सानेपा(ललितपुर), ८ पुस । नेपाली कांग्रेस केन्द्रीयको महासमितिको बैठक आइतबार राती सम्पन्न भएको छ ।
मंसिर २९ गते उद्घाटन भएको कांग्रेसको महासमितिको बैठक निर्धारित समयभन्दा ५ दिन बढी चलेर आइतबार सम्पन्न भएको हो ।
कांग्रेस महासमितिले कार्यसमितिका तर्फबाट बैठकमा प्रस्तुत विधान संशोधन, राजनैतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, अर्थनीति सम्बन्धि प्रस्ताव र कोषाध्यक्षको प्रतिवेदनलाई महासमिति बैठकमा प्राप्त सुझावहरुलाई मध्यनजर राखी केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी सर्वसम्मत रुपमा पारित गरेको छ ।
महासमितिको बैठकमा विधान संशोधनको प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्का,राजनीतिक प्रस्ताव उपसभापति विमलेन्द्र निधी, सांगठानिक प्रस्ताव महामन्त्रीद्धय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, आर्थिक नीतिसम्बन्धी प्रस्ताव सहमहामन्त्री डा. प्रकाशशरण महत र कोषाध्यक्षको प्रस्ताव सितादेवी यादवले प्रस्तुत गर्नुभएको थियो ।
बैठकले देशको राजनीतिक अवस्था,आर्थिक,सामाजिक,विकास,शान्ति सुरक्षा र सरकारको काम कारबाहीका सम्बन्धमा १५ बूँदे समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।
ती प्रस्तावहरुमा नेपालको सार्वजनिक खरिदको इतिहासमा सबैभन्दा बढी झण्डै ६ अर्ब ५९ करोड रुपैया आर्थिक घोटाला भएको वाइड बडी काण्ड, ३३ किलो सुन काण्ड, चिनी काण्ड लगायतका चर्चित काण्डको छानवीन गरी दोषीलाई कानूनको कठघारामा उभ्याउन पनि अनुरोध गरिएको छ ।
कांग्रेस महासमितिले देशको शान्ति सुरक्षाको अवस्था भयावह हुँदै गएको दिनहुँ महिला अस्मिता लुटिएको र हत्याका श्रृखला बढदै गएको बताउदै त्यसमा सुधार गर्न र कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्यारालाई कारबाही गर्न पनि अनुरोध गरेको छ ।
कांग्रेसले ५० अर्बभन्दा बढी लागत लाग्ने आयोजनाहरु मन्त्रिपरिषद्ले सीधै ठेक्कामा दिन सक्ने व्यवस्था गर्न लागेकोमा सोको पनि विरोध गरेको छ ।
सरकार संसदको तीन चौथाई समर्थनको आधारमा अधिनायकवादतर्फ उन्मुख हुँदै गएको,राज्यका महत्वपूर्ण संस्थाहरु प्रधानमन्त्रीमातहत लगेर असंवैधानिक व्यक्तिहरुमार्फत शक्तिको दुरुपयोग गएिको, शान्ति सुरक्षाको स्थिति विग्रदै गएको, प्रेस तथा अभिब्यक्तिको स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजिएको, न्यायालयमाथि निरन्तर हस्तक्षेप भएको पनि आरोप लगाएको छ ।
महासमितिको बैठक समापन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अधिनायकवादतर्फ बढिरहेकोले सोलाई रोकेर लोकतान्त्रिक पद्धति र संस्थाहरुलाई बचाउन पार्टीले छिट्टै आन्दोलनको घोषणा गर्न लागेको बताउनुभयो ।
उहाँले पार्टीभित्रका विवाद थाती राखी आन्दोलनमा व्यापक सहभागित जुटाउन तयार रहन कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो ।
समापन समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अत्यन्त प्रजातान्त्रिक पद्धतिको विधान पारित गरेर महासमितिले ठूलो उपलब्धि गरेको बताउदै महासमितिपछि पार्टी एकता मजबूत भएको बताउनुभयो ।
कांग्रेसको महासमितिको बैठकले महासमितिको आयोजनामा महासमिति बैठक सफल बनाउन अहोरात्र खट्ने स्थानीय व्यवस्थापन समिति, अन्य उपसमिति तथा स्वयंसेवक,केन्द्रीय कार्यालयका कर्मचारीहरु सुरक्षाकर्मी तथा बैठकको सफलताको कामना गर्ने सबै शुभचिन्तकलाई यो धन्यवाद ज्ञापन गरेको छ । बैठकले महासमितिका समाचारहरु हरेक दिन आम नेपाली समक्ष पु¥याउन निरन्तर सूचना सम्प्रेषण गर्नु हुने सबै संचारकर्मीहरुमा विशेष धन्यवाद दिंदै प्राप्त सहयोगप्रति आभार प्रकट गरेको छ ।


















