभयो ।
अर्का सदस्य भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले सरकारले राम्रो काम गरेको भन्दै प्रधानमन्त्रीको बचाउ पनि गर्न भ्याउनुभयो भने ‘सरकारले भयङ्कर राम्रो काम गरेको बताउदै ‘भीम रावल र वामदेव गौतमले पेश गरेको प्रतिवेदनका राम्रा पक्षलाई पनि समेट्न नेतृत्वलाई अनुरोध गर्नुभयो ।’
अर्का स्थायी कमिटी सदस्य भीम आचार्यले पार्टीभित्र न्याय भएन भनेर कुरा उठिरहेकोले त्यसमा नेतृत्व गम्भीर बन्नु सुझाव दिनुभयो ।
‘ आफ्नै पार्टीभित्र त न्याय मिल्दैन भने अरु जनताले कसरी न्याय पाउन सक्छन ?’ नेता आचार्यले प्रश्न गर्नुभयो ।
बैठकमा अर्का सदस्य पुष्प कँडेलले प्रतिवेदनमा नमिलेका कुराहरु सुधार्दै अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।
गत शनिबार सुरु भएको पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्धय ओली र दाहालले तयार पारेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि सोमबारबाट छलफल सुरु भएको हो ।
राजनीतिक प्रतिवेदनमाथिको आलोचना गर्ने क्रम जारी रहेको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।
छलफलमा भाग लिँदै नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नसकेको तथा एकीकरणको कामलाई पूर्णता दिन ढिलाई गरेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन ।
बैठक बिहिबार बिहान पनि बस्नेछ । भोलिको बैठकमा पनि बाँकी नेताहरुले आ–आफ्नो धारणा राख्नु हुने जानकारी पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो


















