होवर्ट(तस्मानिया), ९ पुस । अष्टेलियाको घरेलु क्रिकेट लिग बिग ब्यासमा आबद्ध नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेले आफ्नो टीमको दोस्रो खेलमा झन शानदार प्रदर्शन गरेका छन् । सोमबार तस्मानियाको होवर्ट रंगशालामा भएको खेलमा सन्दीपले ४ ओभरमा तीन विकट लिएर नेपालको शान अन्तराष्टिय क्षेत्रमा बढाएका छन् ।
नेपाली क्रिकेट स्टार सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजूद पनि उनको टीम मेलबर्न स्टारले भने लगातार दोस्रो हार ब्यहोरेको छ ।
आज भएको खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै मेलबर्न स्टार्सले दिएको १ सय ५६ रनको लक्ष्य होबर्ट हुरिकेन्सले ४ विकेट मात्रै गुमाएर पूरा गर्यो।
पहिले ब्याटिंग गर्ने मौका पाएको मेलबर्नका क्याप्टेन ग्लेन म्याक्सवेलले ४७ रन , निक लार्किनले ४५ ,एम टी स्टोनिस २२, डिजे ब्राभो १२, टीजे डिन ११, टीआर डन १९ र इपी गुलबसले १ रनको योगदान गरे ।
मेलबर्न स्टारका इनिड.मा हुरिकेन्सका जेसी आर्चरले ३ र डीजेएम शटले २ विकेट लिए ।
१ सय ५६ रनको लक्ष्य पाएको होवर्ट हुरिकेन्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा सो लक्ष्यपूरा गर्यो । हुरिकेन्सका कप्तान वेडले ५२, डियाक्री सर्टले ३४,बेन म्याकडर्मोटले २८ र जर्ज बेलीले अविजित २७ ,एस मेलिनकोले ६ र एजे दोलनले २ रन बनाए ।
चौथो ओभरमा पनि सन्दीपको जादू
बिग व्यासको दोस्रो खेलमा नेपाली क्रिकेट स्टार सन्दीपले बलिड.को जादू चौथो ओभरमा पनि देखाउने सफलता पाए ।
होवर्ट हुरिकेन्सबिरुद्धको खेलमा सन्दीपले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २४ रन खर्चिए ।
सातौं ओभरमा बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमै एलेक्स डोलनलाई ३ रनमा बोल्ड गरे । नवौं ओभरमा ७ रन खर्चेका उनले विकेट लिन सकेनन् ।
१४औं ओभरको दोस्रो बलमा सन्दीपले ५२ रन बनाएर खेलिरहेका हुरिकेन्सका कप्तान म्याथ्यू वेडलाई ५२ रनमा एडम जाम्पाको हातबाट क्याचआउट गराए । १६औं ओभरमा सन्दीपले म्याक–डर्मोटलाई २८ रनको स्कोरमा एलबीडब्ल्यू आउट गरे ।
सन्दिपले अघिल्लो खेलमा २ विकेट लिने क्रममा सिड्नी थन्डर्स बिरुद्ध शेन वाटसन र कलम फर्गुसनको विकेट लिएका थिए। पहिलो खेलमा पनि ४ ओभर खेल्ने मौका पाएका सन्दीपले बाँकी ३ ओभर बिकेट लिन नसक्दा ३६ रन जोड्ने मौका दिएका थिए।
मेलबर्न स्टार्सले लिग अन्तर्गत तेस्रो खेल डिसेम्बर २७ तारिक बिहिबार सिड्नी सिक्सर्ससंग खेल्नेछ। सिड्नी सिक्सर्सको नेतृत्व मोइसेस हेनरिकेसले गर्दैछन्।